कपिलवस्तु,कपिलवस्तुका लाइभ दोहोरी गायक, सञ्चारकर्मी तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कपिलवस्तुका सचिव भक्तिराम घिमिरेको पहिलो लोकदोहोरी गीत ‘मोयै लाग्दैन र’ सार्वजनिक भएको छ।
लामो समयदेखि विभिन्न मेला–महोत्सव, सांस्कृतिक कार्यक्रम तथा विशेष समारोहहरूमा लाइभ दोहोरी गायन गर्दै आएका घिमिरे आफ्नो सशक्त प्रस्तुति र मिठासपूर्ण गायनका कारण दर्शक–श्रोतामाझ परिचित नाम बनिसक्नुभएको छ। उहाँ उद्घोषकका रूपमा पनि उत्तिकै सक्रिय रहँदै आउनुभएको छ भने सञ्चारकर्मीका रूपमा समेत सामाजिक, सांस्कृतिक र समसामयिक गतिविधिलाई निरन्तर उजागर गर्दै आउनुभएको छ। लोककला र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उहाँको सक्रिय भूमिका रहँदै आएको छ।
सार्वजनिक भएको गीत ‘मोयै लाग्दैन र’ मा भक्तिराम घिमिरे र चर्चित गायिका शान्ता रानी परियारको स्वर रहेको छ। गीतको शब्द तथा लय श्रीधर अधिकारीले सिर्जना गर्नुभएको हो। म्युजिक भिडियोमा असिम क्षेत्री र गीता ढुङ्गानाको अभिनय रहेको छ भने निर्देशन जेरी भण्डारीले गर्नुभएको छ। लाइभ दोहोरी गायनबाट दर्शक–श्रोताको मन जित्दै आएका घिमिरेको यो पहिलो औपचारिक लोकदोहोरी गीत हो।
सांगीतिक यात्राको नयाँ अध्यायका रूपमा सार्वजनिक गरिएको यस गीतले लोकदोहोरी संगीतप्रेमीमाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा गरिएको छ। गीत सार्वजनिक भएसँगै घिमिरेले गीत निर्माणमा सहयोग पुर्याउने सम्पूर्ण कलाकार, सर्जक, प्राविधिक टोली तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। साथै उहाँले गीत सुनेर, हेरेर, शेयर गरी रचनात्मक सुझाव तथा प्रतिक्रिया प्रदान गर्न सम्पूर्ण दर्शक–श्रोतामा अनुरोध गर्नुभएको छ।