काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीय सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिनुभएको छ ।
सङ्घीय संसद् राष्ट्रिय सभाबाट भर्खरै पारित काठमाण्डौ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीयता र संविधान विरोधी रहेको जिकिर गर्दै मुख्यमन्त्री पाण्डेले सङ्घीय सरकारविरुद्ध केही दिनभित्रै मुद्दा हाल्ने बताउनुभएको हो ।
राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सोमवार हेटौँडामा आयोजना गरेको सङ्घीय शासन प्रणाली सबलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सङ्घीयता विरोधी, संविधान विपरीतको त्यो विधेयक किन पारित गरेको ? भनेर राष्ट्रिय सभालाई प्रश्नसमेत गर्नुभयो ।
राष्ट्रिय सभा आफैँले संविधानको विरुद्धमा गएर, सङ्घीयताको विरुद्धमा गएर ती दुई वटा विधेयक पारित गरेको मुख्यमन्त्री पाण्डेको गम्भीर आरोप थियो । विधेयकमा काठमाण्डौ, ललितपुर र भक्तपुरको सुरक्षा र यातायातको जिम्मा सङ्घीय सरकारलाई दिने उल्लेख गरिएको छ । यो कुरा सङ्घीयता र संविधानविरुद्ध भएकाले आफ्नो आपत्ति रहेको मुख्यमन्त्री पाण्डेको दाबी थियो । उहाँले सङ्घीयता विरोधी विधेयक पारित गर्ने राष्ट्रिय सभालाई सङ्घीयता कार्यान्वयनको बारेमा छलफल गर्दै हिँड्ने अधिकार नभएको पनि पटक–पटक दोहोर्याउनुभयो ।