महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ स्थितमा गए राति अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–३ भिट्ठामोडस्थित बस बिसौनीमा अचानक लडेर बेहोस अवस्थामा फेला परेकी अन्दाजी ५०÷५२ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान जनकपुरस्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

नाम, थर, वतन नखुलेको, गहुँगोरो वर्ण, जीउडाल मोटो भएकी ती महिला भारतको हुनसक्ने प्रहरीको अनुमान छ । अचेत अवस्थामा फेला परेकी महिलालाई गए राति नै प्रहरीले जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगेकोमा सोही अस्पतालमा आज बिहान करीब २ बजे मृत्यु भएको जनाइएको छ ।