काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आएका सत्ता गठबन्धनका दलहरुले आज पनि छलफललाई निरन्तरता दिएका छन् ।
कार्यदलका कार्यालय सचिव केशवराज जोशीले आज बिहान ८ बजेदेखि पुनः बैठक बसेर सिट बाँडफाँटको टुंगो लगाउन प्रयास भइरहेको बताएका छन् ।
यही असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् । १९ गते दशैंको टीका र असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन मनोनयन दर्ता हुने भएकाले त्यसअघि नै सिट बाँडफाँट टुंगो लगाउने एक नेताले बताए ।
नेताहरुका अनुसार प्रतिनिधि सभातर्फको सिट बाँडफाँटको विषय लगभग टुंगो लागिसकेको छ । त्यसैले आइतबारदेखि कार्यदलमा प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल हुँदै आएको छ ।