Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चले दिएको आदेशप्रति डा. केसीको आपत्ति

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चले दिएको आदेशप्रति डा. केसीको आपत्ति

चैत १३ ,काठमाण्डौं ।

दुर्गा प्रसाईंको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले दिएको आदेशप्रति डा गोविन्द केसीले आपत्ति जनाएका छन । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईंको मेडिकल कलेजबारे सर्वोच्च अदालतको सोमबारको फैसलाप्रति आशंका गरेका हुन् । सर्वोच्च अदालतले झापास्थित बिर्तामोडमा रहेको व्यवसायी प्रसाईंको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सोमबार आदेश दिएको थियो। मंगलबार डा. केसीले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

उनले अदालतको आदेशविरुद्ध भ्याकेटमा जानेसमेत चेतावनी दिएका छन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ’सर्वोच्च अदालतले एक उच्छृङ्खल र अराजक मेडिकल व्यापारीको मुद्दाउपर गरेको फैसला र त्यसले सृजित हल्लाले हाम्रो ध्यानाकर्षण भएको छ। फैसालाको संक्षिप्त आदेशको प्रतिलिपि पनि अहिलेसम्म प्राप्त भएको छैन।

देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु हामी सबैको कर्तव्य हुन्छ तर कसैको निहित स्वार्थमा कानुन प्रतिकूल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्न सक्छ र न्यायालयले आफैं त्यस्तो गल्ती सुधार्नुको विकल्प रहँदैन। त्यसैले ऐनप्रतिकूल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकन (भ्याकेट) मा जानुको विकल्प रहनेछैन।’

मेडिकल कलेज सञ्चालनका लागि लामो समयदेखि आशयपत्र लिएर बसेको बीएण्डसी कलेजले सम्बन्धन नपाएपछि उक्त कलेजका सञ्चालक प्रसाईंले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै रिट दायर गरेका थिए। न्यायाधीशद्वय डा. कुमार चुडाल र सारंगा सुवेदीको इजलासले प्रक्रिया पु¥याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भन्दै सोमबार आदेश दिएको हो। उनले काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायतका निकायलाई विपक्षी बनाएका थिए। सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले सम्बन्धन दिन आदेश दिएको हो।

सम्बन्धन नदिएपछि बीएण्डसीले सम्बन्धनका लागि वि.सं. २०७७ असार २१ गते काठमाडौँ मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई रिट दायर गरेको थियो। उनले आफूहरुसँगका सम्झौताहरु कार्यान्वयन नभए कुनै पनि बेला सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्। कलेजले १५ फागुन २०७३ मा नै मापदण्ड तथा पूर्वाधार तयार गरी एमबीबीएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिका लागि काठमाडौँ विश्वविद्यालयसमक्ष निवेदन दिएको थियो। सम्बन्धन नदिएपछि बी एण्ड सीले सम्बन्धनका लागि विसं २०७७ असार २१ गते काठमाडौँ मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई रिट दायर गरेको थियो।

‘स्मरण रहोस्, ऐनअनुसारको सबै मापदण्ड र प्रक्रिया पु¥याएर गरिने कुनै पनि काममा हामीलाई कुनै आपत्ति छैन भनेर हामीले बारम्बार भन्दै आएका छौँ,’ उनले भनेका छन्,’अन्तमा प्रचण्ड सरकारलाई हाम्रा मागहरू तुरुन्त पूरा गर्न र सम्झौताहरू कार्यान्वयन गर्न पुनः स्मरण गराउँछौँ। अन्यथा कुनैबेला पनि सत्याग्रहसहितको आन्दोलन सुरू गर्न बाध्य हुने जानकारी पनि गराउँछौँ।’ डा. केशीले आफूहरुसँगका सम्झौताहरु कार्यान्वयन नभए कुनै पनि बेला सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।