कुनै दिन यसरी जोडिएका थिए प्रकाश दाहाल :प्रकाश दाहाललाई फाँसी दिनुपर्छ


  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, मंसिर १५, २०७४

    गायत्री शर्मा
    समाचारका लागि अनलाइनतिर आँखा डुलाउँदै थिएँ । एउटा अनलाइनले लेख्यो, ‘प्रचण्डपुत्र प्रकाश दाहाललाई प्रबल जनसेवाश्री पदक’, ‘पदककै गरियो उपहास ।’ त्यसको मिनेट नबित्दै गालीको खजनाका लागि गौंडो कुरेर बसेकाहरु डुक्रिए, ‘पदककै अपमान भयो, बहुबिवाह गरे मात्रै पदक पाइँदो रहेछ ।’ प्रकाशले पदक नलिने घोषणा गरिसकेका थिए । तर, भोलिपल्ट बिहानै महाकालीलाई कौडीको मोलमा मिल्काएका एक बरिष्ठ राजनेता बम्किए, ‘पदक पाउन कति वटी बिहे गर्नुपर्ने हो ?’ उनका चक्षुले ठान्यो, ‘प्रकाश दाहाललाई दिएको पदक महाकाली बेच्नुभन्दा बढ्ता नै राष्ट्रघाती छ ।’

    प्रचण्डपुत्र हुनुका नाताले मात्रै नभएर आफ्नै कर्मले पनि प्रकाश दाहाल गाली र तालीको भ्यू टावरमा छन् । कतिका लागि उनी देश र जनताको सेवाका लागि समर्पित एक योद्धा हुन् । अनि, कतिका दृष्टिमा रत्नाकर । मीडियामैत्री स्वाभाव र सामाजिक सञ्जालमा बढ्ता नै चासो राख्ने प्रकाशबारे बिरोधीहरुले लगाएका आरोप र गालीहरु हेर्दा लाग्छ, ‘हिटलर र सुहार्तोको शासन अझै सकिएको छैन ।’ एक नागरिकले प्रकृतिप्रदत्त अधिकार प्रयोग गर्ने अधिकारसमेत यो देशमा छैन । त्यसो भए प्रकाश दाहाललाई फाँसी दिए हुँदैन ? आउनुहोस्, यी अपराधका कारण प्रकाश दाहाललाई फाँसी दिउँ ।

    राष्ट्रिय रुपमा स्थापित नेताहरु गौंथलीको गुडको उपमामा आलिसान बङ्गला बनाउँदै थिए, नेताहरु आफ्नो सन्तानहरुको पुस्ता दरपुस्ताको चिन्तामा थिए । सकभर छोराछोरी राजनीतिमा नलागुन्, रेलिङ भाँच्ने, जिन्दावाद र मूर्दावादको नारा लगाउने ठेक्का गरीबकै छोराछोरीको थाप्लोमा परोस् भन्ने कामना गर्दै चारधाम धाउँदै थिए । तर, प्रचण्डले आफ्नो छोरालाई मुक्ति वा मृत्युको सपथ खुवाए । दश वर्षको जनयुद्धमा उनले परिवर्तनकै लागि आफ्नो जीवन र जवानी खर्चिए । नेताको छोरो भएर राजनीतिमा लाग्न मिल्छ ? त्यसमाथि प्रचण्डको छोरो भएर जनयुद्धमा ? त्यसैले प्रकाश दाहाललाई फाँसी दिनैपर्छ ।

    राष्ट्रिय नेताका छोराछोरीहरु सरकारी छात्रवृत्तिमा विदेशी कलेजहरुमा धाउँदै थिए । कतिले राष्ट्रको ढुकुटी यसरी नै सकेका थिए । आफूले राजनीति गर्नु महान तर सन्ततिले राजनीति गर्नु अपराधको स्कूलिङ परिवारमा हावी थियो । तर, प्रचण्ड र प्रकाशले औपचारिक शिक्षाभन्दा समाज रुपान्तरणको मुद्धा ठूलो ठाने । दुरदराजका जनतालाई जागृत पारे र रुपान्तरणको सङ्ग्राममा होमे । औपचारिक शिक्षा छोडे र सामाजिक जागरणको शिक्षा रोजे । नेताको छोरो भएर नेपालमै पढ्न पाइन्छ ? त्यो पनि छात्रवृत्तिमा विद्यावारिधिभन्दा कम्ति ? यो गम्भीर अपराध हो । त्यसैले प्रकाश दाहाललाई फाँसी दिनुपर्छ ।

    राप्रपाका नेताहरु त राजावादी नै थिए, यो उनीहरुको आदर्श थियो । कांग्रेस नेताहरु राजतन्त्रभित्रै भाइअंश खोज्दै थिए, यो पनि जानेमानेकै तथ्य थियो । तर, रोचक तथ्य यो थियो कि साम्यवादको सपना देख्ने बामपन्थी नेताहरु पनि राजालाई विष्णुका अवतार ठान्थे । गणतन्त्रलाई अपवित्र र दुर्वचनको पगरी भिराउँथे । विष्णुका अवतारको भजन किर्तन र पूजाआजाकै बलमा साम्यवादमा पुग्ने सपना देख्थे । प्रधानमन्त्रीका लागि दाम राखेर ढोग्दा पुग्थ्यो, बिन्तीपत्र लेख्ने एक पेज कागज भए हुन्थ्यो । तर, जनयुद्ध र गणतन्त्र भन्दै प्रचण्ड कुर्लिए, लाखौंले उनैलाई पछ्याए । दाम चढाएर र बिन्ती पत्र हालेर खाइने प्रधानमन्त्री पदका लागि एकाएक चुनाव लड्नुपर्ने भयो, बंशमा अंश खोज्न नपाइने भयो । यस्तो गणतन्त्रको अपराध गर्ने छुट प्रचण्ड र प्रकाशलाई कसले दियो ? त्यसैले हाम्रो प्रधानमन्त्रीको कुर्सीमा जाने बाटो सजिलो बनाउन पनि प्रकाशलाई फाँसी दिनैपर्छ ।

    नेता भनेको कस्तो हुनुपर्छ, थाहा छ तपाईहरुलाई ? अनि, नेताका सन्तान नि ? उनीहरु गमक्क परेका, कार्यकर्तालाई हेप्न सक्ने, नेताको चाकडी गर्न सक्ने, दलालहरुका लागि रातो कार्पेट बिछ्याउन सक्ने, अनि काम नगरी शानका साथ पार्टी र देश हल्लाउन सक्ने हुनुपर्छ । तर, प्रकाश ठीक उल्टा छन् । यिनको दैलोमा नेताको खास सम्मान छैन । बरु, कार्यकर्ता र शुभेच्छुक नै प्रिय छन् । ठेकेदार र दलालहरुलाई रातो कार्पेट बिछ्याउने अक्कल त यिनलाई आउँदै आएन । अनि, यस्तो पनि नेताको छोरो हुन सुहाउँछ ? त्यसैले प्रकाश दाहाललाई फाँसीको सजाय हुनैपर्छ ।
    धेरैले सोचेका थिए, ‘प्रचण्ड बालुवाटार छिरेपछि हाम्रा दिन फर्कनेछन्, वर्षाैंदेखि ठण्डाराम राजनीतिक व्यापारीहरुको पालो आउनेछ । नौं महिने कार्यकाललाई ‘लुटको धन, फूपुको श्राद्ध’ बनाउने मिसन पूर्णतः सफल हुनेछ । तर, त्यतिबेला तिनीहरु निद्राबाट ब्युझिए, जतिबेला प्रचण्डसँगै प्रकाश बालुवाटार छिरे । प्रकाशको रोजाईमा ठेक्कापट्टा पर्न सकेन । बरु, प्रचण्डलाई सफल बनाई छोड्ने संकल्प पर्यो । उनले त्यसकै लागि आफ्नो सम्पूर्ण बुद्धि र शक्ति खर्च गरे । यस्तो अपराध गर्ने अधिकार प्रकाशलाई कसले दियो ? बल्लबल्ल भेटिएको लुटको खेतीमा युरिया हाल्लान् भन्दा रसायन हाल्ने ? छोडिन्न यो प्रकाशलाई । त्यसैले प्रकाश दाहाललाई फाँसीको सजाय दिनैपर्छ ।
    विदेशमा बस्ने नेपालीहरुको बिचल्ली थियो । पैसाको बिटो हात पारेर परिवारको जिन्दगी सपार्ने सपना बोकेर खाडी धाउनेहरु बाकसमा बाँधिएर फर्कन्थे । अघिल्ला सरकार लासको कर लगाउँथे र कार्यकर्तालाई दशैं खर्च बाँड्थे । तर, प्रचण्डले त्यसो गरेनन् । उनले ठाने, ‘देशको राष्ट्रियता खाडीको तातो घामसँग साटिँदै छ । मनमा राष्ट्रियताको ज्वालो बोकेर ५० लाख युवा विदेशी भूमिमा रगत र पसिना बगाएका छन्, तिनीहरुका लागि केही न केही गर्नैपर्छ ।’ यो महत्वपूर्ण कामको जिम्मा तिनै प्रकाश दाहालले लिए । को–कहाँ अलपत्र पर्यो, कसको अवस्था के छ ? उनीहरुलाई कसरी उद्दार गर्न सकिन्छ ? आदित्यादी विषयमा प्रकाश दाहालले नै बढ्ता चासो राखे । उनले फोन, म्यासेज, भाइबर, सामाजिक सञ्जाल जुनसुकै माध्यमबाट आएका हुन्, आफ्नो सामथ्र्यले भेटेसम्म समस्या समाधान गर्ने र विदेशमा रहेका नेपालीहरुको पीडामा मल्हम लगाउने काम गरे । कुम्भकर्णझैं मस्त निद्रामा रहेका सरकार र तिनका सारथिहरु भन्दा यो सरकार र कार्यशैली बिलकूल फरक थियो । यसरी विदेशमा रहेका नेपालीहरुको हितमा काम गर्न पाइन्छ ? यो त सरासर राष्ट्रघात भएन ? त्यसैले प्रकाश दाहाललाई फाँसी दिनुपर्छ ।

    प्रचण्ड नेतृत्वको सरकार सफल पार्न प्रकाश दिनको १६ देखि २० घण्टा खटे । आफ्नै पार्टीका नेता, कार्यकर्ताबाट आउने अनुचित दवाव आँखा चिम्लेर ईन्कार गरे । कतिलाई प्रचण्डसँग भेट्नसम्म दिएनन्, आफ्ना गुनासाका पोका खोल्ने अवसरसम्म मिलेन । कतिका आफन्तको सरुवा भएन, कतिले बढुवा पड्काउने मौका चुकाए, कतिको भकारी भरिएन । त्यसो गरेर मात्रै प्रचण्डले देशको बारेमा सोच्ने समय पाउँथे, आफ्नो गोलबाट चुक्दैनथे । अनि, राजनेताको छबि बनाउने अवसर जुथ्र्यो । प्रकाशले रोकेकै कारण कति बरिष्ठहरु मुर्मुराए । अनि, विरोधीहरुको लोलीमा बोली मिलाए । यसरी तेस्रो पार्टीको अध्यक्षलाई देशको राजनेता बनाउने काम गर्न मिल्छ ? यो त देश र जनताप्रतिको अपराध भएन ? त्यसैले आउनुस्, सबै मिलेर प्रकाश दाहाललाई फाँसी दिउँ ।
    अन्तिममा एक शब्दमा भन्दा यसपटक प्रचण्ड सफल हुनुमा प्रकाश दाहालको चानचुने योगदान छैन । यसपटक एउटै भूलले प्रचण्ड सफल भए । त्यो थियो, ‘प्रचण्डले पुत्रमोह त्याग्न नसक्नु ।’ उनले पुत्रमोह त्यागेको भए प्रचण्ड सचिवालयमा डनहरुलाई नत्थी लगाउने बहादुर सायदै फेला पर्ने थियो । तिनै प्रकाशको प्रष्ट स्वाभाव र कार्यशैलीका कारण प्रचण्डको गोल धर्मराएन, ‘मिस फायर’ भएन । यसको सबैभन्दा बढ्ता श्रेय विरोधीहरुले दानवको रुपमा प्रचार गरेका तिनै प्रकाशको पोल्टामा जान्छ । त्यसैले आउनुस्, ‘प्रचण्डलाई राजनेता बनाएको अपराधमा प्रकाश दाहाललाई फाँसी दिउँ ।’
    एभरेष्ट दैनिक बाट

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य