सुद्ध पिउने पानी पाएपछि यसरी उफ्रीए रामपुर बासी

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, असार ६, २०७४

    रामपुर (पाल्पा), ६ असार । वर्षौंदेखि खोलाको धमिलो पानी पिउन बाध्य रामपुर नगरपालिका–८ भुजात, सानो बगैँचाका स्थानीयवासीले अहिले शुद्ध पिउने पानी उपभोग गर्न पाएपछि खुसी भएका छन् ।

    बस्ती नजिकै पानीको धारा, मूल, कुवा, इनार नहुँदा यहाँका स्थानीयवासीले खोलामा बगेर आएको पानी पिउन बाध्य थिए ।

    स्थानीयवासीले घरघरमा अर्थ सङ्कलन गरेर बस्तीदेखि करिब चार किलोमिटर टाढा रहेको मूलको पानीलाई व्यवस्थित गरेर सबैका घरघरमा पानी आएपछि यहाँका स्थानीयवासीमा खुसीयाली छाएको छ ।

    खोलामा बगेर आएको फोहर पानीले स्वास्थ्यमा प्रतिकूल असर पारेपछि चेतनाको विकास हुँदै जाँदा यहाँका स्थानीयले आफ्नै लगानी र जनश्रमदानमा खानेपानी योजना निर्माण गरेका हुन् ।

    यहाँका ४७ घरधुरीका स्थानीयवासीले रु एकलाख २० हजारको लागतमा योजना निर्माण गरेर घरघरमा खानेपानी उपभोग गर्न थालेको स्थानीयवासी सरोज अधिकारीले जानकारी दिनुभयो ।

    पहिले खानेपानीको अभावमा टाढाटाढासम्म गाग्री बोकेर पानी खोज्न बिहानभरको समय बिताउनु पर्दा घरायसी कामकाजमा समस्या आउने गरेको शान्ति विकको भनाइ छ । अहिले घरमै पानी आएपछि धेरै सहज भएको उहाँ बताउनुहुन्छ ।

    फोहर दूषित पानी पिउनु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि खानेपानीको वैकल्पिक उपाय नहुँदा वर्षौंसम्म खोलाको पानी पिउन बाध्य भएको स्थानीय उमाकान्त खनालले बताउनुभयो । रासस

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य