Shares
Shares
म सधैं विश्वास गर्थेँ - असल मानिसले पिडा भोग्नु पर्दैन । विद्यालय जीवनदेखि नै म पढाइमा अब्बल थिएँ। कक्षामा सधैं प्रथम हुन्थेँ। तर, केवल आफ्नो भविष्यको लागि मात्र होइन, अरूको हक र हितका लागि पनि सधैं बोल्थेँ। साथीहरूको अधिकार, विद्यालयको सुधार, र सामाजिक न्यायका लागि आवाज उठाउँदा कहिल्यै डराइनँ।
कलेज पढ्न राजधानी काठमाडौँ आएँ। ठूला शहरमा आएको मान्छेहरू जस्तै मैले पनि धेरै कुरा सिकेँ। तर, मेरो चरित्र र स्वभाव उस्तै रह्यो—कसैलाई अन्याय गरिनँ, कसैसँग झगडा गरिनँ, कहिल्यै कुनै विवादमा परिन । म बुझ्ने समयदेखि नै मनमा एउटा कुरा बसिसकेको थियो—“जीवनको अर्थ अरूको लागि पनि बाँच्नुपर्छ।”
त्यसैले, म समाज र देशका लागि सक्दो योगदान दिँदै आए । संघ–संस्था हुँदै व्यक्तिगत रूपमा समेत मैले अनेकौं कार्यहरू गरें। रक्तदान कार्यक्रमहरू आयोजना गरें, वृक्षरोपण कार्यक्रमहरु गरें, गरिब विद्यार्थीहरूलाई स्टेशनरी वितरण गरें, बाल आश्रम र वृद्धाश्रममा सहयोग गरें। स्वास्थ्य शिविरहरू सञ्चालन गरें, खाद्यान्न वितरण गरें।
२०७२ सालमा आएको विनाशकारी भूकम्पमा त दिनरात थाक्तिनँ। आफ्नो गाउँ–ठाउँका पीडितहरूलाई खाद्यान्न, त्रिपाल र अन्य आवश्यक सामग्री पुर्याउँदै निरन्तर सहयोगमा लागिरहेँ। कोरोना महामारीका कठिन दिनहरूमा पनि म घरमै बस्न सकिनँ। काभ्रेका सबै गाउँपालिकाहरुमा मास्क, सेनिटाइजर, बाफ लिने मेसिन, अक्सिमिटर र भिटामिनहरु लगाएत सामाग्रीहरु करिब प्रति गाउँपालिका दुई लाख बराबरको वितरण गरें। भुम्लु गाउँपालिकामा २६ जना गंगालाल अस्पतालका दक्ष चिकित्सकहरू ल्याएर बृहत स्वास्थ्य शिविर गराएँ। सयौं युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न सहयोग र तालिमका कार्यक्रमहरू सञ्चालन गरें।
जीवनमा मेरो लक्ष्य स्पष्ट थियो—समाजलाई सकेसम्म योगदान दिने, देशलाई सकेसम्म सुधार्ने। राजनीतिमा पनि मैले कहिल्यै व्यक्तिगत स्वार्थका लागि होइन, सिद्धान्तका लागि बोलेँ। बेथिती, विसंगति र भ्रष्टाचारको सधैं विरोध गरें।
तर, २०८२ साल भदौ १८ गते, बेलुकी ८:४५ बजे, जब म आफ्नो कार्यालयबाट घर फर्कंदै थिएँ, जीवनले मलाई एक यस्तो पीडा दियो जसको कल्पना पनि गरेको थिइनँ। अज्ञात समूह, हतियारसहित, अँध्यारो बाटोमा मेरो प्रतीक्षा गरिरहेका रहेछन्। उनीहरूको उद्देश्य स्पष्ट थियो—मलाई मार्ने। म कपन फैका अफिस बाट बेलुका घर फर्कदै थिए प्रगति चोक बाट भित्र मेरो घर तिर मोडिए त्यतिबेला बाईकमा ३ जना आएर मेरो गाडी रोके मैले सोचे जाड खाएका हरु होलान भनेर गाडी साइट लगाए तर उनिहरुले मेरो गाडीमा ल्याएर बाइक ठोकाए अनि म गाडीबाट झर्ने बितिकै एक ब्यक्तिले रड र अर्कोले काठको पिकको बिड ले हाने मेरो टाउकोमा गहिरो चोट लाग्यो । तेस्रो ब्यक्तिले घरेलु हतियार निकाले पछि म रगत चुहाउदै घर तिर भागे तिनीहरुले केही पर सम्म लखेटे अनि रड र पिगको बिडले झट्टी हाने मलाई तर मलाई लागेन्। घरमा आयर हस्पिटल साथीले उहाँको गाडीमा लैजानु भयो । धन्न त्यो दिन मेरा सान साना छोरा छोरी सुतिसकेका थिए। उनिहरुले रक्तामै आफ्न बुबालाई देखेको भए बाल मनोविज्ञान कस्तो असर पर्थ्यो होला । केही दिनमा छोरा छोरीले मोबाइल हेर्दा सामाजिक संजाल हेरेर मेरो घटना थाहा पाएर बेस्सरी रोए त्येति बेला मेरो मन भक्कनिएर आयो । हस्पिटल जादा मेरो गाडी पूर्ण रुपमा तोडफोड गरी ती अपराधीहरु फरार भईसकेका थिए।
उनिहरुको हिंस्रक आक्रमण, आँखामा देखिएको रगतको रङ, र कानमा गुन्जिएको मृत्युको डर—त्यो क्षण मेरो जीवनको सबैभन्दा भयानक थियो। म कसरी होस्, दौडेर, प्राण जोगाउन सफल भएँ। तर, त्यहाँबाट घर फर्कँदासम्म मेरो शरीर भन्दा ठूलो घाउ मेरो मनमा परिसकेको थियो। चाबहिल चुच्चेपाटीको स्तुपा हस्पिटलमा पार्टीका नेताहरु , आफन्त र सुभचिन्तकहरुको ठूलो भिड लागेको थियोे । मेरो टाउकोमा १० वटा टाका लगायो अनि थप उपचार गरियो । घटना योजनाबद्ध थियो । मलाई राजनीति अभिब्यक्ति दिएको आधारमा केही मानिसले फोन गरेर धम्की दिएका थिए। मेरो अफिस आएर मेरो बारे सोधखोज गरेका थिए।
जसले कहिल्यै कसैलाई चोट दिएन, सबैलाई साथ दियो, सहयोग गर्यो—त्यो व्यक्तिलाई ज्यानै लिने गरी आक्रमण गर्ने? किन? आज म यो लेख्दैछु, पीडाको भारी बोकेर। म बाँचिरहेको छु, तर मनमा हजार प्रश्नहरू घुमिरहेका छन्—
कसले यस्तो अमानवीय योजना बनायो? किन बनायो? मेरो गल्ती के थियो? म कानुन, सरकार र समाजसँग प्रश्न गर्न चाहन्छु—यो घटना केवल मेरो जीवनमाथिको आक्रमण होइन, सत्य बोल्ने र युवाहरुको आवाजमाथिको प्रहार हो। मेरो माग सामान्य छ: यस घटनामा संलग्नलाई कानुनको कठघरामा उभ्याइ कार्वाही होस्। सत्य बाहिर आओस् । यस्ता अपराधीलाई ढाकछोप गर्ने प्रबृत्तिको अन्त्य होस । हो, यो घटना मेरो जीवनको सबैभन्दा दुखद अध्याय हो। तर, यसले मलाई अल्झाउने छैन। बरु, यसले मलाई अझ बलियो बनाएको छ। म अझै यो पीडालाई शक्ति बनाएर अझ दृढताका साथ समाज र देशको हितमा उभिरहनेछु।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209