नेपाली सेनाबाटै भयो हत्या , दोष के थियो ती बालिकाको


मङ्ल, मंसिर १९, २०७४

कबिता थापा,
काठमाडौं । ‘अरुलाई उज्यालो दिनु छ भने आफै जल्नुपर्छ’ भन्ने कुराको ज्वलन्त उदाहरण हुन्, देवी सुनुवार । काखको छोरीलाई तत्कालिन शाही नेपाली सेनाले विभत्स तरिकाले हत्या गरेपछि न्यायका लागि चर्को आवाज उठाउँदै आएकी उनले छोरीको अभावमा रोएर मात्रै बसेकी भए सायद अन्यायमा परेका अन्य सयौं महिलाहरूले न्याय पाउने थिएनन् । त्यसकारण त भनिन्छ, ‘अरुलाई उज्यालो दिनु छ भने आफै पनि जल्नुपर्छ ।’

दश वर्षे सशस्त्र द्वन्द्वमा परी ज्यान गुमाउने व्यक्तिका परिवारमा शान्ति छाउनसकेको छैन । आँखा रसाउन छोडेका छैनन् । देशमा शान्ति भयो भनिएको दशक बितिसक्दा पनि उनीहरूको घाउमा सरकारले मल्हम लाउन सकेको छैन । जसले गर्दा धेरैले शान्तिको सास फेर्न सकेका छैनन् । आफन्त गुमाउनुको पीडा कलिकति पनि कम गर्न सकेका छैनन् ।

राज्य पक्षबाटै छोरीको हत्या भएपछि विक्षिप्त बनेकी देवीलाई पनि छोरीको हत्याले नपिरोलेको होइन । लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा टेक्नै लागेकी छोरी राज्य पक्षबाटै मारिदा उनलाई पनि बाँच्ने मन त कहाँ थियो र ? तर भौतिक रुपमा यो संसारमा नरहेकी छोरीको न्यायका लागि उनले बाँच्ने अठोट गरिन् । अनि आफ्नो सबै शक्ति प्रयोग गर्दै लड्ने बाचा गरिन् र धाउन थालिन्, मानवअधिकारका लागि काम गर्छौ भन्ने सरकारी तथा गैर सरकारी संस्थाहरूमा ।

संघ संस्थाकै पहलमा छोरीको अवस्था थाहा पाएकी देवीले आफूले न्याय नपाएपनि अरुका लागि लड्दै समाजमा उदाहरणीय काम गरिरहेकी छिन् । भन्छिन्, ‘बाचुञ्जेल बेसहारा दिदीबहिनीहरूको लागि काम गर्नेछु । जसबाट मलाई मेरी छोरीप्रति केहि गरेको अनुभूति हुन्छ ।’विभिन्न बहानामा वेपत्ता पारिएका र हत्या गरिएका व्यक्तिका परिवारका समस्या एउटै छन् । हिंसाको मार खेप्नु परेको त्रासदीपूर्ण वास्तविकतालाई सम्झेर रोएरै मात्र जीवन बिताउनु भन्दा मिलेर द्वन्द्व प्रभावितको हितका लागि केहि गर्नुपर्छ भन्दै आफू समाज सेवामा लागेको देवी बताउँछिन् ।

सेनाले छोरी मैना सुनुवारको हत्या गरेपछि न्यायको लागि अहिलेसम्म लडिरेकी साहसी आमा देवी सुनुवारले छोरीको स्मृतिमा ‘मैना बाल विकास समिति’ को स्थापना गरेर अरुको न्यायका लागि लागिपरेकी छिन् २०६० सालमा तत्कालिन काभ्रे खरेलथोक गाउँ निवासी मैना सुनुवारलाई शान्ति मिसन तालिम केन्द्र पाँचखालमा शाही नेपाली सेनाले यातना दिएर हत्या गरी वेपत्ता पारेको थियो ।

दोषीलाई कार्वाही गरी न्याय प्राप्तीको लागि देवी सुनुवार आफै लडिरहेकी छन् । तर न्याय कहिले पाउने टुङ्गो छैन । मैना सुनुवारको पार्थिव शरीर अहिलेसम्म पनि त्रिभुवन शिक्षण अस्पताल, टिचिङको फरेन्सीक ल्यावमा राखिएको छ ‘जे नहुनु थियो त्यो भइहाल्यो, म जस्तै हजारौं आमाले सन्तान गुमाए, हजारौं नेपालीले हिंसा व्योहोर्नुप¥यो अब आसुलाई शक्तिमा बदल्ने प्रणसहित साहस बटुलेर अगाडि बढ्दैछु’ देवी सुनुवारले महिला खबरसँग भनिन् ।२०६२ मा ‘मैना बाल विकास समिति’को स्थापना गरी हिंसा पीडित बालबालिका र महिलालाई राहत, परामर्श सीप विकासको अवसर दिइरहेकी छन् उनले मैना प्रतिष्ठानको स्थापना गरी द्वन्द्व पीडित सरोकार अध्ययन केन्द्र खोल्ने र द्वन्द्वको समयमा वेपत्ता वा हत्या भएका काभ्रे जिल्लाका सबै पीडितहरूको सालिक राख्ने महत्वाकाँक्षी योजनाका साथ छोरीको स्मृतिमा दिनरात मेहनत गरिरहेकी उनी ।जिल्ला शान्ति समिति, काभ्रेको तथ्याङ्क अनुसार द्वन्द्वकालमा ३६२ हत्या, ४१ जना वेपत्ता, ८७ जना अपाङ्ग, १४ जना टुहुरा बालबालिका, ४९ जना आन्तरिक विस्तापित, ९ जना अपहरणमा परेका थिए ।कीर्तिपुरस्थित आयुर्वेद शिक्षण अस्पतालमा कार्यरत सृर्जना श्रेष्ठ पनि द्वन्द्व प्रभावित हुन् । समाजसेवी सृजनाका पति (सञ्जय सिंह)को गोली हानी हत्या भएको थियो ।

सञ्जय न विद्रोही पक्षधर थिए, न त सेना÷पुलिस नै । दुई साना आफ्ना नानीहरूलाई हुर्काउदै श्रीमती सृजनाको साथमा हाँसीखुसी जीवन बिताइरहेका उनी समाजमा विकास निर्माणदेखि शान्ति सुव्यवस्था कायम गर्नमा तल्लीन थिए । सृजनाका अनुसार सञ्जयलाई माओवादीले हत्या गरेका हुन् । अर्कै व्यक्तिको हत्या गर्न आएका माओवादीको गलत निसाना सञ्जय भए ।

सञ्जयको हत्या भएको लामो समय भईसक्यो । सृजना सम्झन्छिन्, ‘त्यो कालो दिनको अहिले पनि झmल्झली याद आउँछ । पाहुना आए जस्तो गरी दाई के छ खबर भन्दै चिने जानेकै मान्छे जसरी आए । नाबालक नानीहरूकै अगाडि उहाँलाई गोली हानियो ।’ श्रीमानको दोष, गल्ती के थियो त्यो पनि उनलाई अहिलेसम्म थाहा छैन । तर आफ्नो जीवन साथीलाई सपना देखे जसरी गुमाउनु परेकोमा उनलाई ठूलो पीडा छ २०५८ सालमा श्रीमानको हत्या भएपछि उनको पनि धेरै समय निर्दोषको ज्यान लिनेहरूसँग प्रश्न गर्न र न्यायको लागि लड्नमै बित्यो । तर सधैं त्यही घटनालाई सम्झेर बसेर पनि भएन, साना नानीहरूलाई हुर्काउनु÷पढाउनुको जिम्मेवारी पनि थियो उनको काँधमा । त्यसैले सृजनाले हिम्मत गरेर पेसा व्यवसाय गर्ने सोच बनाइन् । उनी आयुर्वेद अस्पतालमा जागिरका लागि खुलेको विज्ञापन हेरेर परीक्षामा सहभागी भइन् । परीक्षा उत्तिर्ण गरेर अहिले जीवन सहज ढङ्गले अगाडि बढाईरहेकी छन् ।

द्वन्द्वकालमा पति मारिदा भर्खर २६ वर्ष पुगेकी सृजनाले आफू जस्तै पीडितहरूसँग सहकार्य गर्दै एक÷अर्काको पीडा सुनेर मानव अधिकारको लागि एकल महिला समूहमा आवद्ध भइन् । उनी अहिले समूहको केन्द्रीय सचिव छिन् ।उहाँको हत्याले आफ्नो आधा अङ्ग गुमाए जस्तो लाग्यो । जर्वजस्ती सेतो लुगाए लगाएँ । तर के गर्नु आफ्नो भन्दा नानीहरूका लागि बाँच्नु थियो’ उनले विगत स्मरण गरिन् ।सृजना अहिले मोटर साइकल चढेर सबैतिर पुग्छिन् र आफूजस्तै पीडितहरूलाई सधैै पीर गरेर हुन्न, बाधा अडचनलाई छिचोल्दै अगाडि बढ्नुपर्छ भन्दै ढाडस दिन्छिन् । र द्वन्द्व प्रभावित, हिंसा प्रभावित लगायत अन्यायमा परेका मान्छेहरूको लागि प्रेरणाको स्रोत बनेर संघर्ष गरिरहेकी छिन् ।

साभार :mahilakhabar.com बाट

यसमा तपाइको मत

फेसबुक

ट्वीटर

बाट अन्य