तपाईलाई एकदम भोक लागेको छ तर सुक्को पैसा छैन !जानुहोस काठमाण्डौको यो ठाउँमा सुक्को सित्तैमा खानुहोस सधै टन्न खाना


  • -लालिगुराश सम्बाद दाता
  • सोम, माघ २९, २०७४

    तपाईंलाई थाहा छ, सित्तैमा मीठो खाना खाने ठाऊँ कहाँ छ ? सित्तैमा, त्यो पनि राजधानी काठमाडौंमा । हो, आजको हाम्रो रिपोर्ट यही विषयमा केन्द्रीत छ । तपाईंहरुलाई हामी सित्तैमा खाजा तथा खाना पाइने राजधानी काठमाडौंको त्यही पवित्र ठाऊँको परिचय दिँदैछौं ।

    कथा पशुपतिनाथ परिसरको हो । पशुपतिनाथ मन्दिरको पश्चिमी प्रवेशद्वार नजिकै रहेको अन्नपूर्ण अखण्ड भण्डार आश्रमले भोका, अशक्त र इच्छुक जो कोहीलाई विना शुल्क खाना खुवाएर पेट भरिदिन्छ । आश्रम सञ्चालकहरुका अनुसार दैनिक सरदर तीन सय जनाले यहाँ खाना खाँदै आएका छन् ।

    विसं २०३० सालतिर नागा उर्फ शिवगिरी बाबाले स्थापना गरेको अन्नपूर्ण भण्डारमा अहिले दैनिक तीन सय जनासम्मलाई खाना खाने व्यवस्था गरिएको छ । सुरुवाती समयमा रोटी बनाएर खुवाउदै आएको आश्रमले अहिले खाना तथा खाजाको समेत व्यवस्था गरेको छ ।
    आश्रममा आउने सबै खाना तथा फलफूल आश्रममा आउने मानिसले ल्याइदिने भए पनि आश्रमका प्रमुख बाबा उमेश गिरी भने अन्नपूर्ण देवीको कृपाले यो सबै पुगेको बताउँछन् ।

    अन्नपूर्ण भण्डारमा खानाको रुटिङ समेत निर्धारण गरिएको छ । जसअनुसार बिहान आएका सबै मानिसलाई चिया र रोटी खाजा खुवाउने गरिएको छ । यसैगरी दिउँसो १२ बजेदेखि १ बजेसम्म आएका मानिसलाई खानाको व्यवस्था गरिन्छ । त्यसैगरी बेलुका ७ देखि ८ बजेसम्म खाना खुवाउने व्यवस्था गरिएको छ ।

    शिवरात्री पर्वमा पशुपति मन्दिर दर्शन गर्न आउने सबै जोगी तथा भक्तजनका लागि आश्रमले खाना बनाई मन्दिरमा लगेर खुवाउने गरेको छ ।

    शिवरात्रीको अवसरमा दस दिनसम्म दैनिक दश हजार जनालाई खाना खुवाउने व्यवस्था गरेको आश्रमका प्रमुख गिरी वताउँछन् ।

    भण्डारमा बन्ने खाना शाहाकारी मात्र हुने गरेको छ । यतिसम्म कि खानामा लसुन, प्याज पनि मिसाउने गरिएको छैन ।

    यस अन्नपूर्ण भण्डारले मानिसलाई मात्र होइन गाई, बादर, गोरु र चराका लागि पनि छुट्टा छुट्टै खाना बनाउने गरेको छ । बनाएका खाना सबै जनावर तथा चरालाई पाइक पर्ने ठाउँमा लगेर दिने गरेको अन्नपूर्ण माताका पुजारी हरिकृष्ण प्याकुरेल बताउँछन । भन्छन्, “हामी कहिले पनि खानाका लागि कसैसँग सहयोग माग्दैनौँ, यहाँ जति पनि खाना खान आउनुहुन्छ सबैलाई पुर्याएका हुन्छौँ ।” उनी थप्छन्, “तपाई यहाँ जतिखेर आउनुस केही न केही खाएर जान पाउनुहुन्छ ।”

    प्याकुरेल पनि गिरीले जस्तै आश्रमले कोहीसँग पनि नमाग्ने तर अन्नपूर्ण माताले गर्दा सबै पुगेको धारणा राख्छन् ।

    भण्डारमा चाहिने दाल, चामाल, तरकारी, आँटा, फलफूल तथा पैसा माग्न कोही बाहिर जादैँनन् । मन्दिरमा आउने मानिसले नै ल्याइदिने गरेको बताउछन् प्याकुरेल । उनी भन्छन्, “हामी कोही मागेर धनी बन्न बसेको होइनौँ, हामी सेवा गर्न बसेको हो । सेवा गर्ने इच्छा हुनुपर्छ सबै पुग्छ ।”

    चौबिसै घण्टा खुल्ला हुने आश्रममा जतिखेर गएर पनि केही न केही खाने व्यवस्था हुन्छ नै । आश्रमले दैनिक तीन पटक खाना तथा खाजाको व्यवस्था गर्दै आएको छ ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य