ढुक्क ! हुनुहोस यस्तै हो भने अबको पाँच वर्षपछि नेकपा सिद्धिने पक्का छ-बाबुराम भट्टराई

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, भदौ १५, २०७५

    १५ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई आगामी सेप्टेम्बरमा अमेरिका जाँदैछन् । भर्खरै युरोपको भ्रमण गरेर फर्केका डा. भट्टराई अमेरिकाबाट आएपछि मध्यपूर्वी देशहरुको भ्रमण गर्ने योजनामा छन् ।

    ‘विभिन्न देशहरुको अध्ययन गुगलबाटै पनि गर्न त सकिन्छ, तर आफैंले घुमेर अनूभूति गरेजस्तो नहुँदोरहेछ,’ युरोप भ्रमणको अनुभव सुनाउने क्रममा डा. भट्टराईले अनलाइनखबरसँग भने- ‘त्यसैले एकपटक महत्वपूर्ण देशहरुको भ्रमण गरेर ती देशको अनुभवबाट सिक्ने योजनामा छु ।’

    आन्तरिक अन्तरविरोधहरुका कारण अबको पाँच वर्षपछि नेकपाको विघटन हुने डा. भट्टराईले बताए । नेपाली कांग्रेसले पनि विकल्प दिन नसक्ने र राजावादीहरुको युग समाप्त भइसकेको उनले बताए । तर, धुलो र हिलोको मात्रै कस्मेटिक कुरो गरेर नयाँ विकल्प दिन नसकिने भन्दै डा. भट्टराईले अब देशमा अग्रगामी नयाँ विकल्प कि दक्षिणपन्थी नयाँ विकल्प भन्नेबारे बहस सुरु हुने बताए ।

    नेपाली राजनीतिमा नयाँशक्तिको अभ्यास गरिरहेका डा. भट्टराईसँग अनलाइनखबरले समसामयिक विषयमा कुराकानी गरेको छ ।

    सुरुमा सुनौं ‘दक्षिणपन्थी खतरा’ र ‘अग्रगामी विकल्प’ का कुरा-

    मैले नयाँ शक्तिको सम्भावना विश्वस्तरमै नै देखेको छु । वस्तुगत परिस्थिति अब बन्दै आएको छ । संकटहरु देखापरिराखेका छन् । नेपाल पनि अब अर्को विन्दुमा विस्तारै जान्छ । तर, खतरा मैले कहाँ देखिराखेको छु भने हामी जुन पृष्ठभूमिबाट आयौं, -जस्तै-माओवादी आन्दोलनबाट आयौं) त्यसलाई मात्रै हेरिदिने र नयाँ युवापुस्ता राजनीतिक-वैचारिकरुपमा प्रष्ट नहुने । खाली नयाँ हुनुपर्छ मात्रै भन्ने । यसले गर्दा दायाँतिर जान्छ कि भन्ने खतरा छ ।

    जस्तो- अमेरिकामा डोनाल्ड ट्रम्पले त्यहाँका ह्वाइट युवाहरुलाई लिएका हुन् । पाकिस्तानमा अहिले इमरान खान आएका छन् । उनलाई पनि पाकिस्तानका डोनाल्ड ट्रम्प भनिँदैछ । उनले पनि ‘राइटिस्ट एप्रोच’ बाटै नयाँ विकल्प बनाएका हुन् । इमरान खानहरु २२/२६ वर्षपछि सरकारमा आएका हुन् । हाम्रो देशमा पनि त्यस्तै हुने हो कि भन्ने खतरा देख्दैछु । यद्यपि नेपाली समाजमा विविधता छ । नयाँ विकल्पको निर्माण भावना र आवेगले मात्रै हुँदैन, विचार र राजनीति चाहिन्छ ।

    कांग्रेस र कम्युनिष्ट ब्राण्ड जो हिजो थिए

    अब त्यो ब्राण्डले काम गर्दैन । कांग्रेस र कम्युनिष्ट दुईवटै ब्राण्डबाट अब देशको समस्या समाधान हुन सक्दैन । नयाँ विकल्पतिरै समाज जान्छ
    समाज विकासका खास नियमहरु हुन्छन् । विश्वव्यापी आधुनिकताको जुन सुरुवात भयो र जुन वैचारिक पुनर्जागरण भर्‍यो, त्यसका आधारका उदारवाद, समाजवाद र साम्यवादका अवधारणाहरु आए । एक्काइशौं शताब्दीसम्म आइपुग्दा त्यसमा अपूर्णता देखा परेको छ । त्यसैले नेपालमा र विश्वमै पनि नयाँ शक्तिको औचित्य दिनहुँ बढ्दै गइरहेको मलाई अनुभूति भएको छ ।

    एक्काइशौं शताब्दीमा आउँदाखेरि आधुनिकतावादको पनि नयाँ ढंगले परिभाषा गर्नुपर्ने भएको छ । प्रवोधनवाद अनि त्यसका हाँगाबिँगाहरुले अगाडि सारेका विचारहरुमाथि पनि विमर्शहरु भइराखेका छन् । त्यसैले वैश्विकरुपमा हेर्दाखेरि पनि पुँजीवादी र साम्यवादी विचारमा प्रश्न उठिराखेको छ ।

    प्रणालीगतरुपमा पनि अमेरिका, बेलायत फ्रान्स अनि युरोपमा कतिपय देशहरु र पाकिस्तान नेपाललगायतका देशहरुमा पनि बहसको जुन सुरुवात भएको छ, त्यस हिसाबले हेर्दाखेरि नेपालमा नयाँ शक्तिको बैचारिक आधार बढ्दै गएको हामी देख्छौं ।

    तर, नयाँ भनेरमात्रै पुग्दैन । कुनै पनि नयाँको जन्म हुँदाखेरि समाजमा दुईवटा प्रवृत्तिहरु हुन्छन् । अग्रगामी ढंगले एउटा विचार अगाडि आउँछ, अर्कोचाहिँ पुरानाको असन्तुष्टिलाई व्यक्त गर्ने र त्यसलाई नै सामान्य सुधारहरु गरेर यथास्थिति कायम गर्ने अथवा नयाँको विरुद्धमा झनझन पछाडि र्फकने विकल्पहरु आउन सक्छन् । त्यसैले समाजमा नयाँका नाममा आउँदाखेरि एउटा अग्रगामी र प्रगतिशील भएर आउँछ भने अर्को चाहिँ यथास्थितिवादी, दक्षिणपन्थी अथवा प्रतिगामी भएर पनि आउन पनि सक्छ ।

    यसरी हेर्दाखेरि हामी विश्वमै दुईखालका प्रवृत्तिहरु देख्छौं । अमेरिका, जर्मनीका कतिपय ठाउँ, रोम र अहिले पाकिस्तान आदि देशका विकल्पहरु दक्षिणपन्थी, यथास्थितिवादी र रुढीवादी कोणबाट देखा परेका छन् । नेपालमा हामीले गर्न खोजेको प्रयोग र फ्रान्समा म्याक्रोनले गर्न खोजेको प्रयोगचाहिँ अलिकति प्रगतिशील, अग्रगामी ढंगले आएका छन् ।

    त्यसैले नयाँशक्ति र वैकल्पिक शक्तिको कुरा गर्दाखेरि मूलतः विद्यमान समाजका अन्तरविरोध हल गर्ने सही विधि के हो भन्ने जगमा उभिएर नै हामीले विकल्प खोज्नुपर्छ । विचार र राजनीतिलाई गौण बनाएर, रुप पक्षको मात्रै कुराहरु गरेर विकल्पको कुरा गरियो भने दक्षिणपन्थी हुने खतरा बन्छ ।

    दक्षिणपन्थीहरुको एउटा प्रवृत्ति के देखिइराखको छ भने नेपाल, भारत र पाकिस्तानजस्ता देशहरु जहाँ पुरानो राज्यसत्तालाई बदलेर नयाँ लोकतान्त्रिक राज्यसत्ता ल्याउनमा जसले बलिदानी गरे, ती मानिसहरु सत्तामा पुगेपछि भ्रष्ट भए । उनीहरुले राज्यसत्ताको दुरुपयोग गरेको हुनाले अहिले भ्रष्टाचारको मुद्दा प्रमुख ढंगले आएको छ ।

    तर, यसरी भ्रष्टाचारको मुद्दालाई नै प्रमुख बनाएर, विचार, राजनीति र कार्यक्रम नदिइकन विकल्प बनाउँछु भन्दाखेरि प्रकारान्तरले दक्षिणपन्थी यथास्थितिवादी विकल्प तयार हुन खोजेजस्तो प्रतीत हुन्छ ।

    हामीकहाँ यस्तो छ भने उता युरोप अमेरिकातिर त्यहाँको व्यवस्थाभित्र जुन संकट छ, त्यसलाई समावजेशी र अझ उन्नत प्रकारको लोकतन्त्र वा प्रगतिशील ढंगले हल गर्नुको सट्टा त्यहाँको समस्या आप्रवासीहरुले गर्दाखेरि आएको हो भन्न थालिएको छ । अमेरिका, जर्मनी, इटली आदि देशहरुमा आप्रवासनविरोधी सेन्टिमेन्ट लिएर अत्यन्त दक्षिणपन्थी प्रकारको विकल्पको खोजी भइरहेको देखिन्छ ।

    यसरी आप्रवासनका मुद्दा, भ्रष्टाचार र कुशासनका मुद्दालाई मात्रै उठाएर, रुप पक्षका मात्रै कुराहरु उठाएर विकल्प दिन खोज्दा दक्षिणपन्थी दिशातिर जाने खतरा देखा पर्छ । र, परिराखेको छ ।

    विचार, राजनीति र नीति-कार्यक्रममा केन्द्रित नभइकन खाली धुलो र हिलोका कुरामात्रै गरेर मात्रै सही अग्रगामी विकल्प तयार पार्न सकिँदैन
    अहिले मैले विभिन्न देशहरुको भ्रमण गरेर आउँदा र नेपालको सन्दर्भमा हेर्दाखेरि पनि हामीले यत्रो लामो संघर्षपछि जुन परिवर्तन ल्याएका छौं, यो परिवर्तनको स्वामित्व लिएर यसलाई ग्रहण गर्दै गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीता यी हाम्रा उपलब्धी हुन् र यसका निम्ति एउटा पुस्ताले ठूलो त्याग र बलिदानी गरेको छ भन्ने कुरालाई स्वीकार्दै यसलाई स्थापित गरेर नयाँ विकल्प दिन जरुरी छ ।

    अहिले सत्तामा जो मान्छेहरु पुगेका छन्, हिजोकै आन्दोलनकारी शक्तिहरुको विवेक ठीक ढंगले नपुग्दा र उनीहरुको दुरदृष्टि नपुग्दा आन्दोलनबाट थाकेर विश्राम लिन खोज्ने प्रवृत्तिले गर्दाखेरि राज्यसत्ताको दोहन गर्ने र भ्रष्टाचार गर्ने समस्याहरु देखा परिराखेका छन् ।

    तर, हामीले रुप पक्षलाई मात्रै लिँदाखेरि यसले समाधान दिँदैन । हिजोका आन्दोलनकारीहरु भ्रष्टाचारी हुन्, त्यसैले गणतन्त्र, संघीयता र समावेशीता नै बेठीक छ भनेर भन्न खोजेको जस्तो स्थिति देखापर्दैछ । यसो भयो भने देश दक्षिणपन्थी र प्रतिगामी खालको विकल्पतिर पुग्न सक्छ । हामीले त्यसरी होइन, विगतका उपलब्धीहरुलाई रक्षा गर्दै ठोस योजना लिएर अगाडि बढ्नुपर्छ । यो ढंगले अगाडि जान सकियो भने मात्रै सही ढंगले नयाँ विकल्प तयार हुन सक्छ भन्ने म देख्छु ।

    पुराना नेतालाई सरापेर मात्रै हुँदैन

    अब एजेण्डा नै बदल्ने बेला भएको छ । हिजो सही व्यवस्था ल्याउने एजेण्डा थियो, अहिले जनताको जीवनस्तर बदल्ने र परिवर्तन गर्ने एजेण्डा छ । यो एजेण्डलाई ग्रहण गर्न नसकेर पनि उहाँहरु अल्मलिएको अवस्था छ । हामीकहाँ यो राज्यसत्तालाई आसेपासे पुँजीपतिहरुका लागि भूमिका खेल्ने साधनकारुपमा लिएर त्यसको दोहन गर्ने प्रवृत्तिले जनतामा असन्तुष्टि ल्याएको छ । गुणात्मक आर्थिक सामाजिक रुपान्तरणका निम्ति फड्को मारेर जाने जुन योजना हुनुपर्ने हो, त्यो नहुँदाखेरि हामीकहाँ समस्या देखापरेको छ ।

    यो सरकारबाट छोटो अवधिमा जनता निराश भएको जुन कुरा छ, यो निकै गम्भीर छ । हिजो जो आन्दोलन, त्याग र बलिदान गरेर आएका शक्तिहरु दुई तिहाइ बहुमतको सरकार हुँदा यसले उपलब्धिहरुको रक्षा गरेर जनतालाई थप परिवर्तनको सन्देश दिन सक्नुपथ्र्यो । त्यो नहुनु एउटा दुःख विषय छ ।

    तर, अब उहाँहरुलाई सरापेर बस्नुभन्दा पनि मेरोचाहिँ बुझाइ के हो भने उहाँहरु एक अर्थले थाक्नु पनि भो । संघर्ष र लामो जेलनेल भोगेका कारण मनोवैज्ञानिकरुपमा पनि विश्राम लिन खोजेको हुन सक्छ । दोस्रो- उहाँहरुको लड्ने भिड्ने जुन क्षमता थियो , त्यो क्षमताले मात्रै अबको समाज बदल्ने, आर्थिक सामाजिक रुपान्तरण गर्ने अनि विश्वको परिवर्तनको चाप र बदलिँदो स्वरुप र ज्ञानलाई पछ्याएर अगाडि बढ्ने क्षमता पुग्दैन । त्यो क्षमताको अभावले पनि यस्तो भएको हुन सक्छ । त्यसैले अब उहाँहरुलाई मात्रै दोष दिएर बस्नुभन्दा उहाँहरुले जुन कमी कमजोरी देखाउनुभएको छ, त्यसलाई सच्याउने ढंगले हामीले नयाँ शक्ति निर्माण गर्नुपर्छ । हामी अग्रगामी र प्रगतिशील विकल्प दिने ढंगले अगाडि बढ्नुपर्छ ।

    अब डा. भट्टराईसँग केही प्रश्नोत्तरः

    तपाईको विश्लेषणमा अबको ५ वर्षपछि नेकपाको बहुमत आउँछ कि आउँदैन ?

    नेकपा आफैं कहाँनेर अन्तरविरोधमा परेको छ भने कम्युनिष्ट पार्टीको ढाँचा नै केन्द्रीकृत हुन्छ । जनवादी केन्द्रीयता र अग्रदस्ताको अवधारणा भनेकै केन्द्रमुखी अवधारणा हो । हाम्रोजस्तो भर्खरै सामन्तवादबाट पुँजीवादतर्फ अगाडि बढिराखेको देशमा त्यो केन्द्रीयतावादी सोचले लोकतान्त्रिक चरित्र धेरै ग्रहण गर्न सक्दैन । यसले समाजमा लोबकतन्त्रको विकास गर्ने भन्दा पनि सत्तामा पुगेका मान्छेलाई अझ बढी भ्रष्ट बनाउने खतरा रहन्छ ।

    दोस्रो कुरा, नेपालजस्तो विभिन्न जातीय, क्षेत्रीय विविधता भएको मुलुकमा केन्द्रीयतावादी सोच रह्यो भने यसले समाजको विविधतालाई नस्वीकार्ने ढंगले जान्छ ।

    तेस्रो, आर्थिक हिसाबले पनि नेपाल लामो समयदेखि निर्वाहमुखी अर्थतन्त्रमा आधारित छ र यहाँ व्यक्तिको निजी उद्यमशीलताको विकास नभएको र बजारसँग अर्थतन्त्र नजोडिएको आदि कारणले गर्दाखेरि निजी उद्यमशीलता छैन । नेपालको राष्ट्रिय औद्योगिक पुँजीको विकासको आवश्यकता छ ।

    तर, परम्परागत कम्युनिस्ट विचारले राज्यले नै सबै हस्तक्षेप गर्ने कुरा गर्छ र निजी उद्यमशीलताको प्रवर्द्धन गर्दैन । यसले गर्दा नेकपामा दुई/तीनवटा गम्भीर प्रकारका अन्तरविरोधहरु रहेका छन् । यस अर्थमा यो नेकपाले संरचनात्मक ढंगले नै आफूलाई रुपान्तरण नगरेसम्म पुरानै ढाँचामा रहेर यसले देशका समस्याहरु हल गर्न सक्दैन । र, आगामी ५ वर्षसम्म यसभित्र अन्तरनिहीत जुन अन्तरविरोधहरु छन्, यिनै अन्तरविरोधहरुकै कारणले गर्दा यो आफैंभित्रबाट विघटनतिर जान्छ ।

    के त्यसपछि फेरि नेपाली कांग्रेस नै विकल्पका रुपमा सत्तामा आउँछ ?

    कांग्रेस त यो भन्दा पनि पुरानो विचारको भैहाल्यो । उसले व्यक्तिको निजी स्वतन्त्रता र लोकतन्त्रको जुन कुरा गर्छ, त्योदेखि बाहेक नेपाली समाजको अन्तरविरोधलाई हल गरेर अझै उन्नत दिशातिर जाने अनि विकास र समृद्धिको नयाँ सोच अगाडि सार्ने सम्भावना छैन । देशको विविधतालाई समेटेर उन्नत प्रकारको समावेशी लोकतन्त्रलाई संस्थागत गर्ने अनि भ्रष्टाचारमुक्त सुशासनयुक्त समाज स्थापना गर्नमा कांग्रेसको कुनै प्रोग्राम पनि छैन र यी विषयहरुमा ऊ असफल भएसकेको छ । त्यसैले नेपाली कांग्रेस अब कांग्रेसकै रुपमा विकल्प हुन सक्दैन ।

    कांग्रेस र कम्युनिष्ट ब्राण्ड जो हिजो थिए, अब त्यो ब्राण्डले काम गर्दैन । कांग्रेस र कम्युनिष्ट दुईवटै ब्राण्डबाट अब देशको समस्या समाधान हुन सक्दैन । नयाँ विकल्पतिरै समाज जान्छ । खाली यो विकल्प अग्रगामी प्रगतिशील विकल्प हुने कि कस्मेटिक खालको मात्रै वा दक्षिणपन्थी विकल्प हुने भन्नेमा मात्रै आगामी दिनमा बहस केन्दि्रत हुन्छ ।

    तर, विगतमा कांग्रेस र कम्युनिस्टले राम्रो काम नगर्दा दरबारिया शक्तिहरु आउने गरेका थिए, अब फेरि त्यो शक्ति आउँछ ?

    अब त सामन्तवादी युगै अन्त्य भइसकेको हुनाले कमल थापाको राप्रपा वा राजतन्त्र, हिन्दुत्व, संघीयताविरोधी एकात्मक राज्य जस्ता कुराहरु गरेर कुनै पनि शक्ति अगाडि आउन सक्दैन । सामन्तवादी युगको त अन्त्य नै भइसक्यो । अब को दक्षिणपन्थ कस्तो हुन्छ भने त्यसले खाली कस्मेटिकखालको मात्रै कुरा गर्ने ।

    तपाईले लक्षित गर्न खोज्नुभएको विवेकशील पार्टीलाई हो ?

    कसैको नाम त म लिन चाहन्न । तर, विचार, राजनीति र नीति-कार्यक्रममा केन्दि्रत नभइकन खाली धुलो र हिलोका कुरामात्रै गरेर मात्रै सही अग्रगामी विकल्प तयार पार्न सकिँदैन ।

    अहिलेको विकल्प लाखौं युवाहरु विदेशिनुपरेको छ, त्यसको विकल्प दिन सक्नुपर्छ । र, हिमाल पहाड तराईको जुन विविधता छ, तिनीहरुवीचको बलियो राष्ट्रिय एकता कायम गर्ने, समानुपातिक समावेशी प्रतिनिधित्व गराउने विकल्प दिन सक्नुपर्छ । यो नदिइकन जनताको भावनामात्रै दोहन गरेर दिने विकल्प नेपालको सन्दर्भमा दक्षिणन्थी र यथास्थितिवादी विकल्प हुन जान्छ ।

    तर, तपाईको नयाँशक्ति पार्टी त हराएजस्तो गुपचुप छ नि ?

    नयाँ शक्ति हराएको होइन, नयाँ विचार स्थापित हुनलाई अलिकति समय लाग्दोरहेछ । मानिसहरुले सुरुको चरणमा तत्कालै संरचनागत रुपमै ख्याल नगरी उम्लेको पानीको भुल्काजस्तै परिकल्पना गरियो । तयार नयाँ शक्ति त्यति सजिलै हुँदैन, यसले केही समय लिन्छ । हामी आगामी दिनमा वैकल्पिक शक्ति निर्माण गर्छौं ।

    अन्त्यमा, यो बिमस्टेक नामको संगठन सार्कलाई निस्तेज पार्न र पाकिस्तानलाई एक्ल्याउन अघि बढाइएको हो कि होइन ?

    सार्क र बिमस्टेक एक अर्काका निशेधार्थी, विपरीतार्थी होइनन् । सार्क भनेको दक्षिण एशियाको एउटा लामो परम्परा छ, यसको सांस्कृतिक र आर्थिक जुन सम्बन्धहरु जोडिएका छन्, त्यसहिसाबले यसलाई एउटा क्षेत्री इकाइका रुपमा विकास गर्ने अर्थमा ८० को दशकमा नै सार्कको अवधारणा आएको हो । त्यसैले सार्कको औचित्य सिद्धियो जस्तो लाग्दैन ।

    विश्वबाट हेर्दाखेरि पनि दक्षिण एशियालाई एएटा उपमहादेशका रुपमा नै मान्छेहरुले ग्रहण गर्न सक्छन् । यो एउटा छुट्टै सभ्यताको केन्द्र पनि हो । र, एउटा आर्थिक इकाइका रुपमा पनि यो अन्तरसम्बन्धित पनि छ । यस हिसाबले सार्कको औचित्य सिद्धिएको छैन ।

    सार्कमा रहेका केही देशहरु र त्यसको नेृतत्वले दुदर्शिता देख्न नसकेका कारणले यसको विकासमा अलि कमी आएको हो ।

    सार्कपछि जुन बिमस्टेकको अवधारण आएको छ, यो अलि बढी आर्थिक रुपमा नै केन्दि्रत छ । पछिल्लो समयमा पूर्वी एशिया, दक्षिणपूर्वी एशिया जसरी आर्थिक विकासका केन्द्रहरु बने, त्यसबाट लाभ लिने ढंगले विमस्टेकको अवधारणा आएको हो । त्यसैले बिमस्टेकलाई सार्कको विकल्प भन्दा पनि सार्कको पूरकका रुपमा लिनु उपयुक्त हुन्छ । तर, नेतृत्वस्तरमै बुझाइमा प्रष्टता नहुँदाखेरि सार्क पछाडि परेको र बिमस्टेक नै सबै थोक हो कि भन्ने ढंगबाट कुरा आएको छ, यो चाहिँ सत्य हुन्छ जस्तो मलाई लाग्दैन ।

    अनलाइन खबरबाट साभार,

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य