हामी सबैलाइ थाहा छ कि देशलाइ भ्रष्टचार मुक्त गर्ने पवित्र चाहना र सोहि अनुसारको माग लिएर आन्दोलित कलिला युवाहरुको आन्दोलनमा दमन भए पछि त्यसैलाइ आधार बनाउँदै घुसपैठियाहरुले देशभर आतंककारी हमला गरे ।
त्यसो हुँदै गर्दा हाम्रो मातृभुमी नेपालको थुप्रै राष्ट्रिय धरोहरहरु जलाइए, प्रहरी कार्यालय र चौकीहरु जलाइए मात्रै हैन प्रहरीहरुको निर्मम हत्या समेत गरियो । अरु त अरु सिंह दरवार देखि राष्ट्रपती कार्यालय समेत जलाइयो ।
आफ्नै पल्टन त्यहीं सिंहदरवारमा हुँदा हुँदै पनि सेनाले त्यसलाइ किन जोगाएन भन्ने सवाल जवर्जस्त उठ्यो, उठिरहेकै छ तर सेनाले बिधि मिच्दैन भन्ने मान्ने ठान्ने हामीले ठान्यौं र मान्यौं कि तत्कालिन सरकारले राष्ट्रिय सुरक्षा परिषदको वैठक राखेर सेना परिचालनको वैधानिक निर्णय नगरेकोले सेना पूर्ण रुपमा परिचालन हुन पाएन ।
त्यसो हुँदा देशका संरचनाहरु त जले अनि ढले तर नागरिक शासन र लोकतन्त्र प्रति प्रतिवद्ध भनेर विश्वमा रहेको नेपाली सेनाको गर्विलो पहिचान जोगियो । त्यति मात्रै हैन कतिपयले सम्पूर्ण सत्ता आफैंले लिएर शासन गर्न सेनालाइ उचाल्दा पनि सेनाले आफ्नो धर्म भुलेन, सेनापती शासक बन्न तयार भएनन । त्यो अर्को सम्मान योग्य र गर्व गर्न लायक काम थियो ।
त्यो गर्विलो विरासत र पहिचान कायम भैराख्दा नै नेपाल, नेपाली र सेनाको निम्ति राम्रो हुनेछ । त्यसैले हिजो राष्ट्रिय धरोहरहरु जल्दा विधि सम्मत परिचालनको अडान राखेको सेनाले अहिले आएर शान्ती सुरक्षा कायम राख्न प्रयत्नसिल रहेको भनेर वक्तव्य निकाल्नु भन्दा विगतमा झैं “ राष्ट्रको आवश्यकताका आधारमा सरकारले दिने देशको शान्ती सुरक्षाको जिम्मेवारी पुरा गर्न नेपाली सेना सदैव तयार र दत्तचित्त छ १” भन्नु उचित र समय सापेक्ष हुनेछ ।