Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नयाँ कार्यक्रमहरु सञ्चालन नगर्न तीन वटै तहको सरकारलाई आयोगको निर्देशन

नयाँ कार्यक्रमहरु सञ्चालन नगर्न तीन वटै तहको सरकारलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सरकारको योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरु सञ्चालन नगर्न तीन वटै तहको सरकारलाई निर्देशन दिएको छ।

आयोगले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम र सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन नगर्न संघ, प्रदेश र स्थानीय तहका सरकारलाई निर्देशन दिएको हो।

निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकारको योजनामा नपरेका कार्यक्रमहरु सञ्चालन गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पर्ने आयोगले जनाएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले पदावधि सकिन लागेका जनप्रतिनिधिले नयाँ काम गर्दा मतदातालाई प्रभाव पार्ने र निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने भएकाले निर्देशन जारी गरिएको उल्लेख गरे।

उनले बजेटमा उल्लेख भएका योजनाहरु भने नरोकिने स्पष्ट पारेका छन्। निर्वाचनको स्वच्छता र पवित्रतालाई कायम गर्नमा आयोगको जोड रहेको उनको भनाइ छ।

निर्वाचन सबैको लागि समान प्रतिष्पर्धा गर्ने थलो भएको उल्लेख गर्दै उनले आयोगले पनि सबैलाई समान व्यवहार गरेको बताए। उनले नयाँ कार्यक्रम तथा योजना बनाएर मतदातालाई प्रभावित पार्न कसैलाई नदिइने बताए।