काठमाडाैं । जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको कारण देखाउँदै हयात रिजेन्सी होटल अनिश्चितकालका लागि बन्द गरिएको छ । होटलमा कार्यरत सबै मजदुर तथा कामदारलाई एक पटक कामबाट निकालेको छ। होटलमा कार्यरत १ सय ३३ मजदुर काम बिशिन बनेका छन् । जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई निकालिएको हो ।
होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यवस्थापन गर्नु पर्ने एवं यस अवधिमा सञ्चालनमा नरहेको होटलमा श्रमिकहरूलाई काममा लगाउन समेत होटल असमर्थ रहेको भन्दै सम्पूर्ण कर्मचारीहरूलाई कामबाट निकालिएको हो । मंसिर २२ गते देखि लागु हुने गरी श्रम ऐन २०७४ बमोजिम सम्पूर्ण श्रमिक कटौती गरेको हो । मंगलबार राती सूचना जारी गर्दै हायात रिजेन्सीका महाप्रबन्धक आशिष कुमारले होटलमा कार्यरत १३३ जनालाई कटौती गर्ने निर्णय गरेको बताए ।
उनले भनेका छन्, ‘भदौ २३ र २४ गतेको आन्दोलनक्रममा होटलमा आपराधिक समूह प्रवेश गरी तोडफोड, लुटपाट र आगलागीजन्य क्रियाकलाप गरेका कारण होटल पूर्णरुपमा बन्द छ, आगलागी र तोडफोडका कारण होटल क्षतिग्रस्त भई पूर्णरूपले मर्मत सम्भार नगरी सञ्चालनमा ल्याउन सक्ने अवस्था समेत छैन, होटलमा भएका एकजना विदेशी पाहुनाले आगलागीको कारण बाहिर आउन नसकी ज्यान बचाउन होटलको ४ तलाबाट हामफाल्दा घाइते भई उपचारको क्रममा ज्यान गएको तथा होटलमा आवास सुविधा लिएका अन्य विदेशी अतिथिको लगेज तथा सरसामान समेत आपराधिक समूहले लुटपाट तथा आगो लगाएको घटनाले अन्तरराष्ट्रिय जगतमै होटलको ख्यातिमा नकारात्मक प्रभाव परेको छ ।’ श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पहरूको सम्बन्धमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनहरूसँग छलफल समेत गर्दा कुनै निष्कर्षमा पुग्न नसकिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशासधन विभागलाई पत्र लेखेर अहिले होटल बन्द भएको, मर्मतसम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै सबै कर्मचारी र मजदुर मंसिर २२ गतेभित्र बिदा दिन निर्देशन दिएका छन् ।
यस अगाडी होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएकोबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी थिईन । प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले हायात रिजेन्सी व्यवस्थापनसँग कुराकानी गरेका थिए । ‘त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सञ्चालन गर्न आग्रह गरेका थिए । तर, पनि अहिले होटल पुर्ण रुपमा बन्द गरिएको छ ।