काठमाडौं ।लोक दोहोरी क्षेत्र पछिल्लो समय निकै अश्लिल बन्दै गएको छ। यसलाई रोक्न राष्ट्रिय लोक संचारकर्मी नेपालको सिंगो टिम अगाडी बढेको छ।दोहारी लाइभमा छाडा हर्कत गरेका गायक–गायिकाविरुद्ध प्रहरीमा उजुरी परेको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको तर्फबाट प्रहरीको साइबर ब्यूरोमा उजुरी दिइएको हो । उक्त संस्थाका तर्फबाट अध्यक्ष चन्द्रमणी गौतम र सचिव कमल सरगमले हस्ताक्षर गरेको उजुरीमा गायक प्रकाश अधिकारी र गायिका कोपिला छिनाललाई पक्राउ गरी कारवाही गर्न माग गरिएको छ । ब्यूरोले उजुरी दर्ता भने गरिसकेको छैन । युट्यूवबाट गीत हटाइसकिएकोले अनुसन्धान गरेर आवश्यक कदम चाल्ने प्रहरीले जवाफ दिएको छ ।
अधिकारी र छिनालले गाएको दोहोरीमा छाडापनको पराकाष्टा थियो । पुरुषले मात्र नभएर महिला कलाकारले पनि सुन्नै नसकिने अश्लिल शब्दहरु प्रयोग गरेकी थिइन् । यतिमात्र नभएर गायक अधिकारीले गीत गाउने क्रममा नै महिलाको अन्डरवेयर समेत प्रदर्शन गरे । साथै, उनले घाँटीमा स्याउ र केरा झुण्ड्याएर थप विभत्स हर्कत गर्न पुगेका छन् । उक्त भिडिओ सार्वजनिक भएलगत्तै चौतर्फी आलोचना भएको थियो । फलस्वरुप केही घन्टामै गायकले आफ्नो च्यानलबाट भिडिओ हटाउन बाध्य भए ।
तर, त्यसअघि नै यसका क्लीपहरु भाइरल भइसकेका थिए । प्रहरीमा दिइएको उजुरीमा भनिएको छ, ‘गीतभित्र प्रयोग गरिएका अधिकांश शब्दहरु दोहोरो अर्थ लाग्ने, अश्लिलता झल्किने तथा सामाजिक मर्यादा विपरितका रहेका छन् । साथै, दोहोरी प्रस्तुतिका क्रममा महिलाको भित्री वस्त्र देखाउँदै गरिएका हाउभाउ, संवाद र दृष्यहरुले नेपाली समाज, पारिवारिक वातावरण तथा युवा पुस्तामाथि प्रत्यक्ष नकारात्मक असर पर्ने देखिएको छ । कतिपय शब्द र दृष्यहरु परिवारका अगाडि सुन्न र हेर्न समेत नसकिने प्रकृतिका रहेका छन् ।’ सचिव सरगमले लोकसंगीत नेपालको संस्कृति र पहिचान भएकोले यो विधामा कसैले पनि अश्लिलता फैलाउन नपाउने बताए । उनले भने, ‘भाइरल हुने लोभमा यस्तो छाडा हर्कत गर्न कसैलाई पनि छुट छैन, यसमा प्रहरीले आवश्यक कारवाही गर्छ भन्ने विश्वास लिएका छौं ।’ यिनै गायक–गायिकाले यसअघि पनि छाडा दोहोरीहरु गाउने गरेको भेटिएको छ ।
तर, अहिले उनीहरुले पुराना भिडिओहरु पनि हटाएका छन् । प्रहरीले भिडिओ फेला पार्न नसकेपछि गायक–गायिकालाई बोलाएर सोधपुछ गर्ने तयारी गरेको छ । अधिकारी पुराना लोकगायक हुन् । पहिलो–पहिले उनी शभ्य गीतहरु नै गाउँथे । तर, हिट हुन नसकेपछि उनले अश्लिलताको सहारा लिन पुगेको जानकारहरु बताउँछन् । स्याङ्जाका यी कलाकारलाई यो काण्डले अप्ठेरोमा पार्न सक्ने देखिएको छ । उनको गृहजिल्ला स्याङजामै युवाहरुले बहिष्कार अभियान सुरु गरेका छन् । गायकले स्याङ्जा जिल्लाकै बदनाम गरेको आरोप उनीहरुको छ ।