चुनाव निजिकै प्रचण्डको नतिजा निस्कर्ष ‘चितवनमा ९ का ९ वामगठबन्धनले जित्छ'(पढ्नुहोस)


  • -लालिगुराश सम्बाद दाता
  • सोम, मंसिर १८, २०७४

    भरतपुर– चितवनको भरतपुर नगरपालिका–१४ स्थित शिवनगरको लाहुरे चोकमा पुग्दा माओवादी अध्यक्ष प्रचण्डमाडी जाने हतारमा थिए । एमाले अध्यक्ष केपी ओलीसमेतलाई उतारेर विक्रम पाण्डेले आफ्नो ‘गढ’ दाबी गर्दै आएको माडीमा धक्का दिन खोजेका प्रचण्ड ‘ल, छोटो गरौँ है’ भन्दै रातोपाटीसँग कुरा गर्न तयार भए ।
    आर्थिक संवृद्धि र विकासका लागि चितवन–३ बाट चुनाव लडेको भाषण गर्दै आएका प्रचण्डले चितवनमा थुप्रै विकासे सपना बाँडेका छन् । माडी नगरपालिकामा रहेका ठाडा खोलाहरूमा तटबन्धदेखि चितवन राष्ट्रिय निकुञ्ज आसपासमा फाउन्डेसनसहितको मेस जाली र सुरुङमार्गका कुरा आजभोलि उनको भाषणमा छुट्दै नछुट्ने विषय हुन् ।
    आफ्ना प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेलाई ‘राजनीतिक प्रतिद्वन्द्वी नै हैन’ भनेका प्रचण्डले चितवन–३ बाट सजिलै चुनाव जित्न दाबी गरेका छन् । ‘विक्रम पाण्डेले पैसाको बलमा दुई–चार भोट प्राप्त गर्लान् त्यो कुरा त चाहिँ बुझ्न सकिन्छ’ उनले भने– ‘तर चुनाव मैले सजिलै जित्छु ।’
    २०७० सालको चुनावमा सोही क्षेत्रबाट जित हासिल गरेका विक्रमलाई कमजोर आँकलन गरेका प्रचण्डसँग निर्वाचनको सेरोफेरोमा केन्द्रित भएर हामीले छोटो अन्तर्वार्ता लिएका छौँ ।

    प्रस्तुत छ, रातोपाटीका लागि राजेश भण्डारीले माओवादी अध्यक्षसँग गरेको कुराकानीको सम्पादित अंश :

    चितवनको मैदानमा पहिलो पटक चुनावमा उत्रिनुभएको छ, कस्तो फिल गर्दै हुनुहुन्छ ?

    मैले यहाँ भावनात्मक रूपले बडो सहज र स्वाभाविक महसुस गरेको छु । म आफू हुर्केको यहीँ पढेको राजनीति पनि यहीँ सिकेको सबै पुराना साथी भाईहरू आफ्ना सवै दाजुभाई दिदीबैनीहरू भेट्दा खेरी एउटा फरक सेन्टिमेन्ट चाहिँ मैले महसुस गर्नु स्वभाविक नै हो ।

    जनताले पनि पहिल्यैदेखि प्रचण्ड चितवन आउनुपथ्र्यो भन्ने चाहना व्यक्त गरेका छन्, तर मैले जब यो व्याख्या गरेँ कि, जब अरू कारणले पहिला रोल्पा–काठमाडौँ, काठमाडौँ–सिराहा गर्नुपरेको हो । अबचाहिँ विकास र संवृद्धिका लागि चितवनमा आएको छु भन्दा जनताले पनि त्यसलाई बढो खुसी र उत्साहको साथ ग्रहण गरेको मैले महसुस गरेको छु ।

    तपाईंंले चितवन रोज्नुको कारण चाहिँ के हो ?

    यो त एकदम सीधा कुरा छ, एउटा त यो मेरो गृहजिल्ला हो । आज प्रचण्डको नाम देशमा र विश्वभरि पनि जे छ, त्यसको पहिलो ऋणी त म चितवनको जनताकै छु । यहीँको जनताले मलाई प्रचण्ड बनाए । त्यसकारण एउटा त त्यो ऋण तिर्ने मेरो जिम्मेवारी छ, चितवनको विकास र संवृद्धिमा योगदान गरेर । त्यसकारण म चितवन आएको छु ।

    दोस्रो, विकासको प्रचुर सम्भावना भएको जिल्ला हुनाले देशभरिका लागि एउटा नयाँ मोडेल प्रस्तुत गर्न सकिन्छ । देशभरिका लागि मोडेल हुनसक्ने जिल्ला छानेर पनि म चितवनमा छु ।

    चुनाव जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
    म विश्वस्त नै छु । अहिलेसम्म जे देखिएको छ, जनताको आम सेन्टिमेन्ट भनौँ, आम चाहिँ मत जे देखिएको छ, त्यो चाहिँ वाम गठबन्धनको सबैको जितलाई, मेरो मात्रै कुरा हैन, चितवनमा ९ का ९ वाम उम्मेदवारहरू जित्ने सुनिश्चत भएको देखेको छु ।

    चितवन–३ को हकमा कुरा गर्दा तपार्इंका प्रतिस्पर्धी विक्रम पाण्डे चाहिँ पहिले पनि जितेका, अहिले पनि काङ्ग्रेसको समर्थमा चुनावी मैदानमा हुनुहुन्छ ? तपाईंंले कत्तिको सकस महसुस गर्नुभएको छ ?

    मैले त्यस्तो केही पनि फिल गरेको छैन । क्षेत्र नम्बर ३ मा मैले डे वानदेखि नै राजनीतिक प्रतिद्वन्द्वी नै छैन भन्ने महसुस गरेको छु । किनभने नेपालको राजनीतिक परिवर्तनको निम्ति, सामाजिक न्यायको निम्ति र संवृद्धिको निम्ति मैले, मेरो पार्टीले र वाम गठबन्धनले जे–जस्तो योगदान गरेको छ, त्यो तुलना विक्रम पाण्डेसँग हुने कुरै होइन । त्यसकारण राजनीतिक प्रतिद्वन्द्वी उनी हुँदा पनि होइनन् । त्यस अर्थमा मैले प्रतिद्वन्द्वी छैन तीन नम्बरमा भनेको पनि छु । अब उनले पैसाको बलमा दुई–चार भोट प्राप्त गर्लान्, त्यो कुरा त चाहिँ बुझ्न सकिन्छ ।

    तर, हिजो एउटा परिस्थितिमा उनले यहाँ निर्वाचन जितेका हुन् । अहिले हामी वामगठबन्धन बनाएर र म पहिलोचोटि जसरी आएको छु, जुन सन्दर्भ र पृष्ठभूमिसहित, त्यस हिसाबले हेर्दा यो कुनै चुनौती जस्तो मैले महसुस गरेको छैन ।

    तपाईंंसँग चुनाव जित्ने आधारहरू के–के छन् ?
    आधारै मात्रै त छन् । मैले चुनाव जित्ने आधारबाहेक अरू केही पनि छैनन् । किनभने मैले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको निम्ति, शान्ति सम्झौतालाई एउटा निष्कर्षमा पुर्याउनका निम्ति म चितवनको जनप्रतिनिधि नहुँदा पनि चितवन जिल्लाको विकास र संवृद्धिका लागि मैले गरेका योगदानहरू धेरै भन्नु पर्दैन ।

    शक्तिखोरको औद्योगिक क्षेत्र या भरतपुरको प्रदर्शनी केन्द्र वा चितवनको रङ्गशाला अनि केही बाटाहरूलाई पिच गराउन मैले जे कन्ट्रिब्युट गरेँ, यहाँको जनताको विकास र संवृद्धिका लागि प्रचण्ड आउनुपर्छ भन्ने जोडदार माग पहिल्यैदेखि थियो ।

    त्यसमाथि म दुई चोटि प्रधानमन्त्रीको हैसियतले देशको सेवा गरिसकेको छु, र पछिल्लो पटक मैले प्रधानमन्त्रीको हैसियतमा जनताले देख्ने बुझ्ने गरी नेपालमा मात्र हैन विश्वले देख्ने गरी साढे सात प्रतिशतको आर्थिक वृद्धिदर तराई मधेस, पहाड, हिमलालाई एकताबद्ध गरेर निर्वाचनतिर लैजाने प्राप्त गरेको सफलता, उज्यालो नेपाल लोडसेडिङ अन्त्य गर्ने दिशामा प्राप्त सफलता, छिमेकीहरूसँग सन्तुलित सम्बन्ध निर्माणमा प्राप्त गरेको सफलता चितवनको जनताले राम्रो बुझेका छन् ।
    यी आधारहरू चुनाव जित्नका लागि पर्याप्त छन् भन्ने मलाई लाग्छ ।

    तपाईंले आकाशे पुल, सुरुङमार्ग, माडीका ठाडा खोलाहरूमा तटबन्ध, निकुञ्जका वन्यजन्तुको आतङ्क रोक्न मेसजाली निर्माणको जो महत्वकाङ्क्षी सपना देखाउनुभएको छ, कसरी पूरा गर्नुहुन्छ ? नेपालको बजेटरी सिस्टम अनुसार ती योजना पूरा गर्न त वर्षौं लाग्छ ?

    अब एउटा कुरा त, नारायणी र राप्तीमा तटबन्ध र रिङरोडको कुरा त अघि बढी नै सकेको छ । अस्ति भर्खरै हाम्रो सहरी विकास मन्त्रालय हुँदा भरतपुर महानगरपालिकासँग समन्वय गरेर त्यो प्रक्रिया त अगाडि गइसक्यो । त्यसकरण अब पाँच वर्षभित्र त्यो काम पूरा गर्ने उद्देश्यको साथ अगाडि जाने भनिएको छ । यो असम्भव कुरा हैन, सम्भव मात्रै हैन कि काम सुरु भइ नै सक्यो, यो प्रक्रिया अगाडि बढी नै सक्यो ।

    अब फाउन्डेसनसहितको मेसजाली त्यति ठूलो प्रोजेक्ट हैन । जनताले जसरी जङ्गली जनावरबाट प्रताडित हुनुपरेको, जनधनको जसरी क्षति भएको छ, त्यसलाई रोक्नका लागि वामपन्थीको बलियो सरकारले बजेटरी व्यवस्था सजिलै गर्नसक्छ भन्ने मेरो विश्वास छ ।

    अब सुरुङमार्ग पक्कै अलि महत्वकाङ्क्षी प्रोजेक्ट त हो, तर त्यो असम्भव हैन । ६ किलोमिटर सुरुङमार्ग बनायो भयो चितवनको माडी र चितवन पनि युनिफाइड र कम्प्याक्ट इकोनोमिक जोन हुनसक्छ । यसबाट सिङ्गै चितवनको कायापलट गर्न सकिन्छ । त्यो अलि बहुवर्षीय योजना होला, एक–दुई वर्षमा नसकिएला तर त्यो काम अगाडि बढ्दा केही वर्षभित्र त्यो पूरा हुन्छ ।

    चितवनमा सुकुम्बासीको समस्या धेरै नै रहेको पाइयो, तपाईंले भाषणको क्रममा पनि क्याबिनेटको पहिलो बैठकबाटै लालपुर्जा दिने निर्णय गराउँछु भन्नुभयो, भाषणमा जस्तो त्यति सजिलै लालपुर्जा दिन सकिन्छ ?

    मैले अस्ति पनि चितवनका केही ठाउँमा सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको हो । अन्यत्र पनि लालपुर्जा वितरणको तयारी गरेको हो तर सुकुम्बासी समस्याको समाधान लालपुर्जा मात्रै होइन भन्ने कुरा पनि मैले भनिराखेको छु ।

    जहाँ सम्भव छ, वर्षौंदेखि बसेका छन् किसानहरूको त्यसबाट रोजगारी चलेको छ भने त्यहाँ लालपुर्जा दिने नै हो । लालपुर्जा वितरण गर्ने काम सुरु गरिन्छ भनेर मैले भनेको छु तर सुकुम्बासीको समग्र समस्या लालपुर्जा बाट मात्रै सम्भव हुँदैन् ।

    औद्योगिक क्षेत्र, रोजगारीका अन्य अवसरहरू सृष्टि गरेर अनि उनीहरूलाई बस्नका लागि राज्यद्वारा नै विषेश व्यवस्था गरेर यो समस्याको स्थायी समाधान गर्नुपर्छ । कतिपय चाहिँ फेरि स्थानान्तरण गरेर पनि गर्न सकिन्छ । जस्तो बाँदरझुलामा अस्ति हामी गयौँ । त्यहाँका किसानहरूको समस्या हेरियो । त्यहाँ हामीले लालपुर्जा वितरण गर्दा पनि किसानहरूमा सुरक्षित हुन्छौँ भन्ने विश्वास छैन । त्यहाँको बाढी, पहिरो सबैले गर्दा त्यो गाउँ जहिले पनि खतरामा हुने उहाँहरूले महसुस गर्नुभाछ । त्यस्तो स्थितिमा चाहिँ एउटा वैकल्पिक व्यवस्था स्थानान्तरण हुन्छ । अन्य ठाउँमा स्थानान्तरण गर्ने लगायतका यी दुई–तीनवटा उपायबाट सुकुम्बासी समस्या समाधान गर्ने कुरा हामीले गरेका छौं ।

    बाँदरमुढे पीडितहरू अहिले पनि माओवादीप्रति नकारात्मक छन्, केही दिनअघि तपाईं त्यहाँ पुग्दा न तपाईंले भेट्न खोज्नुभो न उनीहरूले भेटे, युद्धको अवशेषका रूपमा रहेको त्यो घाउमा मल्हमपट्टि चाहिँ कसरी लाउनुहुन्छ ?

    मैले अस्ति माडी जाँदा त्यहाँको सभामा मैले सम्बोधन गरेको छु । हाम्रो तर्फबाट भएको गल्तीका बारेमा पनि र त्यहाँका पीडितहरूलाई राहतको लागि हामीले गरेका पहलहरू र आउने दिनमा गरिने पहलको बारेमा पनि मैले बताएको छु, माडीका जनतालाई ।

    पीडितहरूसँग मेरो अस्ति भेट हुने मौका त मिलेन तर पार्टीका साथीहरू लगातार कुराकानीमा हुनुहुन्छ । सम्भवतः आज भेट पनि हुनसक्छ । यो समस्यालाई सकारात्मक ढङ्गले उहाँहरूले नै केही मागहरू अघिसारेर मैले त्यहाँ प्रतिबद्धता व्यक्त गरेपछि यो समस्या झन् सकारात्मक र उत्साहवद्र्धक ढङ्गले टुङ्गिने आशा मैले गरेको छु ।

    (रातोपाटीसँगको अन्तर्वार्ताको केही घण्टापछि नै प्रचण्डले बादरमुढे पीडितसँग भेट गरेका छन्, माओवादी अध्यक्ष प्रचण्ड र बाँदरमुढे पीडित परिवारको बीचमा तीनबुँदे सहमतीमा हस्ताक्षर भएको छ ।)

    चितवनकै कर्णाली जस्तो देखिने बाँदरझुलाबासी, जसका लागि जनावर मात्र हैन, राज्य नै बैरी जस्तो छ । उनीहरूले सन्तुष्टिको सास फेर्न चाहिँ कहिलेदेखि पाउँछन् ?
    मैले अघि नै भनेँ बाँदरझुला म गएँ । त्यहाँका किसानहरूको समस्या सुनेँ, आफ्नै आँखाले हेरेँ पनि त्यहाँको स्थिति । अब बाँदरझुलाका जनताको समस्याको स्थायी समाधानका लागि स्थानान्तरण र अर्को वैकल्पिक व्यवस्थापन नै मुख्य समाधान हो भन्ने मैले ठानेको छु ।

    अन्त्यमा, तपाईंका प्रतिस्पर्धी विक्रम पाण्डेले दुई दिनअघि एउटा लामो भिडियो अन्तर्वार्तामा ‘चुनाव के हो, प्रचण्डले यस पटक थाहा पाउँनेछन्’ भनेका छन्, के उत्तर दिनुहुन्छ ?
    अँ, मैले थाहा पाइराख्या छु ।
    रातोपाटीबाट साभार

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य