कवि नवराज लम्सालको कविता सङ्ग्रह –‘क्रमश : एक्लै एक्लै’ बजारमा

  • -लालिगुराश सम्बाद दाता
  • सोम, साउन २१, २०७५

    काठमाडौं । कवि नवराज लम्सालको कविता सङ्ग्रह ‘क्रमशः एक्लै एक्लै’ बजारमा आएको छ । कविता संग्रह साझा प्रकाशनले बजारमा ल्याएको हो । यो उनको तेस्रो कविता सङ्ग्रह हो । जसमा सञ्चो विसञ्चो, कविताको घोषणा–पत्र, वेश्यागमन, दिमागको ढुङ्गा रातो गुलाब गरी ३७ वटा गद्य कविताहरु यो सङग्रहमा रहेको छ । प्रकाशनको हिसाबले यो उनको सातौँ कृति हो जसलाई लम्साले लक्की नं ७ भन्न रुचाउँछन् ।

    काठमाडौमा भीड छ, आधुनिकतामा भीड छ । यो भीडमा मान्छेहरु एक अर्कालाई धक्का लगाई रहन्छन् । एकको अर्काेसँग कुम ठोकिन्छ तर एउटाले अर्कोलाई चिन्दैनन् । एक अर्काको संवेदना, भावना विश्वास, ऑसु, हाँसो बुझ्दैनन् । हो, त्यही भिडमा आफैमा रुमलिँदै मान्छे क्रमशः एक्लै एक्लै हिँडिरहन्छ भन्दै कविता सङ्ग्रहको नाम क्रमशः

    क्रमशः एक्लै एक्लैमा कविको भनाइ–
    म मान्छेभन्दा पर कतै पनि भेट्दिनँ, देख्दिनँ र लेख्दिनँ कविता । अक्षर संसार/साम्राज्यमा यत्ति चाहिँ मेरो दावी हो। बाँकी त समयलाई जिम्मा लगाएको छु। समय र समयले दिने निर्णय मलाई सदा स्वीकार्य छ । म मैले बाँचेकै समयलाई कविताको कथ्य बनाउन चाहन्छु र कविताका कन्तुरमा राख्न चाहन्छु— यो युगको संवेदना । भोलिले प्रेमपूर्वक यो कन्तुर खोल्यो भने, सायद् भन्ला— कविले बाँचेको युग विसङ्गत रहेछ । नभने पनि ठिकै छ । मैले मेरो कवितामा मेरै अनुभूतिका बिस्कुन सुकाएको छु। घाम लागे सुक्ला राम्ररी त्यो बिस्कुन र पानी आए भिज्ला । म दुवैका लागि तयार छु। मलाई थाहा छ— भीडको बीचमा पनि संवेदनापूर्ण कवि संवेदना तहमा सदा एक्लै हुन्छ र एक्लै हिँडिरहन्छ क्रमशः क्रमशः आफैँभित्र ।

    लाग्छ— म पनि मैभित्र हिँडिरहेछु एक्लै । भोगाइका अनेक असुन्दर आरोह–अवरोह खेपे पनि जीवन सुन्दर कविता हो। व्यक्ति, प्रवृत्ति र परिवेशसँग सहमत/असहमत जे भए पनि जीवनसँग असहमत हुनै हुन्न/सकिन्न । जिन्दगीको साधनामा धेरै मान्छेसँग धेरै ठाउँमा ठोकिनुपर्छ तर हृदयलाई त्यसले छुन्छ/छुन्न ? अलग कुरा हो । यी सबै देखिने र अनुभूत गरिने गहिरा कुरा हुन् । अनुभूतिको सघनता र अभिव्यक्तिको इमानदारी, यी कविताका दुई आँखा हुन् । हो, चिन्ताभन्दा माथि चेतनाको त्यही दिव्य आलोककोआसनमा छ कविता । त्यसकैखोजीमा क्रमशः निर्भय हिँडिरहूँ म पनि र क्रमशः हिँडिरहून्मेरा कविता पनि । बाँकी त समय र संवेदनाको जो मर्जी ।

    केही कविताहरू
    गुराँस फुल्छ पाखामा
    पाखै पैरिए पनि बिरसिलो हुँदैन लालीगुराँस
    कसैलाई देखाउन÷देखिन हैन
    बैँश पट्ट फुटेपछि आफैँ फुल्छ गुराँस !
    तिमीलाई सुन्दरता मन पर्दैन भन्दैमा
    कुनै युवतीमा बैँश आउनै नपाउनु?
    (कविताको घोषणा पत्र)

    चाँडो भन –
    मलाई हतार छ
    छ महिना अस्पतालमा थलिएर मरेकी
    मेरी सासूको तेह्र दिने शुद्धशान्ति छ भोलि
    छिट्टै अर्को क्रियाको निम्तो दिँदैछन् दमका रोगी ससुरा
    ठूली छोरी फर्की सकी होली स्कूलबाट
    किताब नलिई नआउनू भनकी छे
    सानी छोरीको घाँटी सुक्यो होला दूध पर्खेर
    छिटो गर महोदय
    छोरी, बुहारी, आमा, कसैकी स्वास्नी र नगरबधू
    सबथोक हुँ म वर्ष २८, गाउँ र ठाउँ नसोध,
    नाउँ फूलमाया तर तिमीलेखोजेको जम्मै चीज र सीप छन् मसँग
    सम्झ म पसल हुँ –
    तिमी मसँग कुन–कुन सामान किन्न चाहन्छौ ?
    (वेश्यागमन)

    जिन्दगी बुझ्नु छ भने
    छातीभरि सुन राखेर
    उभिएको बूढो पहाडलाई भेट
    मोती सञ्चय गर्ने समुद्रलाई भेट
    देउता हराएको मन्दिरकै पूजारीलाई भेट
    यी सबैलाई भेट्न भ्याउन्नौ भने
    आऊ मलाई भेट निधार खुर्केर भाग्य देखाइदिन्छु
    नसा काटेर देशभक्ति देखाइदिन्छु
    मुटु चिरेर ढुकढुकी सुनाइदिन्छु
    तर सम्झ – तिम्रो आँखा छैन,
    कान छैन र संवेदना मरिसकेको छ भने त
    तिम्रा लागि म केही गर्न सक्तिनँ ।
    (दिमागको ढुङ्गा)

    मेरो रातो गुलाब
    ऊ उम्रिएकै आँगनमा छ आज
    आँगन पोलेकै दिनदेखि
    उसको गमला मेरो छातीमा सरेको दशकौँ भयो
    कसै गरे पनि उसको मन उता सर्दैन
    खाली गमलामा यता निद्रा पर्दैन
    म त के भनूँ र खै
    दुनियाँ यसैलाई माया भन्छन् ।
    (रातो गुलाब)

    (जनतापार्टीको पेजबाट साभार )

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य