पैसाको भरमा स्नातकोत्तर पढ्ने चिकित्सकलाई काउन्सिलले मान्यता नदिने

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, असार ८, २०७४

    असार ८, २०७४- नेपाल मेडिकल काउन्सिलले चिकित्साशास्त्रको स्नातकोत्तर तहमा मेरिट लिष्टको आधारमा तोकिएको सिट र शुल्क विपरित विद्यार्थी पढाए उनिहरुलाइ विशेषज्ञको दर्जा नदिइने जनाएको छ । यस्ता विद्यार्थीहरुले मुलुकमा विशेषज्ञ चिकित्सकको रुपमा काम गर्न पाउने छैनन् ।

    नियमित विपरित पैसा दिएर भर्ना पाएका स्नातकोत्तरका विद्यार्थीहरु कलेजबाट पास भए पनि मुलुकमा विशेषज्ञ चिकित्सकको दर्जा नदिइने काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले बताए ।

    उनको अनुसार मेडिकल कलेजहरुले स्नातकोत्तर कार्यक्रमको लागि प्रवेश परिक्षा लिएर नतिजा प्रकाशित गरी योग्यता क्रमबाट सिट संख्या अनुसार तोकिएको शुल्क लिएर अध्ययन गराएकालाई मात्र काउन्सिलले विशेषज्ञ चिकित्सकको मान्यता दिने छ ।

    कतिपय मेडिकल र डेन्टल कलेजले विश्वविद्यालयको भर्ना प्रकृयालाई वेवास्ता गर्दै योग्यताक्रमलाई समेत लत्याएर डाक बढाबढको आधारमा विद्यार्थी भर्ना लिएको जनगुनासो पछि काउन्सिलले यस्तो निर्णय गरेको हो ।

    काउन्सिलले तोकेको सिट संख्या र विश्वविद्यालयले तोकेको विद्यार्थी भर्ना प्रकृया तथा शुल्कभन्दा बाहिर गएर विद्यार्थी भर्ना लिइएको भए त्यस्तो भर्ना तत्काल रद्द गर्न निर्देशन समेत दिएको छ ।

    देश भरीमा स्नातकोत्तर तहको सिट संख्या करिव ६ सय जति छ । यस्ता अध्ययनको लागि काठमाडौं विश्वविद्यालयले २२ लाख र त्रिविले ३१ लाख रुपैयाँ शुल्क तोके पनि एक करोड रुपैयाँसम्म लिइएको जनगुनासो आएको डा. शर्माले बताए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य