काठमाडौँ । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर डा. रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ। मन्त्रालयका अनुसार उहाँको विशेषज्ञ उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाइएको छ।
मन्त्री मेहताले उपचारमा संलग्न चिकित्सकसँग छलफल गर्दै सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यसैबीच, मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपचारसँग सम्बन्धित कुनै पनि विवाद कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्ने उल्लेख गर्दै कानून हातमा लिएर हिंसात्मक गतिविधि गर्नु अस्वीकार्य रहेको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ। साथै स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित र निर्भय वातावरणमा सेवा दिन पाउने व्यवस्था सुनिश्चित गर्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ।