वाइड बडी विमान खरिद प्रकरणमा भएको आर्थिक अनियमितताको नैतिक जिम्मेवारी लिँदै रवीन्द्र अधिकारीले राजीनामा दिनुपर्छ : रमेशजंग रायमाझी

  • -लालिगुराश सम्बाद दाता
  • बुध, पुस २५, २०७५

    नेपाली कांग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको राजीनामा माग गरेको छ।

    राष्ट्रिय सभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्यहरूले वाइड बडी विमान खरिद प्रकरणमा भएको आर्थिक अनियमितताको नैतिक जिम्मेवारी लिँदै विभागीय मन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन्।

    नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले विभागीय मन्त्रीले राजीनामा गरेर भ्रष्टाचार छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सघाउनुपर्ने बताए।

    उनले २ सय ४२ मेट्रिकटन तौलको विमान ल्याउनुपर्नेमा २ सय ३० मेट्रिकटन तौलको मात्रै विमान खरिद गरेर सिधा सिधा भ्रष्टाचार गरिएको भन्दै वाइड बडी विमान खरिद प्रकरणमा भएको अनियमितताको सत्यतथ्य छानबिनका लागि तत्काल पर्यटनमन्त्री अधिकारीले राजीनामा गर्नुपर्ने माग गरे।

    विभागीय मन्त्रीले पनि जिम्मेवार नबनी विमान खरिद प्रकरणका बारेमा फरक फरक मत दिई हल्का ढंगले प्रस्तुत हुने काम भएको भन्दै उनले पर्यटन मन्त्रीले राजीनामा गरेर अख्तियारलाई छानबिन गर्न बाटो खुला गरिदिनुपर्ने बताए।

    संसदीय उपसमितिले आफ्नो प्रतिवेदन पूरा गर्न नपाउँदै सरकारले हतासमा छुट्टै जाँचबुझ समिति बनाउनुले सरकारको नियत खराब देखिएको स्पष्ट भएको उनले टिप्पणी गरे।

    उनले विभागीय मन्त्रीले सदनलाई गुमराहमा राख्ने, ढाट्ने काम गरेको दाबी गरे।

    वर्तमान सरकार गठन भए लगत्तै निर्मला पन्तको हत्या, ३३ किलो सुन काण्ड तथा छिटो निर्माणका कामहरू सम्पन्न गर्ने नाममा ठेकेदारहरूलाई नियन्त्रणमा लिने थुन्ने लगायत काण्डै काण्डै भएको भन्दै उनले वाइड बडी विमान खरिद प्रकरण पनि त्यसैको निरन्तरता भएको टिप्पणी गरे।

    यस्तै, नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य धनकुमारी खतिवडाले सरकारले कानुनी राज्यको खिल्ली उठाएको र कानुनी राज समाप्त पार्ने तर्फ उन्मुख भएको आरोप लगाइन्।

    वाइड बडी विमान खरिद सम्बन्धमा संसदीय उपसमितिले अध्ययन गरिरहेकै समयमा सरकारले छुट्टै जाँचबुझ कमिटी गठन गर्नु सरकारको हतास मनस्थिति भएको भन्दै यसले सरकार थप निरंकुशतातर्फ जान लागेको त होइन भन्ने प्रश्न उब्जाएको टिप्पणी गरिन्।

    उनले भनिन्, ‘वाइड बडी काण्डमा सरकार जवानी बसिदिने तर त्यही सरकारको नेतृत्व लिएर जाने विभागीय मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्दैन? भनी प्रश्न गरिन्।अनियमितताको कुरा उठिसकेपछि पनि अन्तिम किस्ता पठाउने मन्त्रीले त्यसको जिम्मेवारी लिनुनपर्ने ?’ जेलमा बसेकालाई प्रधानमन्त्रीको आदेशमा सभामुखले सांसद पदको सपथ खुवाउनुले संसदमा सरकारको हस्तक्षेपलाई प्रमाणित गरेको तर्क उनले गरिन्।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य