चैत २० ,काठमाण्डौं ।
मेडिकल ब्यवसायि दुर्गा प्रसाईं यतिबेला झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल सञ्चालनका लागि पैसा जुटाउन बैंकहरु तिर धाउन थालेका छन । बैंकको कर्जा नतिर्ने मुख्य मुद्दा बनाएर विभिन्नरूपमा विरोध कार्यक्रम गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकहरूसँग थप कर्जा माग गरेका छन् ।
बैंकहरू र प्रसाईंबीच भएको छलफलमा उनले बैंकहरूबाट थप कर्जा प्रवाहका लागि आग्रह गरेका हुन् । सर्वोच्च अदालतले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई लाइसेन्स दिन आदेश दिएपछि बैंक र प्रसाईंबीच आइतबार छलफल भएको थियो । प्रसाईंले चलाएको पूर्वाञ्चल क्यान्सर हस्पिटल र निर्माणाधीन बीएण्डसी मेडिकल कलेजमा विभिन्न बैंकहरूको करिब ६ अर्ब रुपैयाँ कर्जा फसेको छ ।प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिनेगरी सर्वोच्च अदालतले आदेश दिएसंगै उनी सञ्चालन गर्नका लागि पैसा जुटाउन बैंकहरुमा पुग्दै छलफललाई तिब्र बनाएका छन ।
उनले मेडिकल कलेज सञ्चालनसँगै पूर्वाञ्चल क्यान्सर हस्पिटलको ऋण पनि नियमित गराउन बैंकहरुको सहयोग खोजेका छन्। उनले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यसहित सहवित्तीयकरणमा ऋण दिएका नबिल र कुमारी बैंक, लुम्बिनी विकास बैंक तथा गुडविल फाइनान्सका व्यवस्थापकहरुसँग थप ऋणका लागि कुराकानी गरेका हुन्। सोमबार उनले क्यान्सर हस्पिटलको ऋणका सम्बन्धमा कुराकानी गरेका छन्। क्यान्सर हस्पिटलमा यीबाहेक प्रभु बैंक पनि जोडिएको छ। आइतबार उनले मेडिकल कलेजको ऋणका लागि कुरा गरेका थिए।
बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउन सकेको थिएन । तर, सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेजलाई सम्बोधन दिन आदेश दिएपछि उनी कलेज सञ्चालन गर्ने पक्षमा छन् । तर, वर्षाैंदेखि अलपत्र कलेजको पूर्वाधार सञ्चालन योग्य बनाउने, विद्यार्थी भर्ना पूर्वको तयारी गर्न ठूलो रकम आवश्यक भएको भन्दै उनले बैंकसँग थप कर्जा माग गरेका छन् ।
यता सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पु¥याएको भए बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।मेडिकल व्यवसाय हुँदै राजनीतिक कनेक्सन बनाएका दुर्गा प्रसाईंले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी थियो ।
आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश जारी गरेको हो । यता व्यवसायी दुर्गा प्रसाईंले बैंकको ऋण तिर्ने बताएका छन् । २० दिनको मुम्बई र दिल्लीको बसाईपछि आइतबार नेपाल फर्किएका प्रसाईंले आफूले तिर्नुपर्ने बैंकको सबै ऋण तिर्ने बताएका हुन् ।
१३ वर्षको संघर्षपछि सर्वोच्च अदालतले आफूलाई न्याय दिएको बताउँदै प्रसाईंले अब कमाएर सबै बैंकको ऋण तिर्ने बताएका हुन् । साथै, आफूले बि एण्ड सी मेडिकल कलेज सञ्चालन गर्नका लागि सम्बन्धन पाए पनि आफ्नो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान भने नरोकीने प्रसाईंले बताएका छन् । उनले आफ्नो अभियान अझै सशक्त भएर अघि बढ्ने दाबीसमेत गरेका छन् ।