काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
धरान उपमहानगरका मेयर हर्क साम्पाङसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन सङ्घीय सरकारले महानगरलाई सहयोग गर्ने आश्वासन दिए ।
भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उनको टिमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गरेको जनपरिचालनको उच्च प्रशंसा गरे । यस्तै मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न सङ्घीय सरकारको सहयोग आवश्यक रहेको बताए ।
भेटमा धरान महानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघा पनि रहेका थिए ।