चैत १५ ,काठमाण्डौं ।
गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गरेका छन् । गृहमन्त्री लामिछानेले गोर्खा सैनिकले गरेको योगदान स्मरण गरेर बेलायत सरकारले भूपू गोर्खा सैनिकले उठाउँदै आएका मुद्दा न्यायोचित रुपमा सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको कुरा राजदूतसँग राखेका थिए ।
बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा दुई देशको सम्बन्ध र आगामी दिनमा नेपाल र बेलायतबीच गर्न सकिने सहकार्यका क्षेत्रबारे छलफल भएको गृहमन्त्री लामिछानेको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री लामिछानेलाई भेटवार्तामा राजदूतले बधाई र सफल कार्यकालको शुभकामना दिएका थिए । नेपाल –बेलायत सम्बन्ध नेपाल र संयुक्त अधिराज्य बीचको वैदेशिक सम्बन्ध हो । बेलायत र नेपालको सम्बन्ध इतिहासदेखि मैत्री सम्बन्ध थियो र दूइ देशको राजपरिवार वीच पनि निकट सम्बन्ध थियो ।
ऐतिहासिक घटनाक्रम र विकास निर्माणको परियोजनामा सहयोग तथा गोर्खा सैनिक जस्ता कुराले नेपाल बेलायत सम्बन्ध विशेष रहने गर्छ । भेटको सय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि गृहमन्त्रीले आभार व्यक्त गरेका छन् ।
त्यस्तै सामाजिक उत्थान, सरकारी तथा गैर–सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन पनि सहयोगका बिषयमा गरेका छन । गृहमन्त्री लामिछानेले लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र बञ्चितीकरण न्यूनिकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षा व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटका अवसरमा बेलायती राजदूत फेनले जाजरकोट भूकम्पको पुनःनिर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने र नेपालको विकास निर्माण साझेदारीताका लागि नयाँ योजना ल्याउने क्रममा रहेको जानकारी गराए।
विकासमा साझेदारी अनन्तकालसम्म रहने अपेक्षा गर्दै राजदूत फेनले आफ्नो आग्रहलाई स्वीकार गरी शिष्टाचार भेट दिएकामा गृहमन्त्रीलाई धन्यवाद ज्ञापन गरे। आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने भएको छ । पहिलो पटक गृहमन्त्री रवि लामिछाने हुदा पनि नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गत सालको माघ महिनामा शिष्टाचार भेटवार्ता गरेका थिए ।
त्यतिबेला पनि नेपाल र बेलायतबीच सधैँ सुमधुर सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि द्विपक्षीय हित अभिवृद्धि गर्दै अघि बढ्ने विषयमा छलफल भएको थियो । नेपालका लागि बेलायतका राजदूत रब फेनले बिहीबार अर्थमन्त्री वर्षमान पुनलाई भेटेर बेलायती लगानीकर्ता लगानी सम्मेलनमा आउने जानकारी दिएका हुन् । राजदूत फेनले नेपालले वैदेशिक लगानीमैत्री वातावरण बनाउँदै गएको भन्दै प्रशंसा गरे । दोहोरो कर प्रणाली सम्बन्धी नीतिबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट पार्न उनले अर्थमन्त्री पुनसँग आग्रह पनि गरेका थिए ।