काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन सूचना निकालेको छ ।
महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो । मापदण्डले कम्पाउण्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार गर्न घरधनीलाई सूचित गरिएको महानगरले जनाएको छ ।
कतिपय पर्खालहरु नक्सा पास नगरि निर्माण भएका पाइएकोले सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाउन सूचित गरिएको छ । सूचनाको बेवास्ता गरेमा सीमा पर्खाल हटाउने पनि महानगरले चेतावनी दिएको छ । सीमा पर्खाल हटाउँदा लागेको खर्च सरकारी बाँकी सरह सम्बन्धित घर जग्गा धनीबाटै असुल हुने महानगरको सहरी व्यवस्थापन विभागले जनाएको छ ।