बुढा बितेको त्यो पिडा सेलाउन नपाउदै बिदेशिएकी यी नारि रीता माथि अर्को ब्रजपात,छोरी बित्दा समेत नेपाल फर्कन पाईनन(भिडियो हेर्नुहोस)

  • -लालिगुराश सम्बाद दाता
  • बुध, फाल्गुन १६, २०७४

    काठमाडौं, फागुन १६ – रीता सुवेदी र उहाँका श्रीमानको रुपन्देहीको बुटवलमा ग्याँस र चुलोकोहोलसेल पसल थियो । व्यापार राम्रोथियो । व्यापारको कमाइले परिवार राम्रोसँग चलेको पनि थियो ।

    व्यापार श्रीमानले मात्रै पनि धान्न सक्ने लागेपछि रीतालाई विदेश जान मन लाग्यो । विदेश जाने मन लाग्नुको कारण थियो युएई गएका बहिनी र ज्वाईंको काम र कमाई राम्रो हुनु ।

    ‘यहाँ काम गरिरहेकाहरुले नै राम्रो छ भनेपछि म आएँ’ रीताले भन्नुभयो । बहिनी ज्वाईंकै सल्लाहमा रीता ८ वर्ष अघि घरेलु कामदारका रुपमा युएई पुग्नुभयो ।
    घरको काम २ वर्ष गर्दा रीताले झण्डै ६ लाख रुपैयाँ बचाउनुभयो ।

    दुई वर्षपछि श्रीमान् विरामी भएको खबर आयो । श्रीमानको उपचार गर्न रीता युएईबाट घर फर्किनुभयो । ‘सामान्य विरामी होला केही समय उपचार गर्दा ठिक हुन्छ अनि फर्किन्छु भन्ने सोचेको थिएँ’ रीता भन्नुहुन्छ ।
    फर्किन्छु भन्ने सोचेर नै उहाँले आफ्नो ठाउँमा बहिनीलाई काम गर्न लगाएर घर आउनुभयो । तर उपचारका क्रममा श्रीमानका दुवै मिर्गौला फेल भएको थाहा भएपछि रीता युएई पर्किन पाउनुभएन । उपचार गर्दा गर्दै ५ वर्ष बित्यो ।

    श्रीमानलाई पाँच महिना काठमाडौं राख्नुभयो । उहाँले भरतपुर, भैरहवा हुँदै बुटवलमा पनि डाइलासिस गराउनुभयो । उपचार गराउँदा रीताले विदेशमा कमाएको बसै रकम सकियो ।

    त्यति मात्रै होइन श्रीमान र आफूले जोडेको जाय जेथा पनि सकियो । जोडेको जति सबै सक्किए पनि श्रीमानलाई बचाउन सक्नुभएन । ‘हुन्छ कि भन्ने आशले भएजति सबै सकेर उपचार गरें तर केही लागेन’ श्रीमानले सधैंका लागि छोडेर गएका कुरा सुनाउँदा रीताका आँखा रसाइसकेका थिए ।

    श्रीमान् बितेपछि तीन जना छोराछोरीकोभविष्य रीताको काँधमा आइपुग्यो । त्यही जिम्मेवारी पुरा गर्न उहाँ श्रीमान बितेको ६ महिनामै झण्डै डेढ वर्ष अघि पहिलाकै ठाउँमा घरेलु कामदारकै रुपमा युएई पुग्नुभयो ।

    १८ र १४ वर्षकी छोरी अनि ६ वर्षका छोरा छोडेर विदेशिनु पर्दा रीताको मन कम रुँदैनथ्यो । तर पनि उनीहरुकै भविष्य सम्झिएर चित्त बुझाउनुहुन्थ्यो । श्रीमान बितेको २ वर्ष पनि नपुग्दै रीतालाई अर्को खबर पुग्यो । जेठी छोरीले आफू बिरामी भन्दै उपचार गर्न जान लागेको सुनाइन् ।

    छोरी विरामी भएको खबर सुनेदेखि नै रीताले घर फर्किने तयारी गर्नुभयो । तर फर्किहाल्ने अवस्था थिएन् । किनकी नेपाल आएपछि पुन श्रम स्वीकृति लिन र फेरि फर्किन पाइँदैनथ्यो । त्यसैले उहाँ छाती दुख्यो भनेकी छोरी सञ्चो हुने खबर कुरेर बस्नुभयो ।

    पाँच दिनपछि सञ्चो भएको होइन छोरीको निधन भएको खबर आयो । ‘मलाई आफैं फोन गरेर अस्पताल जान्छु भनेकी छोरी त्यस्तो भइ’ छोरी बितेको एक महिना हुँदा पनि रीताले आफूलाई सम्हाल्न सक्नुभएको छैन ।

    जेठी छोरी छोडेर गइन् । दुई जना छोराछोरी बहिनीसँग बसेका छन् । घर आउन खोज्दा घर साहुले पनि बिदा दिए । तर नेपाली महिलालाई घरेलु काममा पठाउन सरकारले स्वीकृति दिन रोकेका कारण नेपाल आएपछि फर्किन नपाउने बाध्यताले छोरी मर्दा समेत रीता घर आउन पाउनुभएको छैन ।

    ‘भएजति सबै सक्किहाल्यो । नेपाल गएर छोराछोरीलाई कसरी पाल्नु, आफू के गरेर पालिनु’ रीता भन्नुहुन्छ ‘सरकारले फर्किन दिन्थ्यो भने घर जान्थें अनि छोराछोरीसँग भेटेर आउन थिएँ ।’
    उज्यालोबाट साभार
    भिडियो हेर्नुहोस :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य