काठमाडौँ । गायिका उषा गजुरेलले नयाँ तीज गीत ‘रातो चुरा रातै सारी’ सार्वजनिक गरेकी छन्। पारिवारिक जिम्मेवारी, गर्भावस्था र अटिजम भएका सन्तानको हेरचाहबीच तयार पारिएको यो गीतले नेपाली नारीको प्रेम, मातृत्व, संस्कार र संघर्षलाई समेटेको छ।
गीतमा पद्मा प्रधानको शब्द रहेको छ भने संगीत, स्वर र प्रस्तुति उषा गजुरेलकै रहेको छ। म्युजिक भिडियोमा उनले आफ्नै जीवनका अनुभूतिलाई झल्काउने भावपूर्ण अभिनय गरेकी छन्। यस गीतमा उनका अटिजम भएका छोराको पनि अभिनय रहेको छ।
गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। विन्धवासिनी म्युजिक अवार्ड २०८१ मा सर्वोत्कृष्ट सुगम गायिकाको अवार्ड जितेकी तथा द भ्वाइस अफ नेपाल सिजन ४ की प्रतियोगी समेत रहेकी उषा गजुरेलले नेपाली मौलिक संगीतलाई साथ दिन सबैमा आग्रह गरेकी छन्।