काठमाडौं । आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरुको रुजु आजदेखि सुरु हुने भएको छ ।
निर्वाचन आयोगले आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको रुजु आजदेखि सुरु गर्ने भएको हो । दल दर्ताको निवेदन दिएका सबै दलहरुको आजदेखि जाँच गर्ने र त्यसमा कानून अनुसार छ की छैन, आवश्यक सबै कागजात प्राप्त भए–नभएको बारेमा परीक्षण गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिन ८४ वटा राजनीतिक दलहरूले निवेदन दिएका छन् । निर्वाचन आयोगले निवेदनका लागि हिजोसम्मको समयावधि तोकेको थियो । निर्वाचन आयोगका अनुसार अब आयोगले भदौ ८ गतेसम्म दलहरूको निवेदनमाथि अध्ययन एवं छानबिन गर्नेछ ।
प्रवक्ता पौडेलका अनुसार अहिले ७७ वटै जिल्लामा मतदाता नामावली अद्यावधिकको काम भैरहेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ९५ दिन बाँकी छ ।