चैत १६ ,काठमाण्डौं ।
काठमाडौं महानगरका मेयर बालेन शाहले निजी विद्यालयलाई नाम फेर्न १ महिने अल्टिमेटम दिएका छन । सधै कडा एक्सनका साथ उत्रिरहेका मेयर बालेनको चर्चा एकपछि अर्को कामले दिईरहेको छ । यसैबिचमा अहिले बालेन शाहले निजि बिद्यालयलाई दिएको अल्टिमेटमले निजी बिद्यालय तनावमा परेका छन । स्थापनाकाल देखी राख्दै आएको बिद्यालयको पहिचान दिईरहेको नाम बालेन शाहले फेर्न भनेपछि बिद्यालय प्रशासन तनावमा परेका हुन ।
महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको हो। महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने छ । अहिले अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीअनुसार नभएको भन्दै एक महिनाभित्र फेर्न सूचना जारी भएको हो ।
‘नेपालीपन झल्कने नाम नभएका विद्यालयहरूले नियमावलीमा व्यवस्था भए बमोजिम विद्यालयको नामाकरण गर्नको लागि प्रक्रिया अघि बढाइ एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेश गर्नहुन अनुरोध छ,’ महानगरपालिकाले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।
त्यसैगरी महानगरपालिकाले बिहीबार नै अर्को सूचना जारी गरेर भाडामा लगाएका सामुदायिक विद्यालयको सम्पत्तिको कागजपत्र ७ दिनभित्र उपलब्ध गराउन भनेको छ ।
‘विद्यालयको स्वामित्वमा रहेका भवन, कोठा, सटर, जग्गा वा अन्य भौतिक संरचना तेस्रो पक्षलाई भाडामा दिएको छ भने उक्त निर्णय र सम्झौताका कागजातका प्रमाणित प्रतिलिपिहरू उपलब्ध गराउनू,’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था भएकोले सो व्यवस्था बमोजिम विद्यालयको नामकरण गर्न समेत सूचनामा भनिएको छ। यसैबिच यहि बर्ष मात्र काठमाडौं महानगरपालिकाले विद्यालयको नाम र चिह्नका बारेमा एकरूपता ल्याउने गरी विद्यालय शिक्षा व्यवस्थापन नियमावली संशोधन गरेको थियो ।
नगर शिक्षा नियमावली २०७४ को नियम ६९ र ७० को उपनियम १२२ ले विद्यालयको चिह्न षट्कोण हुनुपर्ने र नाम समाज तथा राष्ट्रकै लागि योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवीदेवता, तीर्थस्थल वा प्राकृतिक सम्पदाको नामअनुसार राख्नुपर्ने महानगरपालिकाका मेयर बालेन्द्र शाहले जनाएका थिए ।
तर यो उपनियम लागू हुनुअगावै उक्त नियमविपरीतका शब्द जोडेर नामकरण भइसकेका विद्यालयको हकमा भने यो नियमावली जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरु देखिलागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्ने बताईएको थियो । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १२२ ले विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउन खोजेको छ ।