सुनको बिलमा क्यारेट उल्लेख छैन ? गुणस्तरमा गडबडी हुन सक्छ, पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • शनि, अशोज २७, २०७५

    असोज २७/ चाडपर्वहरुमा केही नयाँ गरगहना जोड्ने परम्परा छ । दशैं तिहारमा सुन पसलहरुमा निकै भीडभाड लाग्छ । र, यस्तो बेलामा सुन खरिद गर्दा ठगिन सक्ने सम्भावना पनि अत्यधिक हुन्छ ।

    केही वर्षयता सुन पसलमा गुणस्तरबारे खासै अनुगमन भएको छैन । केही वर्ष अघि सुन पसलले २४ क्यारेटका भनेर बेचेको सुनमा १२ प्रतिशतसम्म मिसावट भेटिएको थियो ।

    सुनका गहनामा धातुजन्य अन्य पदार्थ मिसावट हुने गरेको तथ्य यसबाट खुलेको थियो । बजारमा मिसावटयुक्त अशुद्ध सुनको कारोबार मौलाइरहँदा उपभोक्ताले सचेत हुनुपर्ने अवस्था छ ।

    कतिपय सुन पसलहरुले चाँदीमा मापदण्ड भन्दा बढी जिंकसमेत प्रयोग गर्ने गरेका छन् । झण्डै २० प्रतिशतसम्म हानिकारक क्याडिएम प्रयोग अनुगमनमा फेला परिसकेको छ ।

    क्याडिएम के हो ?

    क्याडिएम सुनचाँदीमा घुल्ने एक प्रकारको हानिकारक धातु हो, जुन मानव स्वास्थ्यका लागि निकै घातक मानिन्छ । युरोपमा गरगहनामा क्याडिएमको प्रयोग निषेध गरिएको छ ।

    क्याडिएम भएका गरगहना प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग लाग्ने सम्भावना हुन्छ । तर, त्यही क्याडिएमको प्रयोग अहिले नेपाली सुनचाँदी व्यवसायीले गरगहनामा गरिरहेको भेटिएको छ । पानीमा समेत घुल्ने भएकाले यो धातु मानव स्वास्थ्यका लागि हानिकारक मानिएको विज्ञहरु बताउँछन् ।

    चाँदीभन्दा निकै सस्तो हुने भएकाले यसलाई गहनामा मिसाउँदा व्यवसायीलाई फाइदा हुन्छ । त्यसैको लोभमा सुनचाँदी पसलेले त्यसको अत्यधिक प्रयोग गर्ने गरेको भेटिएको छ ।

    चम्किलो सबै सुन हुँदैन

    धेरै उपभोक्ता सुुनको असलीपनलाई चमकका आधारमा छुट्ट्याउन सकिने विश्वास गर्छन् । धेरै चम्किलो देखिएमा त्यसलाई शुद्ध मान्छन् । तर, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यको भनाइ फरक छ ।

    शाक्यका अनुसार बजारमा अहिले पित्तलकै गहना पनि सुन जत्तिकै चमकदार भेटिन्छन् । त्यसैले हेरेर, छामेर वा अरु कुनै घरेलु विधि लगाएर सुनको असलीपन थाहा पाउन सकिँदैन ।

    ‘हामी वर्षौंदेखि सुनसँग खेलेका मान्छे त कसी नलगाई सुनको शुद्धपन थाहा पाउँदैनौं भने साधारण उपभोक्ताले कसरी शुद्ध र अशुद्ध भनेर चिनुन् ?’ उनले भने, ‘शुद्ध सुन चिन्ने सामान्य आधार र तरिकाहरु छैनन् । त्यसलाई वैज्ञानिक आधार नै चाहिन्छ ।’

    ठगीबाट जोगिने कसरी ?

    सुनको शुद्धता जाँच्ने कुनै वैज्ञानिक प्रविधि उपभोक्ताको पहुँचमा छैन । यस्तो अवस्थामा उपभोक्ताले सचेत हुनैपर्छ । उपभोक्ताले सुन किन्ने मानसिकता बनाउँदा सर्वप्रथम त विश्वसनीय पसलमा नै जानुपर्छ । सकभर ती पसल रोज्नुहोस् जून पुराना र स्थापित छन् ।

    महासंघ अध्यक्ष शाक्य भन्छन्, ‘सुन किन्ने भनेपछि आफैं संवेदनशील हुनुपर्छ । अनि सकभर आˆनो विश्वासमा रहेका व्यवसायीकोमा नै जानुपर्छ ।’

    विश्वसनीय सुन पसलको छनौटले उपभोक्तालाई शुद्ध सुन पाउने पहिलो आधार खडा गर्छ । ‘सुन किनिसकेपछि बिल लिन भूल्नै हुँदैन,’ शाक्यले भने, ‘बिलमै सुन कति क्यारेटको भनेर उल्लेख गर्न लगाउनुपर्छ । यदि २४ क्यारेटको सुन किन्दै हुनुहुन्छ भने बिलमा २४ क्यारेटको सुन भनेर स्पष्ट उल्लेख हुनुपर्छ । त्यसले सुनको शुद्धतामा तपाईलाई शंका गर्ने वातावरण बन्न्दैन ।’

    पुनः त्यही सुन बेच्न आएमा बिलमै उल्लेख भएको क्यारेट अनुसारको मूल्य पाउनुपर्ने गरी विक्रेतासमक्ष दावी पनि पेश गर्नुपर्छ उपभोक्ताले ।

    ‘यदी बिलमा क्यारेट उल्लेख नभए सुनमा केही न केही खराबी छ भन्ने सम्झिँदा हुन्छ । क्यारेट उल्लेख गर्न पसलेले मानेन भने त्यहाँ सुन नकिन्नु नै राम्रो । किनभने बिलमा सुनको क्यारेट उल्लेख गर्नु अन्तरार्ष्ट्रिय प्रचलन नै हो,’ शाक्यले भने ।

    सुनमा पनि उपहार र छुटका अफर गरिएको छ भने उपभोक्ताले शंकालु आँखाले हेनुपर्ने हुन्छ । किनभने सुनमा अफर दिने स्थिति सजिलै बन्दैन ।

    टञ्च मेसिन छैनन्

    बजारमा सुन पसलहरुले सुनलाई २२ र २४ क्यारेटका भनेर बेच्ने गरेका छन् । २४ क्यारेट सुनमा शुद्धताको प्रतिशत ९९ दशमलव ९९ प्रतिशत हुनुपर्छ । २४ क्यारेटको सुनको शुद्धता सुन जाँच्ने टन्च मेसिनमा राखेपछि मात्र थाहा पाउन सकिन्छ ।

    तर, नेपालमा टन्च मेसिन ब्यवसायीका पहुँचमा मात्रै छ । नेपालमा सीमितमात्रै टन्च मेसिन छन् । सर्वसाधारण उपभोक्ताले सुन किन्दा त्यसलाई जाँच्न सक्ने कुनै प्रविधि नेपालका सुन पसलहरुमा प्रयोग भएको छैन ।

    नेपालमा भित्रिने सुनको ढिक्कालाई व्यवसायीले गहना बनाउने समयमा पगाल्ने गर्छन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार सुन पगाल्ने भाडो एकपटक मात्रै प्रयोग गर्न पाईन्छ । तर, नेपालमा एउटा भाडो २० औं पटक प्रयोग हुँदा त्यसले सुनमा अशुद्धता ल्याउँछ । शुुद्ध सुन लिन्छु भन्नेले ढिक्का सुनै किन्दा हुन्छ ।

    कसरी हुन्छ मिसावट ?

    नेपालका ज्यासलहरु अझै पनि पुरानै प्रविधिमा निर्भर हुँदा सुनमा मिसावटको सम्भावना अधिक भएको व्यवसायी बताउँछन् । सुन पगाल्दा अपनाइने पुरानो प्रविधिले सामान्य मिसावट त हुन्छ नै । बैंकहरुले व्यवसायीलाई बेच्ने सुन पनि अशुद्ध भेटिने गरेको आरोप व्यवसायीको छ ।

    तर, केही व्यवसायी कमाउने लोभमा व्यवसायिक रुपमै मिसावटमा लागेको हुनसक्ने भएकाले सावधानी अपनाउन व्यापारीहरु नै सुझाव दिन्छन् । तर, केही पसलहरुमा कालीगढले पनि बदमासी गरेको हुनसक्ने व्यवसायीहरुको अनुमान छ ।

    त्यसैले उपभोक्ता स्थापित र विश्वसनियता बनाइसकेका पसलमा गएर यसरी हुने ठगीबाट बच्न सक्छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य