श्रीमानले छाडेपछि एक्लिएकी क्यान्सरपिडित दुर्गा भन्छिनः घाउबाट पीप बगिरहेको छ ,मलाई बचाउनुहोस- म बाच्न चाहन्छु

  • -लालिगुराश सम्बाद दाता
  • बुध, असार ७, २०७४

    मेरो माइतीघर मोरङ हो । १० वर्ष अघि म बिदेश जाने भनेर काठमाडौँ आएकी थिएँ । त्यति बेला सिन्धुपाल्चोक पुरानो घर बताउने चितवन नारायणघाटका सुरेन्द्रकुमार लामासँग मेरो भेट भयो । काठमाडौ रहँदा उहाँले सहयोग पनि गर्नुभयो । त्यतिबेलै हाम्रो माया बस्यो । त्यस लगत्तै म कुवेत गएँ । त्यहाँ २ वर्ष बसें । कुबेतमा राम्रो कमाई नभएपछि नेपाल आएर दुबई गएँ । दुबई जानुअघि सुरेन्द्रसँग मेरो बिहे भई सकेको थियो । बिहे भएको पनि अहिले ७ वर्ष भइसक्यो ।

    दुबईमा पनि राम्रो कमाई नभएपछि २ वर्षमा नेपाल फर्किएँ । त्यतिबेला श्रीमान् कतार जानुभएको थियो । श्रीमानले घरपरिवारसँग चिनजान नगराएकाले म श्रीमान्को घर नगई माईती गएँ । म माईतीमै भएको बेला श्रीमान् नेपाल आउनु भयो । मलाई भेट्न मोरङ आउनु भयो तर घर लैजानु भएन । उहाँ आए पछि म माइतीकै छेउमा कोठा लिएर बस्न थालें ।

    हाम्रो बिहे अन्तरजातीय हो । म ठकुरीको छोरी, उहाँ तामाङको छोरा । त्यसैले पनि बुवा आमाको खुसीका लागि भन्दै मलाई घरमा लैजान मान्नु हुन्थेन । करिव डेड महिना मोरङमा सँगै बसेपछि उहाँ आमा बाबालाई भेट्छु भन्दै नारायणघाट जानु भयो । त्यसदिन देखि हाम्रो भेट सधैका लागि टुंगियो । म गर्भवती थिएँ । उहाँले बिहे गरेको खवर सुने । म धेरै रोएँ ।

    गर्भवती भएको यस्तै ५ महिना हुँदा म बिरामी परेर तीन महिनासम्म थला परे । तर उहाँ फर्केर पनि आउनु भएन । उल्टै फोनमा ‘तेरो बाटो तँ गर मेरो बाटो म गर्छु’ भनेर झपार्नुभयो । यतिसम्म की मेरो पेटमा हुर्कदै गरेको बच्चा फाल्नका लागि दबाब दिनु भयो । तर म जिन्दगीमा पहिलो पटक आमा बन्ने सौभाग्य गुमाउन चाहान्न थिएँ । त्यसैले एक्लै आँट गरेर बच्चा जन्माउने निर्णयमा पुगें ।

    दिनदिनै मेरो पेट बढ्दै थियो । गाँउलेहरु कुरा काट्थे । श्रीमान् पनि छैन । कसको बच्चा होला भनेर कुरा काट्नेहरुको कुनै कमी थिएन । गाउँलेहरुले कुरा काट्छन भनेर म साँझ परेपछि मात्र बाहिर निस्किन्थे । नौ महिना यसैगरि बित्यो । सुत्केरी ब्यथाले च्याप्न थालेपछि जे भए पनि आफ्नो पति हुन भनेर उहाँलाई फोन गरेर बोलाउन खोजें । आउछु भनेर पटकपटक झुट बोल्दै मलाई झुक्याउँदै गर्नु भयो ।

    ब्याथा लागेको ५ दिनमा बिराटनगरको कोशी अंचल अस्पतालमा छोरीलाई जन्म दिएँ । सुत्केरी भएको बेला मेरो आमा र भाउजुले सहयोग गर्नु भएको थियो । छोरी जन्मेको १५ दिनपछि बल्ल उहाँ आउनु भएको थियोे । तर मलाई केही सहयोग गरेन ।

    विदेशमा कमाएको अलिअलि पैसा पनि सुत्केरी हुँदा सकियो । सुत्केरी भएको केही दिनमा म मेलापात गर्न थालें । मैले बाख्रा र कुखुरा पनि पालेकी थिएँ । कुरा २०७० साल बैशाख तिरको हो । घाँस काट्न जंगल गएकी थिए । घाँस काट्दै गर्दा लडेर ढुङ्गामा बजाारिएँ । मेरो छातीको दाहिने पट्टी गहिरो चोट लागेको रैछ । मेरो दाहिने स्तनमा निलो भएको थियो । घाँसको भारी त्यही छोडेर म अस्पताल गएँ । डाक्टरले खासै त्यस्तो केही भएको छैन । आफै ठिक हुन्छ भन्नुभएको थियो । तर, घाउ निको हुने छाँटकाँटै देखिएन ।

    ठोक्किएको ठाउँमा मकैको दाना जस्तै डल्ला डल्ला निस्कियो । छाम्दा बाहिर बाटै थाहा हुन्थ्यो । मेडिकलमा जचाँउदा डाक्टरले केही पनि हुँदैन औषधी खाएर ठीक हुन्छ, डराउनु पर्दैन भन्नुभयो । औषधि पनि खाएँ । तर निको भएन । २ वर्ष पछि त्यो डल्ला बढ्दै गएर आलुको दाना जस्तै भयो । भित्र भित्र चस्किने, पोल्ने हुन थाल्यो ।

    धरानको घोपा अस्पताल गएर जँचाएँ । त्यहाँ थाहा भयो कि मेरो छातीमा क्यासरको डल्ला रहेछ । डाक्टरले काटेर फाल्नु पर्छ भन्नु भएको थियो । तर मसंग पैसा थिएन । मैले कुबेतमा हुनुभएको श्रीमान्लाई फोन गरेर आफ्नो रोग बारे सुनाए । अप्रेशनका लागि पैसा पठाइदिन भने । तर उहाँ एकदमै रिसाउनु भयो । मसंग पैसाको कुरै नगर । पैसा छैन । म आफै आउँछु त्यस पछि जे गरे पनि गरम्ला भन्नुभयो ।

    क्यान्सर भएको थाहा पाउदाँ म एकदम डराएकी थिए । मलाई छोरीको एकदमै चिन्ता हुन थाल्यो । म मरे भने मेरी छोरीको हालत के होला ? भर्खर बोल्न र हिँड्न थालेकी छोरीलाई देखेर बाँच्नका लागि उत्साहित हुन्थें । तर, छातीमा बढिरहेको घाउ अनि उपचारका लागि पैसा नहुँदा एकै छिनमा बाँच्ने आशा मथ्र्यो ।

    २०७३ माघ १ गते श्रीमान् नेपाल आउनु भयो भन्ने थाहा पाएँ । यस्तो अवस्थामा मलाई भेट्न आउनु हुन्छ की भन्ने ठुलो आशा लागेको थियो । तर उहाँ आउनु भएन । फोन गर्दा उल्टै गाली खाए । यस्तो रोग लागेको मान्छे त बाँच्दैन । तँ पनि मर्छेस् अब भन्नु हुन्थ्यो । उहाँ नआए पछि म आफै उहाँलाई भेट्न काठमाडौँ आएँ । उहाँको आमा बुवा काठमाडौँको मुलपानीमा गाई पालेर बस्न थाल्नु भएको रहेछ । म खोज्दै त्यँही पुगे ।

    मलाई सहयोग होला भनेको उल्टै अपमान मात्रै भयो । उपचार त परै जाओस्, म घरमा काम गर्ने नोकर भन्दा कम भइन । गाईलाई घाँस काट्ने, गोबर सोहोर्ने, भाँडा माझ्ने खाना बनाउने काम सबै आफै गर्नुपथ्यो । बिरामी अवस्थामा शरीरले आराम खोज्थ्यो तर मैले आराम पाईन । एक दिन मलाई घाउ दुखेर ज्यादै गाह्रो भयो । मैले उहाँलाई ‘अस्पतााल जाऔँ न मलाई धेरै गाह्रो भयो’ भने । मेरै करमा वीर अस्पताल लिएर जानु भयो । डाक्टरले ‘मेमोग्राफी’(स्तनको अल्ट्रसाउण्ड) गराउनुपर्छ भनिएको थियो । तर मेरो घाउमा पानी भएकाले मेमोग्राफी संभव भएन । त्यसपछि टिचिङ्ग गएँ । त्यहाँ किमो चढाउनु पर्छ भनेको थियो । तर म अत्यन्तै कमजोर भएका कारण किमो चढाउदा मेरो शरीरले थेग्न नसक्ने भएपछि त्यो पनि सम्भव भएन ।

    रोगले त जरा गाडेकै थियो । त्यस माथि श्रीमान् र परिवारको वचनको चोटले सहनै नसकिने भएकी थिए । त्यसैले एक्लै बस्ने निर्णय गरें । मुलपानीमा २५ सय रुपैयाको कोठा भाडामा लिएर बसेको डेढ महिना भयो । ४ वर्षकी छोरीलाई लिएर त्यही कोठामा बस्छु । तर श्रीमानबाट मैले केही सहयोग पाएकी छैन । म बाँच्न चाहन्छुु तर मसँग उपचारका लागि पैसा छैन ।

    तीन महिनाअघि उहाँ फेरि कुबेत जानुभयो । अहिले कुबेतमै हुनुहुन्छ । हाम्रो सम्पर्क छैन । उहाँले मलाई फेसबुकबाट पनि हटाइदिनु भयो । गएको महिना मेरो दिदीले ‘फलफुल खानु’ भनेर दिएकोे ५ हजार रुपैयाँले भाडा तिरे । अब औषधि उपचारको त कुरै छाडौं बिहान बेलुकी हातमुख जोर्नलाई पनि पैसा छैन ।

    मलाई भक्तपुरको क्यान्सर अस्पतालले उपचार गराइदिने पनि भनेको थियो । तर मेरो श्रीमानसँगको नाता प्रमाणित भएको कागज पत्र चाहिने भएकाले उपचार हुन पाएन । मेरो बिवाह दर्ता पनि भएको छैन । अप्रेशन गर्नका लागि पनि श्रीमानको हस्ताक्षर भएको मन्जुरी नामापत्र चाहिने रैछ तर श्रीमानले मान्नुभएन ।

    ३ महिनायता म उपचारको लागि अस्पताल गएको छैन । मेरो घाउबाट पीप बगिरहन्छ । घाउ दुखेर निकै गाह्रो भएको छ । सरकारले १ लाख रुपैयाँ उपचार खर्च दिन्छ भनेको सुनेको छु । त्यो पैसा लिन पनि सिफारिस चाहिन्छ रे । बिहे दर्ता नै नभएपछि सिफारिस ल्याउन पनि सकेको छैन । अस्पतालले उपचारमा ७ लाख खर्च लाग्छ भनेको थियो । मसँग कत्ति पनि पैसा छैन । तर, म बाँच्न चाहान्छुु ।

    (क्यान्सर पीडित दुर्गामायासँग पत्रकार रीता बुढाथोकीले गर्नुभएको कुराकानीमा आधारित)
    खबर टाइम्स

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य