प्रकाण्डलाई गरे विप्लवको कडा प्रश्न – बाबुराम भट्टराईको सहयोग लिनु आवश्यक छ ?

  • -लालिगुराश सम्बाद दाता
  • सोम, पुस ३०, २०७५

    काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एक साताअघि स्थायी कमिटीको बैठक बस्यो ।बैठकमा पार्टी प्रवक्तासमेत रहेका खड्गबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउ र रिहाइको विषयलाई लिएर चर्को बहस भयो ।

    बहसको विषय मुख्य थियोे– पार्टीका दस्तावेज बाहिर सार्वजनिक भएको प्रशङग । प्रकाण्ड प्रक्राउ परेपछि पार्टीका दस्तावेज बाहिर सार्वजनिक भएका थिए । बैठकमा धेरै नेताको प्रश्न र त्यसको जवाफ प्रकाण्डसँग जोडिएका थिए ।

    बैठकमा विप्लवलगायतका नेताहरूले ‘पार्टीका गोप्य दस्तावेज’ कसरी बाहिर सार्वजनिक भए भन्दै प्रकाण्डसँग त्यसको जवाफ मागेको एक नेताले बताए ।

    त्यस्तै प्रकाण्ड रिहाइ हुने समय उनले पार्टीमा कुनै परामर्शबिना व्यक्तिगत पहलमा रिहाइ भएको भन्दै प्रकाण्डको आलोचनासमेत भएको ती नेताले बताए ।

    ‘पार्टीसँग समन्वय नगरिकन आफ्नो व्यक्तिगत निर्णयले सरकारसँग वार्ता गर्ने जुक्ति लगाएर उहाँ रिहा हुनुभयो । उहाँको रिहाइमा पार्टीसँग कुनै परामर्श भएन, ती नेताले भने, ‘झुक्कायो भनेर अहिले सरकारका मान्छे पनि असतुष्ट छन् । यता विप्लव कमरेडलगायत अन्य नेताहरू पनि असन्तुष्ट हुनुहुन्छ ।’

    यसअघि नेकपामा प्रकाण्डको पक्राउलाई लिएर पनि पार्टीभित्रैबाट प्रश्न उठेको थियो । पार्टी मूल नेतृत्वको निर्देशनविपरीत प्रकाण्ड काठमाडौँ आएर प्रक्राउ परेको आशङ्का नेतृत्वले गरेकोे थियो ।

    ‘पार्टी महासचिवले तपाईं अहिले राजधानी नजानुस् भन्नुभएको रहेछ । त्यो पनि एक पटक होइन, तीन–तीन पटक । नेतृत्वको सुझावलाई बेवास्ता गरेर प्रकाण्ड कमरेड काठमाडौँ आउनुभएको रहेछ’, ती नेताले भने, ‘त्यहीबेला उहाँ पक्राउ पर्नुभयो । पाटीभित्र उहाँको पक्राउलगायतका विषयलाई लिएर पनि केही आशङ्का थिए ।’

    प्रकाण्ड साउन २२ गते काठमाडौँबाट प्रक्राउ परेका थिए भने असोज ९ गते रिहा भएका थिए ।

    बैठकमा प्रकाण्ड रिहाइ हुने समय पार्टीका नेताहरूभन्दा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईको सहयोग लिएको भन्दै प्रकाण्डको आलोचना भएको थियो ।

    ‘पहिला पार्टी नेतृत्वले भनेको मान्नुभएन । पछि पक्राउपरेपछि रिहाइ हुनकै लागि उहाँले पार्टीभित्र भन्दा बाहिरका व्यक्तिहरूसँग परामर्श र सहयोग लिएको विप्लव कमरेडलाई सूचना पुग्यो । प्रकाण्ड कमरेडको यस्ता क्रियाकलापले विप्लव कमरेड असन्तुष्ट हुनुहुन्थ्यो । ती नेताले भने, ‘प्रकाण्ड कमरेडले आफू रिहाइ हुन बाबुरामको सहयोग लिनुभयो । उहाँहरूको परामर्शपछि नै बाबुराम संसदमा बोल्नुभएको हो ।’

    प्रकाण्ड पक्राउ परेपछि संसदमा विशेष समय लिएर भट्टराईले विप्लव नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न माग गरेका थिए । उनले अदालतले छाड्न आदेश दिएपछि पनि पक्राउ गर्दा पञ्चालतकालको गन्ध आएको समेत बताएका थिए ।

    झन्डै एक साता चलेको बैठकमा प्रकाण्डले उठेका यी सबै विषयमा स्पष्ट पारेको ती नेताले बताए । साथै यसअघि भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्ने निष्कर्ष पनि बैठकले निकालेको छ । नेकपाको स्थायी कमिटी पाँच सदस्यीय रहेको छ । जसमा विप्लव, प्रकाण्ड, हेमन्तप्रकाश ओली सुदर्शन र धम्रेन्द्र बास्तोला र सन्तोष बुढामगर रहेका छन् ।

    सरकारसँग वार्ता नगर्ने

    स्थायी कमिटी बैठकले सरकारसँग वाता नगर्ने निर्णय पनि गरेको छ । औपचारिक रूपमा सरकारले वार्ताका लागि एजेन्डासहित प्रस्ताव नगरेको र वार्ता गरेजस्तो नाटक गरेर झुक्याउने खेल भएको भन्दै नेकपाले सरकारसँग वार्ताको कुनै औचित्य नरहेको निष्कर्ष निकालेको हो ।

    ‘सरकारको प्रस्ताव साँच्चै वार्ता गर्नेखालको छैन । आलटाल गरेर हामीलाई कमजोर बनाउने नियत देखियो’, ती नेताले भने, ‘त्यसकारण अब वार्ताको कुनै औचित्य छैन ।’

    ३ केन्द्रीय सदस्यलाई निष्काशन

    स्थायी कमिटी बैठकले पार्टीमा क्रियाशील नभएको र आफ्नो जिम्मेवारी निर्वाह नगरेको भन्दै ३ जना केन्द्रीय सदस्यलाई निष्काशन गरेको ती नेताले रातोपाटीलाई बताए ।

    केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइएकामध्ये ललितपुरका नारायण महर्जन, जाजरकोटका सविता सिंह र धरानका किरण राई रहेका छन् । त्यस्तै बैठकले पत्रकार सङ्गठनको नाम परिवर्तन गर्ने पनि निर्णय गरेको ती नेताले बताए ।

    २ महिने अभियान सञ्चालन गर्ने

    बैठकले माघ र फागुन महिनामा जनजागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले यो अभियान सञ्चालन गर्नुपूर्व पार्टीका नेताहरूको जिम्मेवारी क्षेत्र हेरफेर गर्ने निर्णय पनि गरेको छ । ती नेताकाअनुसार यो दुई महिने अभियानमा केही जनप्रतिनिधिलाई कारवाही गर्ने योजना पनि नेकपाको रहेको ती नेताले बताए । ‘दुई महिने अभियान भने पनि त्यहाँ एक्सन वरेन्टेड कार्यक्रम पनि रहेका छन् । केही जनप्रतिनिधिहरूलाई कारवाही गर्नेदेखि अन्य कार्यक्रम पनि छन् ।’

    दुई महिने अभियानको जानकारी दिन एक विज्ञप्ती जारी गर्दै भनिएको छ, ‘सामाजिक दलाल सरकार असफल भएको छ । जनता समस्यामा छन् । देश सङ्कटमा छ । क्रान्ति अगाडि आउँदैछ । हाम्रो पार्टी क्रान्तिलाई नेतृत्व दिँदै अगाडि बढिरहेको छ ।’

    उसले अघि भनेको छ, ‘२०७४ सालको चुनावमा केपी—प्रचण्डले दिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’, ‘गाउँगाउँ सिंहदरबार’को नारा आज ‘दुःखी नेपाली, कङ्गाल नेपाल’, ‘गाउँगाउँमा भ्रष्टाचार, बलात्कार’मा परिणत हुन पुगेको छ । भोट हाल्दा नेपाली जनताले गरेको सुख र समृद्धिको अपेक्षा जनताकै थाप्लोमा असङ्ख्य करको भारी, भ्रष्टाचार, महँगी, तस्करी, राष्ट्रघात, निर्मला बलात्कार तथा हत्याकाण्ड, ठूलो जहाजकाण्ड, चिनीकाण्ड, बूढीगण्डकीकाण्ड, चन्द्रागिरिकाण्ड, एनसेलकाण्ड, क्रिस्चियन धर्म प्रचारकाण्डजस्ता काण्डैकाण्डको आतङ्कमा परेर समाप्त भएको छ । जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोशभन्दा अरू छैन ।’

    वर्तमान सरकारले जति नै समाजवादको कुरा गरे पनि ऊ फासिवादतिर उन्मुख भएको भन्दै ‘देशमा जति नै विकासको नारा दिए पनि उद्योगधन्दाको अवस्था कमजोर भएर गएको छ । व्यापारघाटा बढेको बढ्यै छ । महँगीले जनताको ढाड भाँचेको छ । अर्थतन्त्र दलाल र सुदखोरहरूको हातमा पुगेको छ । राष्ट्र बैङ्कबाट सस्तो दरमा ऋण लिएर चर्को दरमा लगानी गर्ने बैङ्क माफियाहरूले जनतालाई लुटेका छन् । उब्जाउ जमिन भूमाफियाको खण्डीकरणमा परेर बर्बाद भएका छन् । युवा पलायन बढ्दै गएको छ । एमाले–माकेहरूले खुलेआम वेश्यालय खोली यौन व्यवसायबाट पैसा कमाउने कुरा गरेर पुँजीवादीहरूको छाडापनलाई पनि उछिनेका छन् । नदीनाला बेचेर खाने क्रम जारी छ । महिलाहरूमाथि मध्ययुगीन हिंसा थोपरिँदैछ, शिक्षा, स्वास्थ्य क्षेत्र व्यापारीकरणमा परेर तहसनहस बन्दै गएको छ । न्यायको आवाज उठाउने नेपाल कम्युनिस्ट पार्टीमाथि झुट्टामुद्दा लगाउने, गिरफ्तार गर्ने, यातना दिने, जेल हाल्ने कार्य गरिँदैछ । यी सबैबाट देश सङ्कटमा परेको प्रष्ट छ ।’

    अहिलेको सरकार सबैतिर असफल भएको भन्दै विज्ञप्तीमा अघि भनिएको छ, ‘सामाजिक दलाल सरकारको असफलता र देशको सङ्कटलाई एमाले–माकेका केही नेताले केपी ओलीको असफलता भनेर सरकारमा आफू पुग्ने खेल खेलेका छन् । काङ्ग्रेस— राप्रपाले ‘कम्युनिस्ट सरकार’को असफलता भनेर आफू सरकारमा पुग्ने वा चुनावी नारा बनाउन खोजेका छन् । केही पार्टीले काङ्ग्रेस, कम्युनिस्टको असफलता भन्दै आफूहरू सरकारमा आउनुपर्ने नारा दिएका छन् तर हाम्रो पार्टीको सुरुदेखिको धारणा छ– यो असफलता र सङ्कट केवल सरकार र मन्त्रीहरूको मात्र होइन दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था र सामाजिक दलाल पुँजीवादको असफलता र सङ्कट हो । यसको समाधान भनेको केपी सरकारको परिवर्तन, एमाले–माके सरकारको परिवर्तन होइन र हुन सक्दैन । दलाल पुँजीवादी सत्तालाई नै जरैबाट उखेलेर फाल्नु र वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु हो । आजसम्म जनताले ठूलो बलिदान गर्दा पनि प्राप्त हुन नसकेको जनताको सत्ताको निर्माण हो ।’

    विज्ञप्तीको अन्त्यमा भनिएको छ, ‘जनताले राणालाई हेरे, राजालाई हेरे, काङ्ग्रेसलाई हेरे । एमाले–माके संशोधनवादी कम्युनिस्टलाई हेरे । कसैले पनि जनता र देशको हितमा काम गर्न सकेनन् । त्यसको एउटै विकल्प वैज्ञानिक समाजवाद हो भन्ने बुझ्न अब कुनै अस्पष्टता छैन । हाम्रो पूरा प्रतिबद्धता छ– जनता, देश, वैज्ञानिक समाजवादभन्दा अर्को कुनै हाम्रो स्वार्थ छैन । त्यसका लागि जुन कुनै मूल्य चुकाउन तयार छौँ । तसर्थ २१औँ सदीमा जनताको राज्य वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि सबै क्रान्तिकारी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी शक्तिहरू एकताबद्ध बनेर हातेमालो गरौँ । जनताको विजय अवश्यम्भावी छ ।’

    एक्सन ओरिन्टेड कार्यक्रम स्थगित

    त्यस्तै नेकपाले प्रकाण्ड प्रक्राउ पर्नुअघि तय गरेको कार्ययोजनालाई स्थगित गरेको छ । ‘प्रकाण्ड कमरेड पक्राउ परेपछि पार्टीका आधिकारिक दस्तावेज बाहिर सार्वजनिक भए । ती एक्सन ओरिन्टेट कार्यक्रम थिए पार्टीका । तर अब ती स्थगित भए’, ती नेताले भने, ‘अहिले नयाँ कार्ययोजना बनेका छन् । त्यही अनुरूप पार्टीका गतिविधि अगाडि बढ्छन् ।’

    पार्टीको नेतृत्व गरेका विप्लव अहिले भूमिगत शैलीमा सक्रिय छन् । उनी भूमिगत भएपछि पार्टीमा दोस्रो वरियताका नेता प्रकाण्ड सक्रिय देखिएका छन् ।

    जसले गर्दा नेकपामा दुई गुट देखिएका छन् । एउटा गुटको नेतृत्व विप्लवले गरेका छन् भने अर्को गुटको नेतृत्व प्रकाण्डले गरेका छन् । गुटकोे प्रभाव पार्टीका सबैजसो जनवर्गीय सङ्गठनमा देखिएको छ । विप्लव र प्रकाण्ड समूहका छुट्टा–छुट्टै कमिटी बनेका छन् । पत्रकारहरूको सङ्गठनबाट उत्पन्न भएको विवाद अरू सङ्गठनमा देखिएका छन्, जसको कारण पछिल्लो समय नेकपाका सबैजसो जनवर्गीय सङ्गठनमा समानान्तर कमिटी बनेका छन् । उक्त स्थायी कमिटी बैठकले सबै विवादलाई मिलाएर जाने निर्णय पनि गरेको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य