“कैली” म केटि तर बिहे गर्छौ म संग भनि एउटा केटिले नै भन्यो : केटि संग केटिनै कहिँ बिहे गर्छन र मेरो जवाफ (एक कथा)


  • -लालिगुराश सम्बाद दाता
  • आइत, पुस ९, २०७४

    रातको १ बजे हामी थानकोट ओर्लियौं । काठमाडौं आइपुगियो भन्दै म रमाएँ । चारैतिर झिलिमिली बत्ती बलेको, बाटो पनि उज्यालो थ्यो । मलाई मध्यरात जस्तो भानै भएन । दिदीको साथ र बच्चाको तोते बोलीले पहिलोचोटि कसैको घरभित्र पस्दासमेत मलाई नौलो लागेन । ज्यान भने थाकेको थ्यो । हातखुट्टा नि नधोइकन पुर्लुक्क पल्टेर निदाइहाल्न मन लाथ्यो तर अरुको घर, कता के कता के ? दिदीले बच्चालाई एउटा पलङमा सुताइन् र हामी एकछिनमा सुत्नुपर्छ भनिन् । म पनि अर्को पलङमा गएर त्यत्तिकै कपडा नि नफेरी पल्टिएँ ।

    म आडमा सिरानी लिएर ब्ल्याङ्केट ओडेर पल्टिरै’थेँ । ‘अलि पर सर त’ भन्दै दिदी आएर टुसुक्क बसिन् र केही कुरा भन्न लाएझैँ गरिन् । म उनको आँखामा हेरिरै’थेँ । दिदीले आँसु बर्रर खसालिरहिन् र मेरो कपाल मुसार्दै भनिन्, “मलाई आफ्नो ठान्ने र माया गर्ने मान्छे कोही छैन । म माया नपाएर तड्पिरै’छु । तिमीलाई आफ्नो बनाउन पाए अनि माया साटासाट गर्न पाए, म कति खुसी हुनेथेँ ।”

    म छक परेँ, अनि अचम्म मान्दै सोधेँ, “हजुरको लोग्ने कता हुनुहुन्छ ? आमाबाबु र आफ्ना आफन्ती कोही नभएर यसो भन्नु भ’को हो कि ? मैले त हजुरको कुरै बुझ्न सकिनँ ।”

    उनी बरबर आँसु झार्दै फलाक्न थालिन्, “केको लोग्ने ? को हुन् मेरा आमाबाबु ? खै कहाँ छन् मेरा आफ्ना आफन्ती ? लोग्ने छन् भन्नलाई बिहा हुनप¥यो । आमाबाबु नाममात्रका हुन् । घरजम गरेर बस् भनेर कहिल्यै भनेनन् । मेरो घरबारै हुन दिएनन् । मेरा रहरहरू कहिल्यै बुझ्न खोजेनन् ।  बैनीलाई पनि बिहा गरेर पठाइदिए । दाइको नि बिहा गर्दिए । भाइलाई नि बुहारी ल्याइदिए । कान्छो भाइको बिहामा रिती, प्रतिभा, अमित, मुकुन्द सबै जना आ–आफ्नो जोडीसँग नाच्दै फुर्फुरिएका थे । मेरो भने कोही थेन । दाजुले भाउजू नल्याउँदासम्म त माया गरेझैँ लाग्थ्यो । भाउजू पाएपछि त दाजुले पनि वास्तै गर्न छाडेका थिए । मैले कसैको माया पाइनँ । त्यसैले एकदिन ब्यान सबेरै कसैले थाहा नपाउने गरी घर छाडेर हिँडें । यत्तिकै बेहोसीमै काठमाडौं आइपुगिछु । सोह्र महिना नौ दिनका दिन अस्ति मात्रै घरको न्यास्रो लाएर ग’की । भाउजू श्रीवास्तव दाइ नभएको मौका पारेर पोइला गएको खबर सुन्दा तीनछक परेँ । बिचरा ! यी बच्चाहरूको बिचल्ली देखेर कसैलाई थाहै नदिई यिनलाई लिएर आएकी । श्रीवास्तव आउँदै छ रे । उसलाई चाहिँ फोन गरिरै’थेँ ।”

    दिदीको कुराले मेरो आँसु झ¥यो । मनमा गुम्सिएका सबै पीडा पोखिन् । उनलाई त आनन्द भो होला तर मलाई साह्रै नराम्रो लाग्यो । उनका कथा र व्यथा सुन्दासुन्दै ब्यान हुन लागिसकेको थ्यो । एक्कासि जोसिलो पारामा दिदीले भनिन्, “तिमी मसँग बिहे गर न है !”

    म छक्क परेँ र आश्चर्य मान्दै भनेँ, “हजुर ? मैले त बुझिनँ । के भन्न खोज्नु भ’को ?”

    उनले मलाई अँगालोमा तान्दै भनिन्, “साँच्चै भनेकी, मलाई बिहा गर्न मन छ । तिमी र म बिहा गरेर सँगै बसौं न ।”

    दिदीको बिहा गर्ने कुराले म तीनछक परेँ । बाँच्नु मात्रै पर्छ, के–के कुरा सुन्न पाइन्छ । एउटी आइमाईसँग एउटी केटीले बिहा गर्नु रे ! कुरा सुनेर हाँस पनि उठ्यो, रिस पनि । मनमा डर पनि लाग्यो । म अक्क न बक्क भएर अक्मकिँदै बोलेँ, “आबुई ! त्यस्तो पनि हुन्छ र ? के भन्नुभएको हजुरले ? केटी–केटीको नि बिहा हुन्छ ? छिः…।”

    उनी भन्दै गइन्, “शायद तिमीसँग मेरो मन मिल्यो । त्यसैले यस्तो कुरा भन्दैछु । पोख्न हुने÷नहुने सबै कुरा पोखिँदैछन् । म तिमीसँग बिहा गरेर नयाँ जिन्दगी जिउन चाहन्छु ।”

    “नजिस्किनू, सुतौँ, निन्द्राले साह्रै अत्तायो ।”

    मेरा आँखा हेर्नै नमिल्ने गरी पोल्न थाले । शरीर थकाइले कटकटी दुखिरा’थ्यो । दिदी जुरुक्क उठेर दराज खोल्न थालिन् । कपडा फेर्न लागेझैँ लाग्दै थ्यो, म त झपक्कै निदाइछु ।

    एकछिनमा उनले मलाई घच्घच्याउँदै बोलाइन्, “बैनी तिमीलाई अप्ठ्यारो भो, घुर्न पो थाल्यौ त, यता सजिलो गरी सुत ।”

    उनले मलाई सार्न खोजिन् । मेरा आँखा खुले । उनको छाती अघिसम्म पोटिलो थ्यो । एक्कासि सुकेको देख्छु । सपना पो हो कि ? आँखा मिच्दै उनको अनुहारमा हेरेँ । अनुहार त उस्तै छ, बोली सुन्छु, बोली नि उस्तै छ । फेरि जिउडाल, कपडा सबै केटाको छ । म आत्तिएँ । अर्कै लोग्नेमान्छे पो आएजस्तो लाग्यो । शरीर लगलग काँप्न थाल्यो । मनमा चैते हुरी चल्यो । जुरुक्क उठेर यताउति हेरेँ । वक्षस्थल त टेबलमा पो थ्यो । उसले मलाई केटी बनेर फसाएजस्तो लाग्यो । म डरले काम्दै भाग्न लागेँ । आत्तिएर चिच्याउँदै बाहिर निस्कन खोजेँ । त्यो केटाले मेरो मुख थुनेर ‘नचिच्याऊ न बैनी, म नै हुँ अगिको दिदी, नडराऊ’ भन्दै खाटमा ल्याएर राख्यो ।

    उसले पानी दिँदै भन्यो, “लाऊ पानी खाऊ ।”

    मैले एक गिलास पानी एकै सासमा पिएँ ।

    उसले भन्दै गयो, “डराउनु पर्दैन, म केही गर्दिनँ । म त्यही दिदी हुँ, अघिकै । केटी सम्झेर तिमी मसँग आयौ । केटाजस्तो देखेर भाग्न खोज्यौ, ठीकै हो । मेरो वास्तविक रूप यस्तै छ । हेर त ! मेरो अनुहार केटीकै छ । बोली पनि केटीकै छ तर म केटा हो । मेरो शरीर हेर, मेरा हात खुट्टा हेर, मेरो लिङ्ग हेर । म केटो हुँ तर नडराऊ बैनी, म केटी नै हुँ ।”

    वनको बाघले नखाए पनि मलाई मनको बाघले खाई नै रह्यो । तेस्रो लिङ्गी पनि हुन्छन् भन्ने अलि–अलि सुनेकी थेँ तर कस्ता हुन्छन्, थाहा थेन । त्यो दिन पहिलोचोटि देखेँ र झेलेँ पनि । ब्यानको ४ बजिसकेको थ्यो । दाजु भनौं कि दिदी ! रूप दाजुको थ्यो, बोली दिदीकै । उनी फेरि बोलिन्, “मलाई माफ गर बैनी, आज तिम्रो अगाडि खुल्न चाहेँ, सर्वाङ्ग नाङ्गिन चाहँे । यो कुरा कसैलाई पनि नभन्नू । अब सुत्नुपर्छ, अनिदो बसो भने बिरामी भइन्छ ।”

    उनी सुतिहालिन् र सुत्नासाथै निदाई पनि हालिन् । मलाई भने डर लागी नै राथ्यो । निस्केर गैजाऊँ जस्तो भैरा’थ्यो । फेरि निस्कन पनि डर लाग्यो । म सतर्क भएर बसिरहें । उसले उठेर आक्रमण ग¥यो भने सामना गर्छु भनेर आँट बटुलिरहेँ । आँट बटुल्दा–बटुल्दै आँखा चिम्म नगरी उज्यालो भो ।

    बच्चाहरू निद्रा पु¥याएर ब्युँझे । दिदी निद्रा नपु¥याई ब्युँझिन् । म सुत्दै नसुती ब्यँुझेँ । कोठामा पूरै उज्यालो आइसक्दा पनि मेरो मन अँध्यारै थ्यो । बच्चाहरू मसँग जिस्कन थाले । दिदीले चिया बनाएर ल्याइन् । उज्यालोमा उनको शिरदेखि पाउसम्म नियालेर हेरेँ । निर्दोष मुहार, कोमल शरीर, मधुर बोली, नक्कली स्तन छातीमा टिमिक्क, लिङ्ग पुरुषकै भए पनि मलाई फेरि उनी दिदीजस्तै लाग्यो । तब भने मेरो मनको डर पनि भाग्यो ।

    “दिदी अब म जान्छु,” चिया पिएर म निस्कने तरखर गर्न थालें ।

    “अहिल्यै एकाब्यानै किन जानुप¥यो ? खाना खाएर नानीहरूलाई स्कुल छोड्न जाँदा सँगै निस्कनुपर्छ । म तिमीलाई गाडी चढाइदिउँला । बस्तै गर म खाना बनाइहाल्छु,” दिदी बोल्दै किचनतिर लागिन् ।

    मैले पनि केही सघाउन चाहेँ तर उनले तरकारी र अचारमात्र बनाउन बाँकी रहेको कुरा गरिन् । अचार बनाउन म सिपालु नै थेँ । त्यसैले मैले अचार बनाउने कुरा गरें । दाल, भात, तरकारी अचार सबै तयार भो । सबै जना सँगै बसेर खायौं ।

    मेरो जीवनको एउटा मीठो अनुभूति, त्यो रहस्यमय क्षण, जीवनभर अविस्मरणीय रहने भो । जीवनमा पहिलोचोटि, फरक धारको पात्रसँग बेग्लै अनुभूति सँगाल्न पाएँ । ९ बजेतिर नानीहरूलाई लिएर हामी निस्कियौँ । उनीहरूलाई स्कुलमा छाडेर हामी गफ गर्दै बस स्टेसनतिर लाग्यौँ ।

    “कैली मलाई नभुले हई ! जिन्दगीले मलाई यस्तै मोडमा ल्यायो । यसरी जिउने रहर त मलाई पनि कहाँ थ्यो र ! आज नबुझेका कुराहरू भोलि बुझ्दै जान्छ्यौ । समयले धेरै कुरा सिकाउँछ । कहिलेकाहीँ दिदी सम्झेर आउँदै गरे हई ! ऊ त्यो गाडीमा जाऊ, सामाखुसी नै पु¥याउँछ त्यसले,” दिदी बोल्दै थिइन् ।

    “ल त दिदी, राम्रोसँग बस्नुहोला, नानीहरूको राम्रो ख्याल गर्नुहोला,” म पनि बोल्दै–बोल्दै गाडी चढेँ । दिदी एकटकले मलाई नै हेरिरहिन् । म पनि झ्यालबाट उनैलाई हेर्दै थेँ, हेर्दाहेर्दै दिदी हराइन् ।

    (बुलबुल पब्लिकेसनद्वारा प्रकाशित जमुना न्यौपानेको उपन्यास ‘कैली’ आज शनिबार काठमाडौंमा विशेष कार्यक्रमबीच सार्वजनिक हुँदैछ ।)

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य