Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रौतहट बजारमा कार्बाइड प्रयोग गरेर पकाइएका आँपको खुलेआम बिक्री, अनुगमनमा उदासीनता

रौतहट बजारमा कार्बाइड प्रयोग गरेर पकाइएका आँपको खुलेआम बिक्री, अनुगमनमा उदासीनता

काठमाडौँ । रौतहटका प्रमुख व्यापारिक केन्द्रहरूमा मौसम नपुग्दै रसायन प्रयोग गरेर पकाइएका आँप खुलेआम बिक्री भइरहेको पाइएको छ। गौर, गरुडा, कटहरिया र चन्द्रपुर बजारमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने कार्बाइड (क्याल्सियम कार्बाइड) प्रयोग गरिएका आँप व्यापक रूपमा भेटिएका छन्।

प्राकृतिक रूपमा असारतिर पाक्ने आँप जेठमै बजारमा ल्याएर कृत्रिम रूपमा पकाइने गरिएको उपभोक्ताहरूको गुनासो छ। यस्ता आँप प्रतिकिलो २०० देखि २४० रुपैयाँसम्ममा बिक्री भइरहेको बताइएको छ।

स्थानीयवासीका अनुसार सीमावर्ती भारतीय बजारबाट कच्चा आँप आयात गरी गोदाम तथा घुम्ती पसलमा कार्बाइड प्रयोग गरेर एकै रातमा पहेँलो बनाइने गरिएको छ।

स्वास्थ्यकर्मीहरूले यसरी कृत्रिम रूपमा पकाइएका आँप सेवन गर्नु स्वास्थ्यका लागि जोखिमपूर्ण हुने चेतावनी दिएका छन्। तर, बजार अनुगमन गर्ने निकाय र स्थानीय तह भने प्रभावकारी रूपमा सक्रिय नभएको आरोप स्थानीयले लगाएका छन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित नगरपालिकाहरूले संयुक्त रूपमा आकस्मिक बजार अनुगमन गर्नुपर्ने माग पनि बढेको छ।