काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य देवेन्द्र प्रधानले ग्यासको साटो विद्युत् चुल्हो जडान गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेका छन् ।
बुधबार पार्टीनिकट कर्मचारी कल्याण परिषद्को २५ औं वार्षिकोत्सवलाई प्राधिकरणमा नै सम्बोधन गर्दै उनले प्राधिकरणसँग पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विस्थापन गरेर विद्युत्बाट चल्ने सवारीलाई प्रोत्साहन गर्न प्राधिकरणलाई आग्रह गरे ।
प्रधानले न्याय नपाए गोरखा जानू भनेजस्तै नेतृत्व सिक्ने भए कुलमान घिसिङलाई सम्झन पनि सबैलाई आग्रह गरे । प्रधानले भोलिको दिनमा घिसिङलाई संकटग्रस्त अन्य सरकारी संस्थाको नेतृत्व दिनुपर्ने पनि बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरन्तर प्रयास गरे अबको केही समयपछि उपभोक्तालाई निःशुल्क विद्युत् दिन सकिने बताए ।
कार्यक्रमको उद्घाटन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा देशको लागि सच्चा र इमानदार पार्टी राप्रपालाई मतदान गर्नसमेत आग्रहसमेत गरे ।