Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गृहमन्त्री सुधन गुरुङको कडा कदम, सुनसरी घटनापछि सीडीओदेखि सुरक्षा प्रमुखसम्म फिर्ता बोलाइए

गृहमन्त्री सुधन गुरुङको कडा कदम, सुनसरी घटनापछि सीडीओदेखि सुरक्षा प्रमुखसम्म फिर्ता बोलाइए

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा निकायका प्रमुखहरूको सरुवा गरेको छ।

गृह मन्त्रालयले सुनसरीका सीडीओ बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाउँदै उहाँको स्थानमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाएको छ।

यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने उहाँको स्थानमा डीआईजी शेखर खनाललाई पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवेलाई भैरहवा सरुवा गरिएको छ भने उहाँको ठाउँमा एसपी पुष्पराज मल्ललाई जिम्मेवारी दिइएको छ।

सशस्त्र प्रहरी बलका कप्तानगञ्जस्थित डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाएर उहाँको स्थानमा डीएसपी मदन नाथलाई खटाइएको छ।

देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २४ जना घाइते भएका थिए।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिसकेको छ। साथै, थप अप्रिय घटना हुन नदिन देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।