कुञ्जना चढ्न नपाउदै स्कुटर अघि बढाय तर धुर्मुसलाई थाहा भयन सुन्तली पछाडी छैनन् भन्ने कुरा

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, कार्तिक २, २०७४

    शिव मुखिया

    काठमाडौं । एउटा रमाइलो किस्सा, जुन कुनै लभस्टोरीमा आधारित चलचित्रको ‘सिक्वेन्स’जस्तै लाग्नसक्छ ।

    भ्यालेन्टाइनको दिन थियो । कठ्याँगि्रदा दिनहरुलाई भर्खरै विदाइ गरेर राजधानीले वसन्त ऋतुको आगमनमा न्यानो तापिरहेको थियो ।

    कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को विवाह भइसकेको थिएन । ती दिनमा सीताराम नयाँबानेश्वरनजिकै थापागाउँमा फ्ल्याट लिएर बस्थे । भाइ, बहिनी उनकै साथमा थिए ।

    ‘मेरो परिवारसँग बसेर रमाइलो गरौं,’ सीतारामले अफर गरे ।

    कुञ्जनाले उनको अफर सहर्ष स्वीकारिन् । योजना मुताबिक उनीहरु मासु किन्न बानेश्वरतिर हान्निए । एउटा गिफ्ट सपमा सीतारामको स्कुटर रोकियो, त्यहाँ आकर्षक ‘बेबी डल’ झुण्ड्याइयो थियो । बेबी डल भनेपछि कुञ्जनालाई औधी मनपर्ने । प्यारी लोभिएको देखेपछि सीतारामले त्यो खरिद गर्ने सोच बनाए ।

    ‘यसको कति ?’ सीतारामले सोधे ।

    ‘११ सय,’ पसलले भने ।

    कुञ्जनाले देखिन्, मूल्य सुनेपछि सीतारामको अनुहारमा खिन्नता पोखिएको थियो ।

    ‘अलि मिलाइदिनु न,’ कुञ्जनाले आग्रह गरिन् ।

    ‘ल, नौ सय दिनु न त,’ पसलेले भने ।

    तैपनि, सीतारामको अनुहार उज्यालो भएन । कुञ्जनाले बुझिन्, ब्वाइप|mेन्डको अवस्था । भाइबहिनीका साथ फ्ल्याट लिएर बसेको मान्छे । पारिवारिक जिम्मेवारी पनि होला ।

    ‘होस्, पर्दैन जाउँ,’ कुञ्जनाले सहजीकरण गरिदिइन् ।

    दुवै अगाडि बढे । अर्को गिफ्ट पसल अघिल्तिर सीतारामलाई स्कुटरमै छाडेर कुञ्जना भित्र पसिन् । सीतारामका लागि उनी गिफ्ट दिन चाहन्थिन् । तर के दिने ? उनले एउटा सरस्वतीको प्रतिमा देखिन्, त्यही खरिद गरिन् । ‘स्क्रप्ट लेख्नेका लागि यही नै उपयुक्त हुन्छ’ भन्ने उनलाई लाग्यो ।

    कुञ्जना गिफ्ट प्याक गरेर बाहिर निस्किइन् । झन्डै एक घण्टादेखि बाहिर सीताराम कुरिरहेका थिए ।

    ‘ल, अलि अगाडि जाऊँ न,’ कुञ्जनाले यति भनेर स्कुटर पछाडि बस्ने सुरसार गर्दागर्दै सीताराम अघि बढिहाले । कुञ्जना चढ्न नपाएको उनले भेउ नै पाएनन् ।

    त्यसै त चर्को रिस । अब कुञ्जनालाई के चाहियो ?

    भ्यालेन्टाइनको दिन, हातमा गिफ्टको झोला छ । मार्क्स लगाए पनि मान्छेले ‘सुन्तली’ भनेर चिनिहाल्ने । लाज र रिस मिसिएपछि उनलाई खपिनसक्नु भो ।

    कुञ्जना मुर्मुरिदै फ्ल्याटतर्फ हिँड्न थालिन् । कतिबेला हो, सीतारामले थाहा पाएछन् । उनी फर्किएर पूर्ववत् स्थानमा आए । हर्न बजाएर कुञ्जनालाई बोलाए ।

    ‘आऊ, बस न प्लिज,’ सीतारामले बिनम्रतासाथ भने ।

    ‘अहँ म बस्दिनँ,’ कुञ्जना ठुस्किएर हिँड्न थालिन् ।

    कुञ्जना अघिअघि, सीताराम स्कुटरमा पछिपछि । घुक्र्याउने र फकाउने सिलसिला नटुट्दै उनीहरु फ्ल्याटमा पुगे ।

    मनभित्र रिस उम्लिरहे पनि कुञ्जनाले आफूलाई थुमथुम्याइन् । भाइ, बहिनीका अगाडि रिस देखाएर भएन । खुशी नभए पनि खुशी भएको एक्टिङ गर्नैपर्‍यो । एक्टिङ गर्दागर्दै, उनी सेलाइन् ।

    सीताराम मासु किन्न पुनः बानेश्वरतर्फ गए । आउँदा उनको हातमा मासुसँगै, अघिकै बेबी डल थियो ।

    यो किस्साको क्लाइमेक्समा पुगेपछि कुञ्जना अलि भावुक भइन् । उनको आँखाको चेपमा आँसु रसाइरहेको थियो । आफूलाई सम्हालिन् ।

    ‘अहिले त्यही बेबी डल छोरीले खेलाइरहेकी छन्,’ उनले भनिन् ।

    बर्थ डेमा क्रिसमस गिफ्ट !

    सीतारामको एउटा बानी छ, कहिलेकाहीं पत्नीलाई ‘सरप्राइज’ दिने । एक पटक कुञ्जनाको जन्मदिनमा उनले त्यसै गरे ।

    कुञ्जना घरमै थिइन् । छायांकन सिध्याएर राति घर फर्किंदा सीतारामको हातमा गिफ्ट थियो । पत्नीलाई ‘सरप्राइज’ दिन पाएकामा उनी गमक्क थिए ।

    केक काटियो । अब पालो, गिफ्ट खोल्ने । र्‍यापिङ पेपरले जतनसाथ सजाइएको गिफ्ट खोलियो । जसै गिफ्ट देखिन्, कुञ्जनालाई रुँनु न हाँस्नु भयो । किनभने त्यो गिफ्टमा लेखिएको थियो, ‘ह्याप्पी क्रिसमस डे ।’

    ‘उहाँलाई केही किन्नै नआउने । सपिङ गर्नु भनेको त हिरासतमा जानु जत्तिकै गाह्रो मान्नु हुन्छ,’ कुञ्जनाले भनिन् ।

    मसाजको फसाद

    जन्मदिन सामान्य हिसाबले सेलिब्रेट गर्ने सोचेका थिए । दरबारमार्गस्थित होटेल उडल्यान्डको निम्तो आयो, ‘तपाईंहरुलाई एक दिन, एक रातको खानेबस्ने सबै बन्दोबस्ती हामीले गरिदिएका छौं ।’

    उनीहरु सानी छोरी च्यापेर दरबारमार्ग पुगे । त्यहाँ डिनर, लन्चका अतिरिक्त स्विमिङ, स्पा सबै सुविधा उपलब्ध थिए । अर्थात्, मनोरञ्जनको फुल प्याकेज ।

    बुढाबुढी चुपचाप बर्थ डे सेलिब्रेट गरिरहेका थिए, चिनेजानेका, हितैषीले थाहा पाइहाले । कोही बुके बोकेर ‘जन्मदिनको बधाइ’ भन्न आइपुगे, कोही गिफ्ट लिएर । सानोतिनो जमघट भयो । खाए, पिए । पालो भयो, स्विमिङको ।

    कुञ्जनाले आफू, छोरी र पतिका लागि कस्ट्युम खरिद गरेकी थिइन् । पौडिने बेलासम्म सीताराम फोनमै व्यस्त । सीतारामका लागि भनेर जोहो गरिएको कस्ट्युम त अर्की सहकर्मीले लगाएर पानीमा डुबुल्की मारे ।

    अब पालो स्पाको । साँझको समय, कुञ्जना-सीताराम स्पा रुममा प्रवेश गरिसकेका थिए । फुलबडी मसाजका लागि दुवै तयार भए । दम्पत्तिका लागि एकै ठाउँ भए फरक नपर्ने । तर फसाद पर्‍यो, मसाज गरिदिन त्यहाँ युवतीहरु तैनाथ थिए ।

    कुञ्जनालाई समस्या भएन । सीतारामलाई पो ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार’झैं भयो । युवतीले सीतारामलाई मसाज गरिरहँदा कुञ्जनालाई चैन हुने कुरै भएन । उनलाई मसाजले ‘रिल्याक्ससेसन’ होइन, ‘टेन्सन’ पो दिएछ ।

    ‘मलाई सहनै गाह्रो भयो,’ कुञ्जना बेस्सरी हाँसिन्, ‘धत्, बित्थामा स्पा लिइएछ भन्ने भयो । के गरौं, कसो गरौं भयो । तर गर्ने के !’

    अचेल बुढाबुढीको ठाकठुक पर्‍यो भने सीताराम घुर्कीको भाषामा ठट्टा गर्छन् रे, ‘फेरि मसाज गर्न जान्छु नि ।’

    धुर्मुसको चर्तिकला

    एकपटक सीतारामले उल्कै गरे ।

    भयो के भने एक बिहान बाँकी रहेको खाना कुञ्जनाले हटकेसमा राखेकी थिइन् । प्रायः सीतारामलाई खाजामा थोरै भात भए पुग्ने । अरु खासै नखाने । कहिलेकाहीं बाँकी रहेको खाना उनकै लागि भनेर राखिदिने गरेकी थिइन् ।

    मध्यान्ह कतिबेला हो सीताराम भान्सामा पसेछन् । भात तताएछन् । भात मात्र तताएको भए हुन्थ्यो, हटकेस नै चुलोमाथि राखेछन् । भात तात्नुअघि हटकेस तात्यो । पग्लियो ।

    सीतारामले त्यो भात खाए कि खाएनन् ? कुञ्जनालाई थाहा भएन । तर, राति घर फर्केपछि कसोकसो डस्टबिनमा केही देखिन् । प्लास्टिकमा र्‍याप गरेर केही चिज मिल्काइएको थियो ।

    कुञ्जनाले बाहिर निकालिन्, त्यो पग्लिएर कामनलाग्ने भइसकेको हटकेस थियो । बिहान सग्लो राखेको हटकेस राति त्यो हालतमा देख्दा उनको पारो तात्यो ।

    सीतारामका यस्तै हर्कतले बेलाखबत कुञ्जानाको रक्तचाप बढाइरहन्छन् । कहिले भान्सामा खानेकुरा छरपस्ट पारिदिन्छन् । कहिले ओछ्यानमा भुतभुते खेलेजस्तै लथालिंग बनाइदिन्छन् । कहिले जुत्ता खोलेर एकातिर, मोजा अर्कोतिर मिल्काइदिन्छन् ।

    सीतारामको बानीले कुञ्जना हैरान हुन्छिन् । किनभने, कुञ्जनाको बानी ठ्याक्कै उल्टो छ । उनलाई हरेक सामान चिरिच्याँट्ट हुनुपर्छ । जुन सामान जहाँ राखिएको हो, त्यही हुनुपर्छ । जसरी राखिएको हो, त्यसरी नै राखिएको हुनुपर्छ । उनी सानैदेखि यस्तै थिइन् । त्यही कारण घरमा उनलाई ‘अलि कडा छे’ भन्थे, बाआमा ।

    छोरी कडा नै हुन् । त्यही भएर अचेल सीताराम थर्कमान छन् । उनी सकेसम्म घरको सामान यताउता गर्दैनन् । कहिलेकाहीं कुञ्जनालाई रिस उठाउनु पर्‍यो भने गल्र्याम्म ओछ्यानमा पल्टिएर चलमलाउँछन् ।

    बिहान कुञ्जनासँगै सीताराम पनि भान्सामा पुग्छन् । खाना पकाउन सघाउँछन् । तर, उनले जति सघाउँछन्, त्यसभन्दा बढी बिगार्छन् । भाँडावर्तन छरपस्ट पार्छन् । उति नै जुठो बनाउँछन् । एकातिर एउटा सामान राखेर अर्कोतिर खोजिरहेका हुन्छन् ।

    यही कारण कुञ्जनाले उनलाई सीमित भूमिका दिएकी छन् । अर्थात्, डाइनिङ टेबलमा बस्ने, तरकारी केलाउने र गफ सुनाउने ।

    लभ विथ बेड टी

    ‘ल तात्तातो चिया खाउँ’

    सीतारामको हातमा दूध चिया हुन्छ, आफैंले तयार गरेको । घरमा भएका बेला सीतारामलाई चिया बनाउन जाँगर चल्छ । आफ्ना लागि ब्ल्याक टी, कुञ्जनालाई मिल्क टी ।

    पतिले प्रेमपूर्वक ओछ्यानमै टक्रयाएको चिया सुरुप्प पारेर कुञ्जनाको ‘शुभ बिहानी’ सुरु हुन्छ ।

    कुञ्जनाले कहिल्यै भनिनन्, ‘मेरो निम्ति चिया बनाउनु ।’ सीताराम आफैंले यो सिलसिला सुरु गरेका हुन् । बिहे गरेकै दिनदेखि । सीतारामको स्वभाव अरुलाई खुशी देख्न चाहने । यो स्वभाव उनको पिताजीबाट जस्ताको तस्तै सरेको रे ।

    परिवारका सदस्यको अनुहारमा खुशी देख्न पाए उनलाई पुग्छ । बिहान चिया बनाएर ओछ्यानमै टक्र्याउन पनि उनको यही मनोविज्ञानले काम गरेको हो । सीताराम यस्तै, यस्तै गरेर कुञ्जनलाई अप्रत्यासित खुशी दिन चाहन्छन् ।

    जति टाढा, उति गाढा

    करिअरको पूर्वार्द्धमा उनीहरु कलाकार जोडी भए । सुटिङमा एकसाथ, स्त्रिmनमा एकसाथ । यही निकटताले प्रेमी-प्रेमिका भए । मञ्चमा एकसाथ, टीभीमा साथसाथ । त्यसपछि बिहे गरे । घरमा एकसाथ, फिल्डमा एकसाथ । उनीहरु कहिल्यै छुट्टएिनन् ।

    जब कुञ्जना गर्भवती भइन्, उनले कामबाट विश्राम लिनुपर्ने भयो । त्यसबेला सीताराम विदेशको कन्र्सटमा जानुपर्ने भयो । पहिलो पटक उनीहरु अलग भए ।

    एक्लिएर जानुपर्दा सीतारामका पाइला गह्रौं भए । सीतारामबिनाको घरमा एक्लै बस्नुपर्दा कुञ्जनालाई पनि भक्कानो छुट्यो । छुट्टनिुअघि दुवैले एकअर्कालाई जोडले अँगालो हाले र बेस्सरी रोए ।

    राति कुञ्जनालाई निन्द्रा लागेन । उता जहाजमा सीतारामलाई पनि त त्यस्तै भएको हुँदो हो । त्यसै त, हवाइजहाज चढ्न भनेपछि सीतारामलाई डर लाग्ने, कुञ्जनासँगै चढ्न पाउँदा मात्र अलि ढुक्क मान्ने । प्यारीबाट एक्लिएर आकाशमाथि सयर गरिरहँदा उनी चैनले निदाउन सकेनन् ।

    रुन त उनीहरु थुप्रै पटक रोए । कहिले अभाव, समस्याले रोए, कहिले अलग हुनुपर्दा ।

    एकपटक कुञ्जनालाई यसै चित्त दुख्यो । बेस्सरी रोइन् । भर्खरै विवाह गरेर पराई घर भित्रिएकी उनी । सोचेजस्तो सबै कुरा ठीकठाक भएन । उनको अपेक्षा बढी भयो सायद ।

    कुञ्जना बेड रुममा गएर एक्लै बसिन्, बैठक कोठामा सीताराम । यसअघि उनीहरु यसरी अलग भएकै थिएनन् । दुवै निदाउन सकेनन् । औडाहा थियो । सधैं हँसीमजाक हुने कोठामा सन्नाटा थियो । चिसो र सुनसान रातमा उनीहरुको मन बेचैन थियो ।

    ठीक त्यहीबेला घरबेटीको परिवारमा महाभारत मच्चियो । छोरा, बुहारी, सासु आपसमा झगडा गर्न थाले । उनीहरुको चर्काचर्कीले सीताराम र कुञ्जनाको मौनता खलबलियो । आ-आफ्नो ढोका खोलेर माथितिर चियाउन थाले । दुवैको आँखा जुध्यो ।

    फेरि कुञ्जना बेडरुममै फर्किइन् । सीताराम आए, कुञ्जनालाई बोकेर बैठक कोठामा पुर्‍याए । सोफामा राखे र एकदमै मायालु भावमा यति भने, ‘सरी ।’

    कुञ्जनाको मन पग्लियो ।

    कुञ्जना र सीताराम दुवैको मन औधी कमलो । सानो कुराले बिझाइहाल्ने, सानो कुराले रुवाइहाल्ने ।

    एकीकृत बस्ती बनाउन तात्तिएका बेला पैसा सकियो । यो उनीहरुको पहिलो प्रोजेक्ट थियो । कसैले पत्याएका थिएनन् । त्यसैले पैसा जुट्ने र जुटाउने काम पहाड फोर्नुसरह थियो ।

    झमझम पानी परिरहेको बेला उनीहरु पालमुनि थिए ।

    ‘घर बेचौं र यहाँ नपुगेको खर्च जुटाऔं,’ कुञ्जनाले मसिनो स्वरमा भनिन् ।

    कलाकारिता गरेर दुःखले उनीहरुले घर जोडेका थिए, काठमाडौंमा । त्यही घरमा उनीहरुले थुप्रै चिसा रात कटाएका थिए । त्यसरी जोडेको घर बेच्न समेत पत्नीले कञ्जुस्याइर्ं नगरेपछि सीतारामले मन थाम्नै सकेनन् । कुञ्जनालाई अँगालो हाले । त्यतिबेला दुवैको आँखा रसाएका थिए ।

    पत्नीले पतिलाई घर जोड्न करबल गर्छन् । तर, एउटी पत्नी स्वयं पतिको सपना पूरा गर्न, प्रतिष्ठा बचाउन आफ्नै घर बेच्न अग्रसर हुन्छिन् भने त्यसले कुन श्रीमान्को मन नपग्लिएला र !

    ‘हामीमा यसरी एकअर्कालाई बुझ्ने मन छ,’ कुञ्जनाले भनिन्, ‘त्यही भएर हामी सधैं खुशी र सुखी छौं ।’

    कुञ्जना र सीतारामको कतिपय आनीबानी मिल्दैन । बिचार र सोचमा पनि एकरुपता हुँदैन । तर, त्यसमा कसैले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ गर्दैैनन् । किनभने, हरेकको आ-आफ्नै स्वभाव हुन्छ । आनीबानी हुन्छ । आफू जस्तो छौं, पार्टनर पनि त्यस्तै हुनुपर्छ भन्ने छैन । आफूले जे सोच्छौं, पार्टनरले त्यही सोच्नुपर्छ भन्ने छैन । यस्तै समझदारीले त हो, धुर्मुस-सुन्तलीको मन जोडिएको ।onlinekhabhar बाट साभार

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य