Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

राखभित्रको सिंहदरबार

राखभित्रको सिंहदरबार

सन् १९०३ सालमा
चन्द्र शम्शेरको हातले ढुंगामा खडा गरिएको सपना—
युरोपेली कलामा झल्किएको,
३५७ कोठा बोकेको
दक्षिण एसियाकै विशाल दरबार,
नेपालको शक्ति र प्रशासनको मुटु—
त्यो सिंहदरबार,
१२४ वर्षदेखि इतिहासका आँधी बेहोर्दै,
आज धुवाँको भूतझैँ आकाशमा हरायो।

अग्नि लप्किँदा
पर्खाल र खम्बा मात्र पोलिएका थिएनन्,
पोलिन्थे तिनै सम्झनाहरू,
जहाँ राजा राणादेखि प्रजातन्त्रका घोषणाहरू गुन्जिएका थिए,
जहाँ नयाँ संविधानको हस्ताक्षर भयो,
जहाँ जनताको आशा भित्ताभित्तामा अडिएको थियो।

रक्षार्थ खटिएका सेनाहरू—
तोप नभए पनि भर्‍याङ लिएर दौडिएका,
ढाल नभए पनि आँखामा प्रतिबद्धता बोकेका,
तर अन्ततः नजिकै उभिएर
इतिहासको गर्वलाई
राखमा परिणत हुँदै गरेको दृश्य मात्र
हेरेर बस्नुपर्‍यो।
उनीहरूको आँखा भिजेको थियो,
तर हात खाली थियो।

व्यथा यस्तो थियो—
जसरी एक बुबाले आफ्नै घर जलिरहेको
र आफ्ना सन्तानको किताब, तस्बिर, सपना
सबै खरानी हुँदै गरेको
हेरेर केही गर्न नसक्ने पीडामा
ओठ टोक्छन्,
ठ्याक्कै त्यस्तै पीडा
सिंहदरबारसँगै जल्यो।

आज धुवाँको गन्ध
केवल कागज र काठको छैन—
त्यो युवाको भविष्यको हो,
जुन कागजका पानामा सीमित थियो,
त्यो किसानको गुनासो हो,
जो फाइलभित्र थुनिएको थियो,
त्यो श्रमिकको पसिनाको रेकर्ड हो,
जुन नीतिका ड्राफ्टसँगै खरानी भयो।

करुणा त यसमा छ—
इतिहासको रक्षक भनेर गर्व गर्ने हातहरूले
इतिहासलाई बचाउन सकेनन्।
जनताको विश्वास जोगाउन नसक्ने
सत्ताका शिरहरूले
राखमाथि फेरि फूल अर्पण गर्दै
आफ्नै अनुहार बचाउन खोजे।

तर, सिंहदरबार अझै उभिएको छ—
घामले छोपेको कालो पर्खाल,
धुवाँले दाग लागेको झ्याल,
र जनता अझै प्रश्न गर्दै—
“१२४ वर्षसम्म हामीलाई थामेको
यो दरबारलाई तिमीहरूले जोगाउन सकेनौ,
अब हाम्रो भविष्यलाई कसरी जोगाउनेरु”

सिंहदरबार जल्यो,
तर खरानीमाथि अझै आर्तनाद गुञ्जिन्छ—
राखको गन्धसँगै,
जनताको मौन आँसु टल्किन्छ ।

कविताका रचनाकार टोखा नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्र सिंह धामी (मौसम)हुन्।