काठमाडौं । निजामती सेवाका पदहरुको पदसोपान हेरी वैज्ञानिक तलबमान निर्धारण गर्न र कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै कर्मचारीहरुले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।
निजामती कर्मचारीहरुको संयुक्त ट्रेड युनियन सन्जाल आन्दोलन परिचालन समितिको नामबाट संघर्षरत कर्मचारीहरुले आज ‘पे कमिसन’(तलब आयोग) मा ट्रेड आफ्ना प्रतिनिधि पनि समावेश गराउन माग गर्दै सामान्य प्रशासन मन्त्री र अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेका छन् । यद्यपि समय भने निश्चित नभएको आन्दोलन परिचालन समितिका सदस्य लोकेन्द्र चौलागाईंले जानकारी दिए ।
विगतमा राजपत्रांकित तहमा भएको भनिएको तलब समायोजनलाई कायम राख्दै निजामती सेवाका पदहरुको पदसोपान हेरी वैज्ञानिक तलबमान निर्धारण गर्न ट्रेड युनियन सम्मिलित तलब आयोग गठन हुनुपर्ने कर्मचारीहरुको माग छ ।
साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले तलब आयोग गठन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । यद्यपि तलब आयोग कसको नेतृत्वमा गठन भएको छ, त्यसका को–को छन् भन्ने खुलेको छैन ।
दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत नै कर्मचारीहरुले ‘कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर’ भनी लेखिएको प्लेकार्ड छातीमा टाँसेर आजदेखि कामकाज गर्दै छन् । आजदेखि भदौ २ गतेसम्म यसैगरी कामकाम गर्ने उनीहरुले बताएका छन् ।