काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) सुरक्षित र जिम्मेवार ढंगले प्रयोग गर्न ‘आर्टिफिसियल इन्टेलिजेन्स मार्गदर्शन’को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ। क्रेडिट स्कोरिङदेखि धोखाधडी पहिचान, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालन अनुगमनसम्म एआईको भूमिकालाई औपचारिक रूपमा समेट्न यस मार्गदर्शन तयार गरिएको हो।
केन्द्रीय बैंकले सबै सरोकारवालासँग पुस १५ भित्र लिखित वा इमेलमार्फत सुझाव मागेको छ। प्राप्त सुझावअनुसार संशोधन गरी अन्तिम संस्करण सार्वजनिक गरिने जनाएको छ। मौद्रिक नीतिमा उल्लेख गरिएको प्रतिबद्धताअनुसार अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर नेपालका बैंक तथा वित्तीय संस्थाहरू, लघुवित्त, वित्त कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक तथा भुक्तानी सेवा प्रदायक–सञ्चालकहरूमा यो मार्गदर्शन लागू हुनेछ।
मार्गदर्शनले एआईसँग सम्बन्धित जोखिम बुझ्न बोर्ड सदस्यदेखि कर्मचारीसम्मको क्षमता विकास अनिवार्य गर्ने, ग्राहकहरूलाई एआई प्रयोगबारे सचेत गराउने र गुनासो समाधान संयन्त्र स्थापना गर्न निर्देशन दिएको छ। साथै, साइबर लचकता मार्गदर्शन–२०८०, सूचना प्रविधि मार्गदर्शन–२०६९ र अन्य कानुनसँग सँगै पालना गर्नुपर्ने उल्लेख छ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रको दक्षता, नवप्रवर्तन र ग्राहक अनुभव सुधार्दै वित्तीय स्थिरता तथा अखण्डता सुनिश्चित गर्नु मार्गदर्शनको प्रमुख उद्देश्य हो। एआई प्रणाली पारदर्शी, व्याख्यायोग्य, निष्पक्ष र जवाफदेही हुनुपर्ने, ग्राहक अधिकार र डाटा गोपनीयता रक्षा प्राथमिकता हुनुपर्ने उल्लेख छ।
एआई प्रणालीबाट निस्कने निर्णयका लागि अन्तिम जिम्मेवारी ‘बोर्ड अफ डायरेक्टर’ र वरिष्ठ व्यवस्थापनकै हुनेछ। एआई प्रयोगअघि प्रणाली उच्च जोखिमयुक्त हो वा होइन भनेर मूल्यांकन गर्नुपर्ने र गम्भीर वित्तीय हानि वा मौलिक अधिकारमा असर पुर्याउनसक्ने प्रणालीलाई ‘उच्च जोखिम’का रूपमा वर्गीकृत गर्ने व्यवस्था मार्गदर्शनमा समेटिएको छ।
एआई प्रणालीलाई साइबर आक्रमणबाट जोगाउन नियमित सुरक्षा अडिट आवश्यक ठहर गरिएको छ। ग्राहक डाटा प्रयोगमा स्पष्ट सहमति अनिवार्य गरिँदै एआई–उत्पादित सामग्रीलाई स्पष्ट लेबल गर्ने प्रावधान राखिएको छ। ग्राहकलाई सेवा प्रभावित नपर्ने गरी ‘अप आउट’ गर्ने सुविधा दिनुपर्ने पनि उल्लेख छ।
यो मार्गदर्शनले बैंकिङ क्षेत्रमा एआईको प्रयोगलाई व्यवस्थित, सुरक्षित र उत्तरदायी बनाउन आधार तयार गर्ने अपेक्षा राखिएको छ।