काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत आर्थिक वर्षमा करिब ११ हजार बचतकर्ताको ७१ करोड रुपैयाँ फिर्ता तथा मिलान गरेको जनाएको छ। समितिले ९१ दिने कार्यप्रगति सार्वजनिक गर्दै बचत फिर्तासँगै ऋण असुली अभियानलाई पनि तीव्र बनाएको जानकारी दिएको हो।
समितिका अनुसार २१ करोड रुपैयाँ नगद फिर्ता र ५० करोड रुपैयाँ बराबरको बचत मिलान गरी कुल ७१ करोड रुपैयाँ राफसाफ गरिएको छ। ५ लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई प्राथमिकतामा राखेर रकम फिर्ता गर्ने काम भइरहेको समितिले जनाएको छ।
शिवशिखर बहुउद्देश्यीय सहकारीका १ हजार ५ सय रुपैयाँसम्मका बचत तथा अन्य सहकारीका १० हजार रुपैयाँभन्दा कम बचत अधिकांश फिर्ता भइसकेको समितिको दाबी छ। ज्येष्ठ नागरिक, एकल महिला र गम्भीर रोग लागेका बचतकर्तालाई प्राथमिकता दिँदै पहिलो चरणमा ४८ जनालाई १२ लाख रुपैयाँ फिर्ता गरिएको छ।
यता, सहकारीको ऋण नतिर्ने ऋणी र सञ्चालकमाथि समितिले कडाइ थालेको छ। ऋण असुलीका लागि बैंक खाता रोक्का, राहदानी रोक्का, कालोसूचीमा राख्ने र धितो लिलाम गर्ने प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।
समितिले ऋण मिलानका क्रममा ऋणीबाट २२ करोड ८३ लाख रुपैयाँ असुल भएको जानकारी दिएको छ। २३ वटा समस्याग्रस्त सहकारीमध्ये नेपाल सहकारी वित्तीय संस्थालगायतको सम्पत्ति व्यवस्थापनका लागि कानुनी प्रक्रिया अघि बढाइएको छ।
कान्तिपुर सेभिङ एण्ड क्रेडिट र गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीका बचतकर्तालाई साउनको तेस्रो साताबाट रकम फिर्ता सुरु गर्ने तयारी रहेको समितिले जनाएको छ। साथै चालु आर्थिक वर्षमा ५ लाखदेखि १ करोड रुपैयाँसम्मका बचत मिलान गर्ने योजना अघि सारिएको छ।