बैशाख ३,काठमाण्डौं ।
सन्दीप लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवाइ हुँदैछ। नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज उच्च अदालत, पाटनमा पेसी रहेको छ।
सन्दीपको आज मुद्दा स्थगित नभए र सुनुवाइ भए आजै फैसलाको सम्भावना रहेको अदालत स्रोतले जानकारी दिएको छ । अदालत स्रोतका अनुसार यो मुद्दालाई पुनरावेदनले लामो समय लम्ब्याउने सम्भावना अत्यन्तै कम रहेको छ। जिल्ला अदालतमा अधिकांस प्रमाणहरू झिकाइएको र लामो बहस भएकाले उच्च अदालतले ती सबै कागजात मगाइसकेको छ।
जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि सन्दिप उच्च अदालत पुगेका थिए । उनीविरूद्ध अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दिपले दिएको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले आज सुनुवाइ गर्न लागेको हो। दुवैको मुद्दालाई एकैसाथ राखेर उच्चले सुनुवाइ गर्ने भएको छ। गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।
पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। तर, जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो। त्यसपछि सन्दीप गत १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए।
त्यस्तै, १ चैतमा सरकारी पक्ष पनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालतमा पुगेको थियो। उच्च अदालत, पाटनका न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै दुबै पक्षलाई नियमअनुसार जानकारी गराउन आदेश दिँदै आजका लागि पेसी तोकेको थियो। लामिछानेविरुद्ध गौशाला–२६ ले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी थिइन् ।
आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटेलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । भदौ २३ मा काठमाडौ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएपछि लामिछाने विदेशमा रहेका लामिछाने करिब एक महिना उतै बसेर फर्किने क्रममा असोज २० गते त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका थिए ।
कात्तिक १४ मा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।