धनुषा , अपहरण गरिएको भनिएको नेपाल आयल निगमको ट्याङ्कर फेला परेको छ । धनुषाको महेन्द्रनगरमा उक्त ट्याङ्कर खाली अवस्थामा बेबारिसे फेला परेको प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिएका छन् । यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताए।

डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन आयल निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनियर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

निगमको इन्धन डिपो अमलेखगञ्जबाट मङ्सिर १ गते अपराह्न २ बजे २० हजार लिटर डिजल लोड गरेर १ नं प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो।

सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अन्दाजी आठ जनाको समूहले चालक र सहचालकको आँखामा पट्टी लगाई बर्दिबास र लालबन्दीको बीचको जङ्गलमा छाडेका थिए।

निगमका ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा सम्झौता भई सञ्चालनमा आएको सो ट्याङ्कर अज्ञात समूहले नै चलाएर लगेको प्रारम्भिक अनुमान गरिएको निगमले जनाएको छ।