चैत १४, काठमाडौँ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलका प्रिन्सिपललाई आग्रह गरेकी छिन् ।
नयाँ शैक्षिक सत्रका लागि ति विद्यालयले भर्ना आह्वान गरेका बेला प्रिन्सिपलहरुलाई मन्त्रालयमै आमन्त्रण गरी मन्त्री श्रेष्ठले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गरेकि छिन् । ‘ति विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईंहरुको त कोटा हुन्छ, भनिदिनु प¥यो भनेर दबाब दिइरहनु भएको छ। उहाँहरुको भनाइअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे’ ‘विगतमा त्यस्तो विकृति थियो भने पनि अब अन्त्य गर्नुपर्छ।’ मन्त्री श्रेष्ठले भनिन् ।
छलफलमा तीन वटै विद्यालयका प्रिन्सिपलले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो गरेका थिए। मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गरेकि छिन् । ‘पहुँचको आधारमा दबाब र प्रभावमा परेर होइन बरु गरिब र निम्नस्तरका विद्यार्थीलाई प्राथमिकता दिनुस्, ‘पहुँचका आधारमा भर्ना हुन्छ भन्ने भाष्यलाई चिर्नैपर्छ।’ उनले भनेकि छिन् । मन्त्री श्रेष्ठले आफ्नो वा मन्त्रालयको नाम दुरुपयोग गरेर कसैले भर्नाका लागि दबाब दिए जानकारी गराउनसमेत तीनवटै विद्यालयका प्रिन्सिपललाई अनुरोध गरेकि छिन् ।
छलफलमा सेन्ट जेभियर्सले चार वर्षअघि देखि नै गोलाप्रथाबाट भर्ना लिने गरिएको, सेन्ट मेरिजले अघिल्लो वर्ष अभिभावकसँगको अन्तरक्रियाका आधारमा भर्ना लिइएको र बुढानीलकण्ठले परीक्षाले निर्धारण गरेको योग्यतामा आधारमा भर्ना लिने गरिएको जानकारी दिएका थिए। मन्त्री श्रेष्ठले गोला प्रथाबाट भर्ना लिने प्रक्रियालाई निरन्तरता दिएर थप विश्वसनीय बनाउन आग्रह गरेकि छिन् ।
निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्छन् भनिँदै आए पनि कहिले बढी शुल्क लिएर त कहिले विद्यार्थी तथा अभिभावकलाई तनाव दिएका कारण विवाद आइरहन्छ। नयाँ शैक्षिक सत्र नजिकिँदै छ। यही दाउमा नाम चलेका निजी विद्यालयले मनोमानी ढंगले भर्ना लिनृ गर्छन् । अधिकांश कोटा स्कुलले निकट र ठूलाबडालाई छुट्याउने रहेको पाइएको छ । ‘प्रवेश परीक्षाविरुद्ध कलम चलाउँदा चलाउँदा गोला प्रथासम्म ल्याइएको छ, गोलाप्रथा पूर्व अभिभावकको अन्तरवार्ता लिने र छानिएका मात्र गोला प्रथामा समेट्ने गलत कार्य गरिँदै आएको आरोप पनि लाग्ने गरेको छ । भनसुन र पहुँचका आधारमा मात्रै विद्यार्थी भर्ना भएको अभिभावको गुनासो बडेपछि नब शिक्षा मन्त्री श्रेष्ठले यो बिषयमा छलफल गरेकी हुन् ।