Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यावसायी उत्साहित

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यावसायी उत्साहित

फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यावसायी उत्साहित भएका छन् ।

दोस्रो याममा दुई सय ७० बाह्य पर्यटक पुगेका छन् । फागुनदेखि जेठ १५ गतेसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गरेका हुन् । एक आर्थिक वर्षमा कञ्चनजङ्घा हिमाल क्षेत्रमा दुई याममा पर्यटक आउने गरेका छन् । असोज, कात्तिक र मङ्सिर गरी तीन महिनाको समय पहिलो याममा पर्दछ । त्यस्तै चैत, वैशाख र जेठको तेस्रो साताको समय दोस्रो यामभित्र पर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।

परिषद्को घुन्सा पर्यटन चेकपोष्ट कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार फ्रान्स, जर्मन, बेलायत, अष्टे«लियालगायतका राष्ट्रबाट कञ्चनजङ्घा क्षेत्रमा बढी पर्यटक आएका छन् । पर्यटक आगमनमा सुधार हुँदै गएसँगै कञ्चनजङ्घा जाने पदमार्गमा रहेका होटल व्यवसायी तथा पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका होटल सञ्चालक पेमा शेर्पाले बताए ।

घुन्सा पर्यटन चोकपोष्ट कार्यालयका अनुसार यस वर्षको पहिलो याममा कञ्चनजङ्घा क्षेत्रमा छ सय ५० बाह्य पर्यटकले भ्रमण गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको अन्तिम याम अर्थात् दोस्रो याममा दुई सय ७० बाह्य पर्यटकले कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गरेका छन् । आन्तरिक पर्यटकसमेत उत्तिकै सङ्ख्या बराबरले भ्रमण गरेता पनि आन्तरिक पर्यटकको भने अहिलेसम्म अभिलेख राख्ने गरिएको छैन । गत वर्ष दुई याममा गरी चार सय ३९ बाह्य पर्यटकले मात्र कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए ।

कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठूला ५२ होटल सञ्चालनमा छन् । फक्ताङलुङ–६ ग्याप्लामा सात करोड लगानीमा सिङ्गी नामजोग होटल पनि सञ्चलनमा आएको छ ।