काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले राष्ट्रपतिबाट फिर्ता भएर आएको विधेयकलाई सर्वस्वीकार्य बनाउने अवसरको रूपमा लिन पनि सत्तापक्षलाई आग्रह गरे ।
नागरिकताजस्तो संवेदनशील विषयलाई हेड काउन्टको रूपमा नलिइ यसमा विवेक पुर्याएर आवश्यक निर्णय लिनुपर्ने उनको भनाइ थियो । सांसद ज्ञवालीले यो विधेयकमा संसदीय नियमावलीअनुसार संशोधन प्रस्ताव राख्न पाउने अधिकार सुनिश्चित गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षणसमेत गराए ।
नागरिकको प्रतिक्रियालाई समेत सुनेर यो विधेयकबारे सदनले आवश्यक निर्णय लिनुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि त्यहीअनुसार छलफललाई अघि बढाउन आवश्यक छ भने ।
उपमहासचिव ज्ञवालीले संसदमा विचाराधीन यो विषयलाई सत्तारूढ गठबन्धनले जस्ताको तस्तै राष्ट्रपतिलाई फिर्ता पठाउने निर्णय गरेको भन्दै यसले संसद् र यसको गरिमाको धज्जी उडाएको आरोप पनि लगाए ।