काठमाडौँ । आज ढिला गरेर सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पदाधिकारी चयन नगर्दै सकिएको छ।
आज बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम सिफारिस गर्ने र बैठकबाट अनुमोदन गर्ने भनिएको थियो। तर, आजको बैठकमा टुंगोमा पुग्न नसकिएको माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले जानकारी दिए।
अब पदाधिकारीका विषयमा छलफल गर्न बाँकी कुरा नरहेको महराको भनाइ छ। नेताहरु विभिन्न कार्यक्रममा सरिक हुनुपर्ने र पार्टीको भातृ संगठन वाईसीएलको भेलामा पनि सहभागी हुनुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको महराले जानकारी दिए। अर्को बैठक शनिबार दिउँसो १ बजे बस्ने उनको भनाइ छ।
शुक्रबारको बैठकमा स्थायी समिति सदस्यहरुले पदाधिकारी चयनको विषयलाई चाँडो टुंग्याइनुपर्ने बताएका थिए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैको कुरा सुनेका भए पनि निष्कर्ष भने भोलि मात्रै सुनाउने भनेर जानकारी दिएको महराले बताए।
‘