मधेसी, पहाडी र जनजातिलाई अपमान गर्ने राष्ट्रवादी हुन सक्दैन: प्रचण्ड

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, असार ८, २०७४

    नेपालगन्ज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमालका जनतालाई एकताको सूत्रमा जोडेर मात्र मुलुकको विकास क्रमलाई अघि बढाउन सकिने बताएका छन् ।

    आज बाँके जिल्लाको चार बेग्लाबेग्लै स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसी, पहाडी र जनजातिलाई अपमान गर्ने साँचो अर्थमा राष्ट्रवादी हुन नसक्ने बताए । मधेस, पहाड र हिमालमा बसोबास गर्ने आमनेपालीको एकताका कारण नै संविधानले स्वीकार्यता पाएको उनले स्पष्ट पारे ।

    “निर्वाचन अमुक पार्टी विशेषको हुँदै होइन, यो त जनताको सार्वभौम अधिकारसँग जोडिएको विषय भएकाले यसबाट पछि हट्नु भनेको जनताको अधिकारलाई स्वीकार गर्न नसक्नु नै हो” – अध्यक्ष दाहालले भने ।

    पूर्वप्रधानमन्त्री दाहालले भने – “मुलुकको आमूल परिवर्तनका लागि जनताको बलमा हतियार उठाएको आफ्नो दलले अहिलेको परिवर्तनलाई संस्थागत गर्न खोजेको छ । सिंहदरबारको अधिकार गाउँमा पु¥याउन खोजेको छ । यसमा आमजनताले हामीलाई साथ दिनेछन् ।”

    “चुनावमा हारजित हुनु स्वाभाविक नै हो, तर मुलुकले हार्नु हुँदैन, जनताले हार्नु हुँदैन, लोकतान्त्रिक व्यवस्था हार्नु हुँदैन उनले भने यो भावना जनजनमा प्रवाहित हुनु जरुरी छ, निर्वाचनलाई त्यसरी नै बुझ्नुपर्छ ।” रासस

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य