२०,जेष्ठ २०८१ काठमाडौँ ।बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुम–कार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरे संगै त्यहाँका स्थानिय यार्सा संकलनका लागी गएका हुन् । उनीहरुले यार्सा संकलनबाट आफ्नो जिवीको पार्जन गर्दै आएका छन् ।
उनीहरुको आयआर्जनको एउटा स्रोत यार्सा संकलन पनि हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।
शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।
कर्णालीबासी धेरैजसो यार्सागुम्बा सङ्कलनका लागि डोल्पा र मुगु जिल्लाको तीन हजारदेखि पाँच हजार मिटर उचाइमा पर्ने कागमारा, थापाखोला, हाङदाङ लगायतका पाटनमा पुग्छन्। मौसम अनुकूल भएसँगै मनाङवासी यार्सागुम्बा सङ्कलनमा व्यस्त हुन थालेका छन् । मनाङवासीको आयस्रोत कृषि तथा जङ्गली औषधिजन्य जडीबुटी हो । जडीबुटी सङ्कलनका लागि नासो गाउँपालिकाअन्तर्गत पहिलो चरणमा यार्सागुम्बा टिप्न नाम्के खर्क मनाङवासी पुगेका छन् । यससँगै माथिल्लो मनाङअन्तर्गत खाङ्सारखर्क र नारफुखर्क पुगेर मौसम र समयका आधारमा यार्सागुम्बा टिप्नने गरेको स्थानीय बताउँछन् ।
बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न जानेहरुबाट सरकारले एक करोड भन्दा धेरै रुपैयाँ राजश्व संकलन गरेको छ । डोल्पाका पाटन क्षेत्रमा यो वर्ष ७ हजार ४ सय जना यर्सा संकलन भित्रिएका छन् । उनीहरुबाट एक करोड २५ लाख ८७ हजार ५ सय रुपैयाँ राजश्व असुली भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । गत वर्ष यहाँ यार्सा टिप्न करिब ४ हजार यार्सा संकलकर्ता आएका थिए । उनीहरुबाट ८५ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । तर यसपटक गतवर्षको तुलनामा यार्सा संकलन र राजश्व दुवै बढेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका बरिष्ठ संरक्षण अधिकृत बिश्वबाबु श्रेष्ठले बताए ।