बैशाख १० काठमाण्डौं ।
कतारका अमिर (राजा) नेपाल आउँदा भोलि मंगलबार सरकारले सार्वजनिक बिदा नै दिएको छ । हुन त हाम्रो देश विश्वका यति धेरै रास्ट्रहरुमध्यसबैभन्दा बढी सार्वजनिक विदा दिने देश बनेर पहिलो नम्बरमा उभिएको छ । जे होस अरुका कुराले पछि नै रहे पनि सार्वजानिक विदा दिनेमा भने पहिलो नम्बरमा उभिएकै हो । २०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिएको थियो ।
‘राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ! अनि हामी गरिब नभए को हुन्छ त?’भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटर) मा पोस्ट समेत गरेका थिए । अब बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । त्यसैले पनि कतारका राजा आउदा नदिने त कुरै भएन । आज मात्रै परराष्ट्र मन्त्रालयले कतारी अमिर नेपाल भ्रमणमा आउन लागेको औपचारिक घोषणा गरेको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ । उनको भ्रमणपूर्व नै तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि काठमाडौं आउने छन् । नेपालस्थित कतारी राजदूत मिस्हल बिन मोहम्मद अल अन्सारीले भ्रमणको गृहकार्य अन्तिम चरणमा रहेको बताए ।
परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ । उनी बुधबार बेलुका नै कतार फर्कने छन् । कतार न्यूज एजेन्सीले एसियाली मुलुकको भ्रमणमा निस्केका राजाले सम्बन्धित मुलुकका नेता तथा वरिष्ठ पदाधिकारीहरुसँग सहकार्य अभिवृद्धि गर्ने तथा विभिन्न क्षेत्रमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख गरेको छ ।
तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका राजा बंगलादेश हुँदे नेपाल आउन लाग्नुभएको हो । यो भ्रमणले नेपाल र कतारबीच रणनीतिक विकास साझेदारका रुपमा विकास गर्न सहयोग पुग्छ । नेपालको पर्यटन, जलविद्युत् स्वास्थ्य, शिक्षा, खेलकुद, श्रम, संस्कृतिलगायतका क्षेत्रमा दिपक्षीय समझदारी गर्ने गरी तयारी भइरहेको छ ।