काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको इज्जतका लागि पनि झापा–३ मा राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताएका छन् ।
आज झापा–३ मा आयोजित कार्यक्रममा उनले राप्रपा अध्यक्ष लिङ्देनका लागि भोट मागेका हुन् ।
‘एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ’ उनले भने, हलोलाई पनि भोट हाल्नुपर्छ नभए देशद्रोही आउँछन्, देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ । मुख्य कुरा गठबन्धन हराउने हो’ ओलीले भने । उनले एमालेले समर्थन गरेका सबै उम्मेदवारले यसपटक जित्ने ठोकुवा गरे ।
एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने बताए । ‘राप्रपा राष्ट्रिय पार्टीको रुपमा आउँछ । संसदमा राजेन्द्र लिङ्देन मात्र होइन, एमालेको साथमा लागेपछि त राष्ट्रिय पार्टी हुन्छ’ उनले भने ‘जसपा राष्ट्रिय पार्टी थियो, कायम रहन्छ ।’
अध्यक्ष ओलीले नेपाली काँग्रेस र माओवादी केन्द्र राष्ट्रिय पार्टी बने पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने राष्ट्रिय पार्टी बन्न नसक्ने दाबी गरे ।